|
अक्षयकुमार अभिनित फिल्म 'सूर्यवंशी' को पोस्टर

सन् २०२० को मार्चमा नै प्रदर्शनमा आउने घोषणा भएको अक्षयकुमार अभिनित फिल्म 'सूर्यवंशी' को कोरोना महामारीले गर्दा प्रदर्शन मिति सर्‍यो।

पहिलो लकडाउनपछि अप्रिल १० प्रदर्शन मिति तय भएको फिल्म कोरोनाको दोस्रो लहरले पनि प्रदर्शन हुन दिएन। अब फिल्म तिहारको अवसर पारेर नोभेम्बर १० मा प्रदर्शनमा ल्याउने तयारी गरिँदै छ।

कोरोना संक्रमणको दर घटेसँगै भारतमा पनि सिनेमाघर खुल्ने क्रम बढेको छ। महाराष्ट्र राज्यले २२ अक्टोबरदेखि सिनेमाघर खोल्न पाइने नियम ल्याएसँगै डेढ वर्षदेखि प्रदर्शन रोकिएर बसेको 'सूर्यवंशी' को पनि प्रदर्शन मिति तोकिएको हो।

रोहित सेट्टीको निर्देशनमा बनेको फिल्ममा अक्षयसँगै कट्रिना कैफको मुख्य भूमिका छ। 'सूर्यवंशी' सिंघम फ्रेन्चाइजको चौथो फिल्म हो। यसअघि 'सिंघम', 'सिंघम रिटर्न्स' र 'सिम्बा' प्रदर्शनमा आइसकेका छन्।

यो फ्रेन्चाइजका अघिल्ला सबै फिल्मले राम्रो व्यावसायिक सफलता हात पारेका थिए। दर्शकले मन पराएको फ्रेन्चाइज र ठूलो बजेटमा बनेको भएर पनि 'सूर्यवंशी'ले लामो समयदेखि बन्द रहेका सिनेमाघर र बलिउड बक्स अफिसलाई चलायमान बनाउने अपेक्षा गरिएको छ।

भारतमा मात्र नभएर 'सूर्यवंशी' बाट नेपालमा पनि लामो समयदेखि हलमा गएर फिल्म नहेरेका दर्शकलाई हलसम्म तान्ने र नेपाली फिल्म उद्योगलाई पनि चलायमान बनाउने अपेक्षा धेरैले गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.