|

विराटनगर : मोरङको उर्लाबारी नगरपालिका–८ राजघाटका १९ वर्षीय अभिषेक चौधरीको हत्यामा संलग्नमध्ये थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा उर्लाबारी–७ का २७ वर्षीय अभिषेक लिम्बू र उर्लाबारी–८ का २८ वर्षीय विजय लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। पक्राउ परेका दुवै जना अभिषेक हत्या काण्डका मुख्य अभियुक्त रहेको प्रहरीको दाबी छ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्का नेतृत्वको टोलीले मोरङको सुनवर्षी नगरपालिका–८ सिक्टीबाट दुवै जनालाई पक्राउ गरेको हो। लिम्बूद्वयको योजना र प्रत्यक्ष संलग्नतामा छुरा हानेर चौधरीको हत्या गरिएको श्रेष्ठले बताए।

घटनाको योजना बनाउने र छुरा हान्ने दुवैमा उनीहरूको मुख्य भूमिका रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। गत साउन ११ गते १५ जनाको संख्यामा आएका समूहले चौधरी र उनीसँगै रहेका २१ वर्षीय सुशन धामीमाथि छुरा हानेका थिए।

छुरा प्रहारबाट गम्भीर घाइते भएका चौधरीको सोही दिन झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा मृत्यु भएको थियो। सुशन उपचारपछि निको भइसकेका छन्। फुटबल खेल्ने क्रममा दुई पक्षबीच भएको विवाद छलफल गरेको मिलाइएको भए पनि रिसइबी साँधेर बसेको समूहले अभिषेकको हत्या गरेको प्रहरीको भनाइ छ।

घटनामा संलग्नमध्ये उर्लाबारी–८ का २२ वर्षीय राकेश कार्की, १९ वर्षीय पवन भनिने हेमराज कार्की, २१ वर्षीय योगेश विक, १९ वर्षीय निशान राई, उर्लाबारी–७ का २० वर्षीय अञ्जन लिम्बू, उर्लाबारी–१० का २० वर्षीय आयुष राना मगर यसअघि नै पक्राउ परिसकेका छन्।

घटनामा संलग्न ८ जना पक्राउ परिसकेका छन् भने सातजना फरार छन्। हत्यामा संलग्नविरुद्ध प्रहरीले जिल्ला अदालत मोरङमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ। यसअघि पक्राउ परेका तीन जना अदालतको आदेशबाट पूर्पक्षका लागि कारागार चलान भएका छन्।

अदालतले निशान, अञ्जन र आयुषलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिए पनि राकेश, हेमराज र योगेशलाई भने मोरङ अदालतले धरौटीमा छाड्न आदेश दिइसकेको छ। घटनामा संलग्नमध्ये सुमन चौहान, नवीन तामाङ, संजोग अधिकारी, सुमन श्रेष्ठ, मनिष गुरुङ, अजय श्रेष्ठ र बामस मगर फरार छन्। डीएसपी श्रेष्ठले फरार रहेकाहरूको खोजी जारी राखिएको जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.