|

विराटनगर : करिब ३८ क्विन्टल सुन तस्करीका साथै मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणसँग जोडिएको मुद्दाको अन्तिम सुनुवाइ सुरु भएको छ।

जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा सुनुवाइको पहिलो दिन आइतबार सरकारी वकिलले बहस गरेका छन्।

सरकारी वकिलका तर्फबाट मोरङका सहायक जिल्ला न्यायाधीवक्ता मनिषबाबु पोखरेलले अवैध सुन चोरी निकासी र पैठारीबारे बहस गरे।

उनले मुद्दाका प्रतिवादीलाई बिगोबमोजिम जरिवाना र ५ वर्षसम्म कैद सजाय माग गरे।

बहसमा पोखरेलले प्रस्तुत गरेको विषयलाई उच्च सरकारी वकिल कार्यालय विराटनगरका सहन्यायाधीवक्ता ज्ञानप्रसाद भुसाल र सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधीवक्ता रामहरि शर्मा काफ्लेले थप प्रष्ट पारे।

७७ जना प्रतिवादी रहेको मुद्दामा अवैध सुन चोरी निकासी र पैठारीमा नेपाल प्रहरीका एसपी विकासराज खनाल र डिएसपी प्रजित केसीलगायत ३ जनालाई भने प्रतिवादी बनाइएको छैन।

यो मुद्दामा सरकारी वकिलको बहस सोमबारसम्म जारी रहने जिल्ला अदालत मोरङका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले जानकारी दिए।

उनका अनुसार सरकारी वकिलको बहस सकिएपछि प्रतिवादीतर्फका कानुन व्यवसायीले बहस गर्ने छन्। त्यसपश्चात् फैसला हुने छ। 

मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीलाई मुख्य अभियुक्त बनाइएको मुद्दा यही असोज ७ गतेदेखि सुनुवाइका क्रममा हेदाहेर्दैमा राखिएको थियो।

तस्करी गरेर दुबईबाट ल्याएको साढे ३३ किलो सुन गायब बनाएको आरोपमा गोरेसहित उनको समूहले करेन्ट लगाएर यातना दिँदै ०७४ साल फागुन १८ गते उर्लाबारी नगरपालिका–१ मा सनम शाक्यको हत्या गरेको खुलेको थियो।

प्रहरीले त्यसको अनुसन्धान सुरु गरेपछि विदेशबाट नेपालतिर भइरहेको सुन तस्करीको उजागर भएको हो।

हत्यापछि धरानमा एक रात राखेर शाक्यको शव विराटनगर ल्याइएको थियो।

शव राखिएको बा १२ च ५९६३ नम्बरको स्कोर्पिओ र मे १ च ५३९८ नम्बरको कारसहित प्रहरीले चालकहरू मोहन काफ्ले, टेकराज मल्ल ठकुरी तथा कृष्ण भनिने नरेन्द्र कार्कीलाई सुरुमा पक्राउ गरेर घटनाको अनुसन्धान अघि बढाएको थियो।

त्यतिबेला फरार रहेका गोरे पछि पक्राउ परे। अदालतले उनलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

अनुसन्धानबाट गोरे सुन तस्करको मुख्य नाइके रहेर व्यापारीको लगानीमा दुवईबाट त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तस्करीको सुन नेपाल भित्रने गरेको खुलेको थियो।

त्यसमा प्रहरीका उच्च अधिकारीले सहजीकरण गरिने गरेको समेत पत्ता लागेको थियो।

सुन तस्करी प्रकरणमा नेपाल प्रहरीका पूर्वडिआइजी गोविन्दप्रसाद निरौला, एसएसपी श्यामबहादुर खत्री, दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपीहरू सञ्जयबहादुर राउत, प्रजित केसी, सइ बालकृष्ण सञ्जेललगायत मुछिएका छन्।

प्रतिवादी बनाइएकामध्ये खत्री र राउत अहिलेसम्म थुनामै छन्। अरु प्रहरी अधिकारी उच्च अदालत विराटनगरको आदेशबाट छुटिसकेका छन्।

सुरुमा ६३ जना मात्र प्रतिवादी रहेको मुद्दामा ३ पटक पूरक अभियोग दर्ता हुँदा प्रतिवादी ७७ जना पुगेका छन्।

५५ जना प्रतिवादी पक्राउ परे पनि २२ जना अझै फरार छन्।

सरकारी वकिलको कार्यालय मोरङले ०७५ वैशाख १९ गते जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर ४ वटा शीर्षकमा मुद्दा दायर गरेको थियो।

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.