कैलालीमा रोकियो, डडेल्धुरामा विवादबीच सकियो

|
फाइल फोटो

धनगढी : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशमा गाउँ तथा नगर अधिवेशन भएको छ। प्रदेशभर अधिकांश जिल्लाका गाउँपालिका तथा नगरपालिकामा सर्वसम्मत रूपमा कार्य समिति चयन भएको छ भने कतै निर्वाचन प्रणालीबाट कार्यसमिति चयन गरिएको छ।

प्रदेशमा कैलाली र डडेल्धुरा विवादित जिल्ला भए पनि डडेल्धुरामा भने विवादकैबीच गाउँ तथा नगर र वडा अधिवेशन सम्पन्न भएको छ। अर्को विवादित जिल्ला कैलालीमा भने अझै पनि वडा अधिवेशनसमेत हुन सकेको छैन। क्रियाशील सदस्यता विवादले गर्दा जिल्लाको सदस्यको नामावली पनि सार्वजनिक गरिएको छैन।

तर, स्थानीय नेताहरूले भने क्रियाशील सदस्यतामा विवाद टुङ्गिएको दाबी गरिरहेका छन्। ‘विवाद समाधान भयो, भोलिसम्म यहाँका निर्वाचन अधिकृतलाई सदस्यता नामावली प्राप्त हुन्छ’, कांग्रेस कैलालीका एक नेताले भने, ‘सोमबार हामीले छलफल गरेर निर्वाचनको मिति तोक्छौं।’

कैलालीबाहेकका जिल्लामा भएको अधिवेशनमा यस्ता कार्यसमिति चयन भएका छन्।

कञ्चनपुर

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत कञ्चनपुरका ९ वटै स्थानीय तहमा शनिबार गाउँ-नगर अधिवेशन सम्पन्न भएको छ।

अधिवेशनबाट पुनर्वास नगर समितिमा शुकबहादुर तामाङ, बेलौरी नगर समितिमा पेपुराम चौधरी, लालझाडी गाउँ समितिमा श्रीकृष्ण राना, बेलडाँडी गाउँ समितिमा गजबहादुर विष्ट, वेदकोट नगर समितिमा तुलाराम साहु र भीमदत्त नगर समितिमा अच्युतराज कलौनी सभापतिमा निर्वाचित भएका छन्।

त्यस्तै, कृष्णपुर नगर समितिमा विष्णु खड्का, शुक्लाफाँट नगर समितिमा दानबहादुर ऐर र दोधारा चाँदनी नगर समितिमा राजेन्द्र मल्ल सर्वसम्मत रूपमा निर्विरोध नगर सभापतिमा चयन भएका छन्। 

डडेल्धुरा

डडेल्धुरामा गाउँपालिका र नगरपालिकास्तरीय अधिवेशन एक पक्षीय विरोधका बावजुद पनि सम्पन्न भएको छ। जिल्लाको अमरगढी नगरपालिका र नवदुर्गा गाउपालिकामा सर्वसम्मत रूपमा कार्यसमिति चयन भएको छ। बाँकी पाँचवटा तहमा निर्वाचन प्रणालीबाट अधिवेशन भएको छ।

अमरगढी नगरपालिकाको नगर सभापतिमा खेमराज भट्ट निर्वाचित भएका छन्। त्यस्तै, जिल्लाको नवदुर्गा गाउँपालिकामा भोजराज भट्ट गाउँपालिका सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन् भने उनीसँगै पूरै कार्यसमिति सर्वसम्मत चयन भएको हो।

अजयमेरु गाउँपालिकामा टेकराज पाण्डेय  सभापतिमा निर्वाचित भएका छन्। परशुराम नगरपालिकाको सभापतिमा भरत बडायर जोशी निर्वाचित भएका छन्। गन्यापधुरा गाउँपालिका सभापतिमा इन्द्र कार्की निर्वाचित भएका छन्।

आलितालमा चन्द्रदेव बोहरा गाउँपालिका सभापतिमा विजय भएका छन्। भागेश्वर गाउँपालिका सभापतिमा डम्बरराज जोशी गाउपालिका सभापति निर्वाचित भएका हुन्।

डोटी

कांग्रेस डोटीका नौ स्थानीय तहमध्ये आठ स्थानीय तहमा पालिकास्तरीय समितिको नेतृत्व चयन गरेको छ। नेतृत्व चयनका क्रममा चार पालिकामा सहमतिमा चयन भएको छ भने चार पालिकामा आन्तरिक प्रतिस्पर्धाबाट नेतृत्व चयन भएको हो। बोगटान फुडसिल गाउँपालिकामा भने सहमति जुट्न सकेको छैन।

दिपायल सिलगढी नगरपालिकाको सभापतिमा गणेश मलासी चयन भएका छन्। सभापतिका आकांक्षीहरूबीच सहमति जुटेपछि मलासी निर्विरोध चयन भएका हुन्। उनी यसअघि पनि सोही पदमा थिए। आदर्श गाउँपालिकाको सभापतिमा चन्द्रनाथ ओझा छानिएका छन्।

पूर्वीचौकी गाउँपालिकामा पनि सहमतिमा नेतृत्व चयन भएको छ। सभापतिमा बलबहादुर खड्का चयन भएका छन्। केआईसिंह गाउँपालिका सभापतिमा अर्जुन बलाएर निर्विरोध चयन भएका छन्।

शिखर नगरपालिकाको इकाइ समिति सभापतिमा हर्क बोगटी विजयी भएका छन्। अन्य पदहरूमा सहमति भए पनि सभापतिमा कुरो नमिलेपछि निर्वाचन गरिएको थियो। बोगटी प्रतिस्पर्धी दीर्घबहादुर बलायरलाई २५ मतले पछाडि पार्दै सभापति भएका हुन्। बोगटीले ९० मत प्राप्त गरे भने बलायरले ७५ मत प्राप्त गरेका छन्।

सायल गाउँपालिका इकाइ समिति सभापतिका लागि भएको निर्वाचनमा तेजराज ओझाले ६१ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी रामबहादुर बोगटीले २५ मत प्राप्त गरे।

जोरायल गाउँपालिकाको सभापतिमा मोहन मल्ल चयन भएका छन्। यसअघि पनि सोही जिम्मेवारीमा रहेका मल्लले निर्वाचनमा ५४ मत पाई विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नरबहादुर बोहराले ३६ मत प्राप्त गरेका छन्।

बडीकेदार गाउँपालिकाको नेतृत्व चयनका लागि पनि निर्वाचन भएको छ। गाउँ इकाइ समिति सभापतिमा करुणाकर जोशीले ४१ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिस्पर्धी वीरेन्द्र कोटकेनीले ३५ मत प्राप्त गरेका छन्।

दार्चुला

हिमाली जिल्ला दार्चुलाका ४ स्थानीय तहमा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ। जिल्लाको मार्मा, मालिकार्जुन, अपिहिमाल र नौगाड गाउँपालिकामा सबै पदहरूमा सर्वसम्मत रूपमा नेतृत्व चयन भए पनि बाँकी ५ स्थानीय तहमा नेतृत्व चयनका लागि छलफल जारी छ।

मार्मा गाउँपालिकामा धनञ्जय जोशी, मालिकार्जुन गाउँपालिकामा किसनसिंह सामन्त, अपिहिमाल गाउँपालिकामा शोभन सिंह लोथ्याल र नौगाड गाउँपालिकामा प्रेम सिंह धामी गाउँपालिका सभापतिमा सर्वसम्मत चयन भएका छन्।

अन्य स्थानीय तहहरूमा सभापतिका आकांक्षी बढी भएपछि सर्वसम्मत नेतृत्व चयनमा ढिलाइ भइरहेको छ।

बैतडी

बैतडीमा पनि कांग्रेसको अधिवेशन सम्पन्न भएको छ। शनिबार भएको पालिका अधिवेशनबाट सुर्नया गाउँपालिकामा प्रतापसिंह महराको नेतृत्वमा सर्वसम्मत समिति चयन भएको छ।

यसैगरी, शिवनाथ गाउँपालिकाको सभापतिमा हिरा चन्द चयन भएकी छन्। पञ्चेश्वर गाउँपालिकाको कार्यसमिति पनि सर्वसम्मतिमै चयन भएको छ। गाउँपालिकाको सभापतिमा रामबहादुर चन्द चयन भएका छन्।

दशरथचन्द नगरपालिकाको कांग्रेस सभापतिमा भुवनराज भट्ट प्यानलसहित विजयी भएका छन्।

त्यस्तै, पुर्चौडी नगरपालिकाको कांग्रेस सभापतिमा गणेश सिंह गडाल निर्वाचित भएका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिकाको सभापतिमा नन्दराज भट्ट प्यानलसहित विजयी भएका छन् भने मेलौली नगरपालिकाको सभापतिमा प्रमानन्द भट्ट निर्वाचित भएका छन्।

जिल्लाको सिगास गाउँपालिकाको सभापतिमा कर्णबहादुर ऐर निर्वाचित भएका छन्। यस्तै, जिल्लाको डिलाशैनी गाउँपालिकाको सभापतिमा जयराज जोशी निर्वाचित भएका छन्।

अछाम

अछामका १० वटा स्थानीय तहमध्ये ६ वटा स्थानीय तहमा सहमतिकै आधारमा नयाँ नेतृत्व चयन गरिएको छ भने बाँकी रहेका ४ पालिकामा सहमतिको प्रयास भइरहेको छ।

जिल्लाको मंगलसेन नगरपालिकामा झपटबहादुर रावल, कमलबजार नगरपालिकामा पदमबहादुर भण्डारी, चौरपाटी गाउँपालिकामा धर्मबहादुर साउद, रामारोशन गाउँपालिकामा मानबहादुर साउद र ढकारी गाउँपालिकामा गाउँपालिका अध्यक्षसमेत रहेका धनबहादुर बुढाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ।

यस्तै, तुर्माखाँद गाउँपालिकामा पनि सर्वसम्मत नै नयाँ कार्यसमिति चयन गरिएको छ। ६ पालिकामा सहमति भए पनि ४ वटामा अझै सहमति जुट्न सकेको छैन। जिल्लाको साँफेबगर नगरपालिका, बान्नीगढी जयगढ गाउँपालिका, मेल्लेख गाउँपालिका र पञ्चदेवल विनायक नगरपालिकामा सहमतिकै आधारमा नेतृत्व चयन गर्न छलफल जारी छ।

बझाङ

१० स्थानीय तह रहेको बझाङ जिल्लामा दुई स्थानीय तहमा मात्रै कांग्रेसको गाउँ-नगर अधिवेशन सम्पन्न भएको छ। बाँकीमा निर्वाचनको तयारी भइरहेको छ। बझाङको बित्थडचिर गाउँपालिकामा चक्र अधिकारी नेपाली कांग्रेसको सभापति बनेका छन् भने सुर्मा गाउँपालिकामा अतीत बोहराले सभापतिको जिम्मेवारी पाएका छन्।

बाजुरा

बाजुराका ९ वटा स्थानीय तहमा ४ स्थानीय तहमा मात्रै गाउँ-नगर अधिवेशन सकिएको छ। बाँकी ५ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयनको तयारी भइरहेको छ।

बाजुरा जिल्ला सभापति कविराज पण्डितका अनुसार बूढीनन्दा नगरपालिका सभापतिमा मानबहादुर खड्का निर्वाचित भएका छन्।

यस्तै, बूढीगङ्गा नगरपालिकामा जयराज उपाध्याय, जगन्नाथ गाउँपालिकामा सुन्दर विष्ट र गौमुल गाउँपालिकामा राजबहादुर धामी सभापतिमा निर्वाचित भएका हुन्। बाँकी पालिकामा सहमतिको प्रयास भइरहेको जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.