|

काठमाडौं : बजेटमा दीर्घरोगीको उपचारका लागि मासिक भत्ता व्यवस्था गरिएकोमा मेरुदण्ड पक्षघात समूह नेपालले अर्थमन्त्री जनार्दन शर्मालाई धन्यवाद दिएको छ। आइतवार अर्थ मन्त्रालयमा मन्त्री शर्मालाई भेटी समूहले धन्यवाद दिएको हो। प्रतिस्थापन विधेयकमार्फत उक्त व्यवस्था गरिएको हो।

भेटमा मन्त्री शर्माले सबै नागरिकको अभिभावक राज्य भएकाले दायित्वबोधका साथ मासिक उपचार खर्चको व्यवस्था बजेटमा गरिएको बताए। उनले केही दिनभित्रै सरोकारवाला निकाय तथा समूहसँग बसेर कार्यविधि बनाई तत्काल कार्यान्वयनमा लैजाने समेत आश्वासन दिए।

‘आजदेखि बजेटमा व्यवस्था गरिएका विषयको कार्यविधि बनाउनेबारे छलफल थालेका छौँ’, उनले भने, ‘अब एक/दुई दिनभित्रै सरोकारवाला निकाय र तपाईँहरूलाई समेत राखेर छलफल गरी कार्यविधि बनाई तत्काल कार्यान्वयनमा लैजान्छौँ। आगामी दिनमा यो सुविधा कसैले काट्न सक्दैन।’ मन्त्री शर्माले कार्यान्वयनका विषयमा ढुक्क हुन पनि आग्रह गरे।

मेरुदण्ड पक्षघात समूह नेपालका अध्यक्ष ऋषि ढकालका अनुसार हाल नेपालमा करिब पाँच हजार स्पाइनल कर्ड इन्जुरी भएका व्यक्ति रहेका छन्। घाइते भएपछि विक्षिप्तता आउने र समाजमा उपेक्षा गर्ने प्रचलन रहेको भन्दै अध्यक्ष ढकालले मासिक भत्ताले समाजमा पुनःस्थापनामा टेवा पुग्ने बताए।

‘इन्जुरी भएपछि समाज र परिवारको बोझ भएँ भनेर मानसिक रूपमा कमजोर भएकाहरूलाई बलियो बनाउने काम भत्ताले गर्छ’, उनले भने, ‘हाम्रो सुझाव र मागलाई अर्थमन्त्रीले सम्बोधन गरिदिनुभयो। यसका लागि हाम्रो समूह र सम्पूर्ण स्पाइनल कर्ड इन्जुरी भएकाहरूको तर्फबाट धन्यवाद छ।’

भेटपछि कार्यान्वयनको पक्षमा आफूहरूको आशंका समेत हटेको बताउँदै अध्यक्ष ढकालले मन्त्रीको आश्वासनले आफू सन्तुष्ट भएको बताए।

स्पाइनल कर्ड इन्जुरी भएका व्यक्तिको अवस्थाअनुसार उपचारमा फरक खर्च हुने समूहका महासचिव केशव थापाले बताए। उनका अनुसार पछिल्लो समय ४५० जनामा गरिएको अध्ययनले ५ देखि ८ हजारसम्म मासिक खर्च लाग्ने ५५ प्रतिशत रहेका छन्। बाँकी ४५ प्रतिशतलाई ५ हजारभन्दा कम लाग्ने अध्ययनले देखाएको छ।

स्पाइनल इन्जुरी भएका बिरामीलाई नियमित रूपमा बउल ब्लाडर, सीवाइसी पाइप, युरिन ब्यागलगायतका सामग्री आवश्यक पर्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.