|

काठमाडौं : पछिल्ला केही दिनयता पोखरा आसपास क्षेत्रमा ‘सिजनल हाइपर एक्युट पानुभिआईटिस’ अर्थात् सापु रोगका कारण धेरै जना प्रभावित भएको बताइएको छ। नेपालको मध्य पहाडी क्षेत्रमा हुने यो रोग सेतो पुतलीबाट सर्ने गरेको अनुसन्धानबाट पत्ता लागेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो वर्ष कति जना यो रोगबाट प्रभावित भएका छन् भन्ने यकिन तथ्याङ्क नभए पनि पछिल्ला केही दिनयता यस संक्रमणबाट प्रभावित भएको बताइएको छ। मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा‍. कृष्ण पौडेलका अनुसार हाल कति जना संक्रमित छन् भन्ने विवरण संकलन नभए पनि केही दिनदेखि पोखरा आसपास क्षेत्रमा यो संक्रमण बढ्दै गएको छ। ‘अहिले कति जनामा यो संक्रमण भयो भन्ने संख्या यकिन छैन, हामीले तथ्याङ्क संकलन गर्दै छौँ तर पोखरा आसपासमा यो संक्रमण तीव्र फैलिएको सूचना आइरहेको छ’‚  उनले भने। बच्चाहरूमा बढी लाग्ने यो रोग युवादेखि वृद्धासम्ममा समेत लाग्ने डा. पौडेलले बताए।   

के हो सापु रोग?

सापु दृष्टिनाशक रोग हो। प्रायः वर्षा यामपछि भदौदेखि मंसिर महिनासम्म विशेष गरी नेपालको मध्य पहाडी भेगमा सापु महामारीका रूपमा देखिने गरेको छ। यो रोगका लक्षण देखा परेको २४ देखि ४८ घन्टासम्म उपचार हुन नसके आँखाको दृष्टि नै गुम्ने गर्छ।

‘सिजनल हाइपर एक्युट पानुभिआईटिस’ अर्थात् सापु रोग नेपालमा पहिलोपटक २०३२ सालमा पोखराका बालबालिकामा देखिएको थियो ।

परीक्षण गर्दा कुनै पनि जीवाणु, किटाणु नरहेको देखिए त्यो सापु भएको बुझ्नुपर्ने डा. पौडेलले बताए । यो रोगको निदान तथा उपचार आँखा विभागअन्तर्गतका अस्पतालमा मात्र गरिन्छ। सापुको आकस्मिक उपचार सेवा, आँखाभित्र औषधिको सुई लगाएर तथा जटिल अवस्थामा आँखाको शल्यक्रिया गरेर समेत गर्न सकिन्छ।

यस्तो लक्षण देखिए सजग बनौँ

एक्कासी एउटा आँखा रातो हुने, चिप्रा नलाग्नु, उज्यालोमा हेर्न नसक्नु, आँखाको दृष्टिमा तत्कालै कमी हुनु, आँखा दुख्नु, उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु।

यसरी बच्न सकिन्छ

सेतो पुतलीबाट टाढै रहने, धेरै उज्यालो चहकिलो बत्ती नबाल्ने, साँझ र राति झ्यालढोकामा जाली हाल्ने, सुत्ने कोठामा बत्ती निभाएर वा झुल लगाएर मात्रै सुत्ने।

यसरी हुन्छ उपचार

आँखाका लागि निकै घातक मानिने यो रोग अस्पतालमा मात्र सम्भव भएकाले यसका लक्षण देखिनासाथ बिरामीलाई जतिसक्दो छिटो आँखा अस्पताल लैजानुपर्ने र मानिसमा अन्य कुनै भाइरसका कारणले आँखामा सापु रोगको जस्ता लक्षण देखिए पनि छिटो अस्पताल पुग्दा दृष्टि गुम्नबाट बचाउन सकिन्छ।

यो रोग लागेको पत्ता लागेमा सबैभन्दा पहिला आँखा उपचार केन्द्र वा अस्पतालमा पुगे सामान्यरूपमा आइड्रपले नै निको हुने गर्दछ। 

सुरुमा इन्जेक्सन लगाएर उपचार गरिन्छ र इन्जेक्सन लगाएर पनि नभए शल्यक्रिया गरी सापुको उपचार गरिने र यसरी उपचार गर्दा पनि यो रोग लागेमा उपचारपछि मानिसमा आँखाको ज्योति पुरानै अवस्थामा फर्काउन पनि कठिन हुने बताइन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.