|

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आइतबार थप ५ जिल्लामा स्थानीय तहको अधिवेशन सुरु भएको छ।

काठमाडौं जिल्लामा भएको वडा अधिवेशनको अन्तिम मत परिणाम भने आइसकेको छैन।

केन्द्रीय निर्वाचन समितिका अनुसार क्रियाशील विवाद सकिएका ६४ जिल्लामध्ये शनिबार ५४ र आइतबार ५ गरि ५९ जिल्लामा नगरपालिका र गाउँपालिका स्तरीय अधिवेशन सुरु भएको हो।

तीमध्ये कतिपय ठाँउमा सहमतिमै नेतृत्व चयन भएको छ भने कतिपय स्थानमा निर्वाचन भएको छ।

निर्वाचन समिति सदस्य एगराज पोखरेलले क्रियाशील विवाद सकिएका ६४ जिल्लामा मंगलबारसम्ममा स्थानीय तहको अधिवेशन सकिने जानकारी थाहाखबरलाई दिए।

‘हिजो ५४ र आज ५ थप जिल्लामा पालिकास्तरीय अधिवेशन सुरु भएको छ। हालसम्म ५९ जिल्लामा वडादेखि पालिकास्तरको अधिवेशन सम्पन्न भएको छ। भोलि पनि थप ५ जिल्लामा अधिवेशन सुरु हुन्छ। क्रियाशील विवाद टुंगिएका ६४ जिल्लाकै अधिवेशन हुन्छ,’ पोखरेलले थाहाखबरसँग भने।

उनले आइतबार अधिवेशन सुरु भएका जिल्लामा हिजो नै एक–दुई वडामा सर्वसम्मत भएर थालनी भइसकेको बताए। उनले भने, 'भोलि पर्सीसम्म गरेर सबै जिल्लामा अधिवेशन सकिन्छ।’

काठमाडौंको नतिजामा ढिलाइ

काठमाडौं जिल्लामा भएको वडा अधिवेशनको अन्तिम मत परिणाम आइनसकेकाले नतिजा प्रकाशनमा ढिलाई भएको निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समिति सदस्य पोखरेलका अनुसार काठमाडौंमा स्थानीय तहको अधिवेशन १६ गतेसम्म हुने छ।

क्रियाशील विवाद रहेका १३ जिल्लामध्ये ५ जिल्लाको क्रियाशील सदस्यता हिजै सार्वजनिक भइसकेको छ।

बाँकी रहेका ८ जिल्लामध्ये ४ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगिसकेको जानकारी पोखरेलले दिए। बाँकी ४ जिल्लाको विवाद पनि सोमबार समाधान गरी अन्तिम नामावली प्रकाशनको तयारी भएको उनले बताए।

‘५ वटा जिल्लाको बुझेर हिजो मतदाता नामावली नै प्रकाशित गरि सक्यौं। बाँकी ८ जिल्लामध्ये ४ जिल्लाको मतदाता नामावली आइतबार प्रिन्ट भइसक्यो। बाँकी रहेका ४ जिल्लाको भोलि प्रिन्ट गर्ने तयारी छ। प्रिन्ट भइसकेका जिल्लाको पनि सबै एकैचोटी बुझेर सार्वजनिक गर्ने भनेर रोकेका छौं,’ उनले थाहाखबरसँग भने, ‘अब दशैं अगाडि नै सबै ७७ जिल्लाकै वडा र पालिकास्तरीय अधिवेशन सकिन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.