|

काठमाडौं  : शनिबारदेखि शुरु भएको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा काठमाडौं किंग्स–११ ले विजयी सुरुवात गरेको छ। ललितपुर प्याट्रियटर्सलाई ७ विकेटले हराउँदै काठमाडौंले विजयी सुरुवात गरेको हो।

ललितपुरले दिएको १ सय ५८ रनको लक्ष्य काठमाडौंले १४.२ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो। उसका लागि रयान बर्ल र रहमानउल्लाह गुर्बाजले उत्कृष्ट ब्याटिङ अर्धशतकी पारी खेले। बर्लले ३४ बलमा ७ छक्का र ३ चौकासहित नटआउट ७३ रन जाड्दा गुर्बाजले ३६ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ५९ रनको योगदान दिए।

यस्तै, राजु रिजालले अविजित १९, अमित श्रेष्ठले ४ रन बनाउँदा सुवाश खकुरेल शून्य रनमा रनआउट भए। ललितपुरका पवन सर्राफले १ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुर निर्धारित २० ओभर ८ विकेट गुमाएर एक सय ५७ रन बनाएको थियो। उसका लागि पवन सराफले उत्कृष्ट अर्धशतकीय पारी खेले। उनले ४४ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ६१ रन बनाए।

यस्तै, योगेन्द्रसिंह कार्कीले ३३, मिक्यो दोर्जीले अविजित १७, शंकर रानाले १४ र नारायण जोशीले १२ रनको योगदान दिए। बलिङमा जितेन्द्र मुखियाले शानदार बलिङ गरे। उनले ४ ओभरमा मात्र १४ रन खर्चिएर ४ विकेट लिए। यस्तै, रयान बर्ल र गुलशन झाले २–२ विकेट लिए।

यसैगरी शाहिद अफ्रिदी र कप्तान सन्दीप लामिछाने बलिङमा महँगा साबित भए। अफ्रिदीले ४ ओभरमा बिनाविकेट ३२ रन खर्चिए भने सन्दीपले पनि ४ ओभरमा विकेट नलिई ४४ रन दिए।

यस जितसँगै काठमाडौंले पहिलो खेलमा २ अंक जोडेको छ। ललितपुरले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ। ललितपुर कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रिएको थियो। ज्ञानेन्द्र मल्लले नखेल्ने भएपछि ललितपुरको कप्तानी कुशल पाएका हुन्। चौथो संस्करणको प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन्।

जसमा ललितपुर प्याट्रीयट्स, भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किंग्स–११, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्स रहेका छन्। ईपीएलको विजेताले ५० लाख र उप विजेताले १५ लाख पाउने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.