पार्टीको महाधिवेशन केन्द्रित केही क्रियाकलापको कार्यतालिका हेरफेर

|
फाइल फोटो

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले मन्त्रिपरिषद्लाई पूर्णता दिन छिटो पहल गर्ने निर्णय गरेको छ। सोमवार बिहान पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले ​​मन्त्रिपरिषद्लाई पूर्णता दिन देखिएको कानुनी जटिलतालाई समाधान गरेर अगाडि बढ्न गठबन्धन बैठकमा छलफल गर्ने निर्णय गरेको हो। 

बैठकमा मन्त्रिपरिषद्‍को पूर्णताका लागि कानुन, अध्यादेश तथा सर्वोच्च अदालतमा रहेको मुद्दाको विषयमा छलफल भएको स्थायी कमिटी सदस्य देव गुरुङले जानकारी दिए। सदन र अदालतसँग जोडिएको कानुनी जटिलता हटे लगत्तै मन्त्रिपरिषद् विस्तारमा छलफल अगाडि बढ्ने उनको भनाइ छ। 

मन्त्रिपरिषद् विस्तार पाँच दलले टुंगो लगाएपछि मात्रै हुने भएकाले कानुनी  जटिलताको कारणले समस्या भइरहेको गुरुङको भनाइ छ। ‘अध्यक्षले अहिलेको समसामयिक स्थितिबारे ब्रिफिङ लिनुभयो,’ उनले भने‚ ‘मुख्य रुपमा पार्टीको आन्तरिक सम्मेलनहरुको तयारी, स्थानीय निकाय, टोल, वडाहरूको भेला गर्ने विषयहरुमा छलफल भएको छ। पहिला भएको टाइम अलि टाइट भयो भ्याइएन, टाइम सानुपर्यो भन्ने कुरा सिफारिस भएको हुनाले त्यही अनुसारको छलफल भयो।’

पार्टी सदस्यको नवीकरण असोज मसान्तसम्म जारी राख्ने र टोल भेलाहरु कात्तिक ६ गते गर्ने सहमति भएको समेत बताए। कात्तिक १३ गते वडा सम्मेलन गर्ने र मंसिर ४ गते स्थानीय तहहरूको सम्मेलन गर्ने भएको छ। राष्ट्रिय र प्रदेश सम्मेलन नसार्ने र अरुको समय सार्ने भन्ने विषयमा छलफल भएको उनको भनाइ छ। 

स्थायी कमिटीको बैठकले पार्टीको महाधिवेशन केन्द्रित केही क्रियाकलापको कार्यतालिका हेरफेर गर्ने निर्णय समेत गरेको छ। बैठकले सदस्यता नवीकरण गर्ने मितिलाई असोज मसान्तसम्म समय थप गर्ने र स्थानीय स्तरमा हुने वडा भेलाको बैठक कात्तिक १३ गते गर्ने र मंसिर ४ गते पालिका स्तरीय भेला गर्ने निर्णय गरेको छ। 

स्थानीय स्तरको मेलाको समय सारे पनि प्रदेश सम्मेलन र राष्ट्रिय सम्मेलनको समय सारिएको छैन। माओवादी केन्द्रले आफ्नो राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि १३ गतेसम्म गर्ने निर्णय गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.