|

संगीतको क्षेत्रमा नै केही गर्ने सोचले सर्जक भूपू पाण्डे १५ वर्षअघि दाङबाट काठमाडौंका लागि रात्रि बस चढेका थिए। यो अवधिमा उनले संगीत सिके। गीत गाए। कम्पोज गरे।

जसमध्ये केही गीत चर्चामा रहे‚ केहीले पानी भन्न पाइएन। यद्यपि‚ उनले सोचे झैं गीत भने ल्याउन सकेका थिएनन्। गत वर्ष उनले 'छोटो छ जिन्दगी' बोलको गीत ल्याए। यो गीत उनले अपेक्षा गरेभन्दा बढी दर्शकले मन पराइदिए। 

त्यसअघि पनि उनले नेपाली सांगीतिक बजारमा दुईवटा एल्बम ल्याइसकेका थिए। भूपूले चम्पा, जन्मे मेरा चार भाइ छोरा, मेरो दाइलगायत ५० भन्दा बढी गीत ल्याएका छन्। ती गीतबाट उनी आंशिक खुशी छन्। तर, ‘छोटो छ जिन्दगी’ गीतबाट पाएको प्रशंसाले भने उनी दंग छन्।

अचेल उनी गीत सिर्जना मै तल्लीन छन्। ‘छोटो छ जिन्दगी’को प्रशंसा, त्यसले थुपारेको चुनौती र अबको यात्रा कसरी अगाडि बढ्ला? थाहाखबरकर्मी राजु पौडेलले बुझ्ने प्रयास गरेका छन्।

गायक बन्न काठमाडौंको आएको भूपूले गायक बन्न गरेका संघर्ष सुनेर गफको पोयो फुकाउँदा सहज होला है?

काठमाडौं बसाइका सुरुवाती महिना त घरबाट नै खर्च आउँथ्यो। कुनै जागिर खाने जरुरी भएन।

रत्न राज्यलक्ष्मी (आरआर) क्याम्समा ऐच्छिक अंग्रेजी र संगीत विषय पढियो। इलेक्ट्रिक ड्रम सिकिसकेको थिएँ। घरबाट पनि पैसा माग्न लाज लाग्न थाल्यो। आफ्ना लागि आफैं केही गर्ने सोच पलायो। सुरुका दिनमा कामको खोजीमा कपडा पसलमा काम गर्न थालें। तर पाँच दिन पनि टिकिनँ। किनभने मलाई त्यसतर्फ आकर्षण थिएन।

त्यसपछि दोहोरी साँझतिर बिनास्यालरी मादल बजाउने काम गरियो। त्यो सिकाइको चरण थियो। पछि अलि अलि स्यालरी आउन थाल्यो। एक वर्ष त्यहाँ काम गरेर निस्किएँ। त्यसपछि क्यासिनोमा ड्रम बजाउन पुगे। त्यहाँ पनि खास मन बसेन। अनि भजन गाउने ठाउँमा पुगें। त्यहाँ करिब ७ वर्ष अक्टोप्याड बजाएँ। जसले मेरो दैनिकी गुजार्न सहज भयो। त्यसमाथि मैले मास्टर्स डिग्री पनि सकियो। त्यही बेला मैले दुई एल्बम गरें। 'मोक्षपथ' भजन एल्बम र 'मायावी' थियो। त्यसपछि एरेजमेन्टको काम गर्न थालियो।

संघर्ष हिजो पनि थियो। आज पनि छ। जिम्मेवारीबोधको हिसाबले संघर्षको स्वरुप परिवर्तन भएको मात्र हो। हिजो गीत कसरी गाउने होला भन्ने हुन्थ्यो। स्टुडियोमा पुगेर एउटा मात्र गीत रेकर्ड गर्न पाए क्या गज्जब हुने थियो भन्ने लाग्थ्यो। त्यसका लागि मेन्टल्ली स्ट्रेस हुन्थ्यो। अहिले आफूले पाएको सफलतालाई कसरी बचाइराख्ने होला भन्ने तनाव छ। निरन्तर संघर्ष जारी नै छ। २०६२ सालमा गायक बन्न आउँदा मनमा उठ्ने हुटहुटी र अहिले कलाकारका रुपमा आफूलाई थप स्थापित गर्ने चुनौती कम पक्कै छैन। 

गायक बन्न नै हो काठमाडौं आएको

सपना नै गायक बन्ने थियो। सोझो सपना भनौं न। तर, संगीतको ज्ञान थिएन। काठमाडौंमा सहजै गाउन पाइन्छ होला भन्ने मनमा लागेको थियो।

मस्तिष्कमा के थियो भने आज जान्छु‚ भोलि गाउँछु। पर्सि हिट हुन्छु भन्ने सोझो दिमागले संगीतको सागरमा हाम फालेको हुँ। अलि अलि उत्रन सिकेको छु। तर, संगीतको पूर्ण ज्ञान पाउन बाँकी नै छ। 

दाङबाट देखेको संगीत कस्तो थियो?

दाङबाट देखेको संगीत र काठमाडौंका आएपछि देखेको संगीत आकाश पातालको फरक नि! पहिलो कुरा संगीत सिक्नुपर्ने रहेछ। यहाँ आएर हल्काफुल्का अरुले गाएको गीतलाई सिको गर्ने होला भन्ने थियो। आरआर कलेजमा पढ्दा म शास्त्रीय संगीतको विद्यार्थी हुँ भन्ने नै मलाई थाहा थिएन। अरुको गीत गाएर गीत सिक्ने होला भन्ने लाग्थ्यो।

तर, सागरमा छिरेपछि अलमल सुरु भयो। बुझ्ने कोशिश गरियो। कति बुझियो भन्ने त अब कसरी लेखाजोखा गर्नु खै! पहिलो कुरा घरबाट पैसा ल्याएर हिम्मतले गीत निकाल्न सक्ने अवस्था थिएन। सिकेर जानेर गायक बन्छु भन्दा लामो अवधि यसरी नै बित्यो। 

संगीत, अभिनय तथा गायन स्वयं गर्नुहुन्छ। गायनका लागि आवश्यक गीतको छनोट गर्ने तपाईंका सीमाहरू केके हुन्?

समयअनुसार आफूले आफैंलाई परिवर्तन गर्दै जानुपर्ने रहेछ। कहिले काहीँ कमर्शियल हुन मसलादार शब्द पनि खोजियो। केही यस्ता मसलेलार गीत पनि छन् कि अहिले दर्शकले ती गीत सुन्नुभयो भने मलाई के भन्नुहोला भन्ने लाग्छ।

तर, ती गीतले मेरो दैनिकि चलाउन मद्दत गरेका छन्। समयअनुसार गीत बाँच्ने र आफू बाँच्ने दुवै खाले गीत सुहाउँदो शब्द खोज्ने प्रयास गर्छु। कम्तीमा दर्शकले मेरा गीत सुन्दा छि: नभनी दिए हुन्थ्यो भन्ने कुरा प्राथमिकतामा राख्छु।  

'छोटो छ जिन्दगी'अघिको भूपू र यो गीत सार्वजनिक भएपछिको भूपूको जिन्दगी के फरक छ?

सफलताको एउटा स्वाद हुन्छ। त्यो आर्थिक रुपमा मात्र लिनु हुँदैन। समयसँगै आत्म सन्तुष्टिको खोजी पनि गरिँदो रहेछ। कायापलट केही भएको छैन। आफैंले आफैंलाई अलिकति जिम्मेवारी थपेको महसुस हुन्छ।

गीतहरू सोचेर र बुझेर मात्र गर्छु भन्ने लाग्छ। पहिले अलिक रवाफिलो देखाउने प्रवृत्ति हावी थियो। त्यो प्रवृति यो गीत  निस्केपछि हटेको छ। यसको मतलव के भने कम्तीमा गीतमा सर्जकले परिपक्कता देखाउनुपर्छ। मैले परिपक्कता देखाउनुपर्छ भन्ने लागेको छ।

बजारमा जस्ता गीत चले‚ त्यस्तै प्याट्रनमा सर्जक पछि लागेका छन्। यसले क्षणिक रुपमा आर्थिक उपार्जन त होला तर संगीतलाई भने क्षति हो भन्ने मेरो बुझाइ हो।  यहाँ स्तरीय तथा बौद्धिक सर्जकहरू पनि क्षणिक लाभ हेर्न थाल्नुभएको छ। जसले गर्दा सर्जकले लामो आयुका गीत निकाल्न सक्नुभएको छैन। दर्शकले मसलेदार गीतमा नै आफूलाई एडजस्ट गरिदिनुपर्ने भएको छ। जब कुनै सुन्दर कुरा अंकुराउन पाउँदैन भने फल्ने आश के गर्नु? 

'छोटो छ जिन्दगी' गीतपछि आएका प्रतिक्रिया सकारात्मक छन्। ती सकारात्मक प्रतिक्रियाले सास नै थिचिने अवस्था आएको त छैन नि? अब चुनौती पनि बढ्यो है?

म त निदाउन पनि सक्दिनँ। मान्छेलाई जे भएर पनि नहुँदो रहेछ भन्ने लाग्छ। हिजोको दिनमा मेरा गीत सुन्नेको कमी थियो। आज सकारात्मक कमेन्ट गरिदिने, गीतको समीक्षा गरिदिनेहरू पनि हुनुहुन्छ।

मलाई यो गीत यति धेरैले मन पराइदिनु हुन्छ भन्ने नै लागेको थिएन। अन्जानमा गीत निकालिएको भन्ने कुरा मैले स्वीकार गर्नुपर्छ। यति भन्दै गर्दा मेरो भयंकर कायालपलट नै भयो भन्ने होइन। अपेक्षाभन्दा बढी भएकाले अब मैले कस्ता गीत निकालुँ भन्ने लाग्छ। 

मेला महोत्सवमा आफूलाई लैजाने हो भने यस्ता मात्र गीतले पुग्दैन। चटपटे गीत पनि गर्ने हो कि सोच्छु। यदि त्यस्तो गीत निकाल्दा दर्शकको अपेक्षा पूरा नहुने हो भन्ने पनि लाग्छ। ‘छोटो छ जिन्दगी’जस्तै गीतको प्याट्रनलाई फ्लो गर्दा दैनिकी चलाउन सकस हुने होला। यी र यस्ता दोधारे चक्र चलिरहेको छ। 

छोटो आयुका गीतले बजार तातिरहँदा लामो आयुका गीत निकाल्न सर्जकलाई चुनौती थपिएको हो?

चुनौती त कति हो कति! छोटो आयुका गीतले बजार तातिरहँदा लामो आयुका गीत ओझेलमा छन्। स्रष्टाहरूले पनि वर्तमानलाई हेरिरहँदा भविष्यलाई भुलिरहेका हुन् कि भन्ने लागिरहेको छ। यहाँ असल सर्जकलाई आफ्नै सिर्जनामा विश्वास नभएको देखिन्छ। 

बजारमा जस्ता गीत चले‚ त्यस्तै प्याट्रनमा सर्जक पछि लागेका छन्। यसले क्षणिक रुपमा आर्थिक उपार्जन त होला तर संगीतलाई भने क्षति हो भन्ने मेरो बुझाइ हो। 

यहाँ स्तरीय तथा बौद्धिक सर्जकहरू पनि क्षणिक लाभ हेर्न थाल्नुभएको छ। जसले गर्दा सर्जकले लामो आयुका गीत निकाल्न सक्नुभएको छैन। दर्शकले मसलेदार गीतमा नै आफूलाई एडजस्ट गरिदिनुपर्ने भएको छ। जब कुनै सुन्दर कुरा अंकुराउन पाउँदैन भने फल्ने आश के गर्नु? 

बुझाइ फरक फरक हुन सक्छन्। तपाईंको हकमा कस्ता गीतलाई चर्चित भनिन्छ?

यो क्लिकको जमाना हो। यहाँ भ्युज धेरै भएपछि हिट भन्ने चलन छ। मान्छेले कुनै पनि गीत पूरा सुन्छ कि सुन्दैनन्? वा फिल गर्छन् कि गर्दैनन् सँग मतलव छैन। गीतमा आफूलाई कति डुबाउँछ भन्ने कुरा एकादेशको कहानी भइसक्यो। अहिले निस्किएका गीत १० दिनसम्म टिकटकदेखि फेसबुकका वालमा चर्चा भयो भने त्यसलाई हिट भन्ने चलन आइसक्यो।

तर, गीतले बजार पाउँदा मनमा पनि बास पाओस् भन्ने हो। मान्छेले गीत सुनेपछि लागोस् कि यो मेरो गीत हो। गीत बाँचोस् र त्यो गीतले सर्जक पनि बचाओस्। दर्शकलाई आफ्नोपनको महसुस गरायो भने मेरा लागि तिनै गीत हिट हुन्।

नारायण गोपाल, अरुणा लामालगायत चर्चित 'लिजेन्ड'हरूको गीत सुनेर हुर्केको पुस्ता अझै बाँकी छन्। ती पुस्ताको मन रिझाउन अहिलेका गीत पर्याप्त छन्?

ओहो! यो त गम्भीर प्रश्न हो। यद्यपि‚ अहिले यस्ता गीत निस्किन गाह्रो छ। त्यो एक जमाना थियो। जहाँ साधना थियो। ‘वान टेक’ रेकर्डिङका लागि महि‍नौं साधना हुन्थ्यो। अहिले हामीसँग साधन छ।

तर‚ हामी न अभ्यास गर्ने समय निकाल्न सक्छौं न मिहिनेत गर्न चाहन्छौं। मिहिनेतबिनाको फल त के आश गर्नु र! जब अभ्यास र साधना छैन भने फल त गुणस्तर निस्किँदैन। यद्यपि‚ सबै नराम्रा भनेको होइन। नारायण गोपाललगायतको अग्रजहरूको गीत सुनेर हुर्केको त्यो पुस्ताले अलिकति कम्प्रमाइज गर्नुपर्ने स्थिति चाहिँ छ।

यहाँ गुटको राजनीति यस्तो चल्छ कि पहिले गीत पाउनै मुस्किल हुन्छ। गीत पाएर गाए पनि बजारसम्म आइपुग्दा अर्कोको स्वरमा आउने चलन छ। यहाँ गुटले आत्मसम्मानलाई नै मारिदिन सक्ने अवस्था छ।

 

शब्द, सुर, स्वर, संकेत, ताल, लयजस्ता संगीतका यी पक्ष गौण बनेर निस्किने अहिलेका ज्यादातर गीत केवल पानीको फोकाजस्ता बनिदिएका छन्। शास्त्रीय संगीतको विद्यार्थीको हैसियतले यस्ता गीत निस्किनुमा को बढी जिम्मेवार होला?

यदि मुल नै खराब छ भने त्यहाँबाट आउने पानी सफा खोजेर हुँदैन। संगीतको क्षेत्रलाई कसरी लैजाने भन्ने बहस पनि हुनुपर्ने बेला भएको हो कि भन्ने मेरो बुझाइ हो। लोकलयका गीतहरू चलेका छन्। जहाँ हाम्रापन र हाम्रो माटो सुहाउँदो छ।

तर, अन्य शैलीका गीत भने उस्ताउस्तै, उस्तै संगीतका रुपमा आएका छन् जस्तो लाग्छ। जुन भद्दा जस्तो देखिन थालेको छ। मसलेदार एउटा गीत चलेपछि त्यही शैलीको बाढी आउने प्रचलन छ। जुन सुधार्नुपर्छ। दर्शकले पनि राम्रा गीतलाई माया गरिदिनुभयो भने सर्जकलाई हौसला मिल्थ्यो। लगानीको कुरा हुन्छ। उठ्दैन। अनि लगानी उठाउन मसलेदार बनाउनतिर लाग्नुपर्ने बाध्यता सर्जकलाई पनि छ।

अहिले संगीत बजारमा गुटैगुटले थामिनसक्नु भीड छ भन्ने सुनिन्छ। यस्ता गुटले नयाँ पुस्ता र स्वतन्त्र रहन खोज्ने संगीतकर्मीका लागि कस्तो प्रभाव पार्दो रहेछ?

यहाँ सम्मानले निस्किएको नमस्कारले भन्दा चाप्लुसीवाला नमस्कारले बढी महत्व पाइरहेको छ। जो गलतलाई पनि गलत भन्दिन्छ, ऊ एक्लो बन्ने समस्या छ। यहाँ काम चाहिने भए गुटमा नै रमाउनुपर्ने बाध्यता छ। क्षमता सँगसँगै तपाईंसँग गुटमा रमाउन सक्ने क्षमता नभए मुस्किल हुने प्रवृत्ति देखिएको छ।

यसले गर्दा राम्रा र क्षमतावाला सर्जकहरू ओझेलमा परेका हुन् कि भन्ने लाग्छ। यहाँ गुटको राजनीति यस्तो चल्छ कि पहिले गीत पाउनै मुस्किल हुन्छ। गीत पाएर गाए पनि बजारसम्म आइपुग्दा अर्कोको स्वरमा आउने चलन छ। यहाँ गुटले आत्मसम्मानलाई नै मारिदिन सक्ने अवस्था छ। तर, अब आफूमा विश्वास भयो भने यी सामान्य लाग्ने कुरा हुन्। 

संगीतको क्षेत्रमा भोगेको अनुभवका आधारमा अहिले यस क्षेत्रमा भविष्य खोज्ने नयाँ पुस्ताका लागि के के सुझाव हुन् सक्छन्?

संगीतको क्षेत्र व्यापक छ। कति सिकेर हुन्छ भन्ने सीमा तोक्न सकिने अवस्था छैन। जति अध्ययन गर्‍यो उति गहिरो छ।

स्टारडमको खोजी गरेर मात्र आउनुभयो भने 'डिप्रेशन'मा जाने सम्भावना हुन्छ। क्षमता छ भने प्रविधिको जमाना छ, बिक्न सकिन्छ। यदि टिक्ने हो भने अध्ययन गर्नुस्। अध्ययनबिना त सफल भएका थोरै मान्छे मात्र मैले देखेको छु। जसले अध्ययन गरेको छ, ऊ कालान्तरमा सफल भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.