|

मान्छेको दिमागमा असीमित सम्भावना छ। यसै कारणले औद्योगिक क्रान्ति भयो, बाफले रेल चलायो, बिजुली क्रान्ति भयो, सूचनाप्रविधिको क्रान्ति भयो। पछिल्लो चरणमा आर्टिफिसियल इन्टेलिजेन्स, अटोमेशनडिजिटलाइजेशनको क्रमिक विस्तार भइरहेको छ।

यी सबै क्रान्तिले पश्चिमा मुलुक, चीन, जापान र कोरिया लगायतका देशलाई सम्पन्न बनाइरहेको छ। हामी नेपाली भने प्रयोगकर्ता मात्र बनेका छौँ‚ स्वामित्वकर्ता बन्न सकेका छैनौँ। त्यसैले गरिब छौँ।

अहिले वातावरणमैत्री हरित भविष्यको खोजी हुँदै छ। डिजल पेट्रोल सञ्चालित मोटरको ठाउँमा लिथियमआयनबाट बनेका ब्याट्रीले मोटर चल्न थाल्नेछन्। यसैगरी ग्याजेटका लागि टिकाउ ब्याट्रीको खोजी भइरहेको छ।

यी सबै उपलब्धिबाट विश्व लाभान्वित भए पनि न त नेपालको आयात घट्न सक्नेछ, न निर्यातलाई टेवा दिने गरी व्यावसायिक ब्राण्डको आविष्कारमा हामी अगाडि बढ्न सक्यौँ।

आज पनि १७ प्रतिशतभन्दा बढी नेपालीको आर्थिक आम्दानीले निष्फिक्रीसँग दशैँ मनाउन खर्च पुग्दैन। त्यसैले युवाहरूलाई तत्कालका लागि पैसा कमाउने कला सिकाउने प्रयास गरिँदै छ।

विदेशीले गरेका विकासका कथा लेखिरहँदा नेपाली जनता आफ्नो पौरखबाट कमाएको धनले दिनचर्यालाई आनन्दमय बनाउन सक्ने हो भने ठूलो उपलब्धि हुनेछ।

अहिले वार्षिक ९ खर्ब हाराहारीमा रेमिट्यान्स आएको छ। यसो भए पनि विदेश गएका सबैको अवस्था सन्तोषजनक छैन। मलेशिया‚ साउदी र कतार जाने ९० प्रतिशत नेपालीले उल्लेख्य प्रगति गरेको देखिएको छैन।

जति नै प्रगति गरे पनि नोकरी पर निर्णयमा आधारित हुन्छ। नोकरीले परिवारका अन्य सदस्यलाई कमाइ दिए पनि काम दिन सक्दैन। काम गर्ने व्यक्ति बिमार भएमा नोकरीले भविष्यका लागि केही दिँदैन।

प्रत्येक व्यक्तिलाई आफैँ कमाउने र एकभन्दा बढी कमाइका स्रोत खोजी गर्न सिकाउने किसिमले शैक्षिक रणनीतिमा पुनर्संरचना गरिनु पर्छ। अनि मात्र मानिसले सानैदेखि पैसाको महत्त्व, पैसा कमाउन बुद्धि लगाउनु पर्छ भन्ने सत्य बुझ्नेछ। अनि लगानीका बारेमा सोच्न सक्नेछ।

२१ औँ शताब्दीमा पनि नेपाली युवामा विदेश जाने ध्याउन्न बाहेक अर्को उद्यमशिलताको सोच जन्मिन सकेको छैन। विदेश जानेका बाँकी परिवार बेरोजगार, कृषिभित्रको अर्ध रोजगारीका माझ आय आर्जनका विभिन्न वैकल्पित स्रोतमा सचेत हुन जरुरी छ। मैले देखेका केही उदाहरण चर्चा गर्छु।

काठमाडौँ कपन सरस्वती नगरमा रहेको चलचित्र विकास बोर्डको उत्तरतिर एउटा शिवमन्दिर छ। त्यहाँबाट पारी सुकेधारा तर्नका लागि धोबीखोलामा एउटा सानो पुल छ। पुलको मुखमा ५/६ वटा सिँढी बनाइएको छ। गत भदौ मध्यतिरको कुरा हो, त्यहाँ अपरान्ह ४ बजेतिर चुल्ठो बाँधेका मोटा पाखुरामा हरियो ट्याटु खोपेका ६/७ जना जवान उभिएका थिए। तीमध्ये एकजनाले हजारका नोट गनिरहेका थिए।

उनले त्यो नोट गनेर पुलको सिँढीको उपल्लो खण्डमा बसेकी महिलालाई  दिए।  खुसी हुँदै महिलाले ती नोट फेरि गनिन्।  गन्दा प्रष्ट देखिएका ४१ वटा हजारका नोट थिए र २ वटा ५०० का गरी ४२,००० चट्ट चोलोको गोजीमा राखिन्। बाहिरबाट खिप लगाइन् अनि उनले समातेर उभ्याएको जखमले खसी तिनै पैसा दिने युवाको हातमा थमाइदिइन्। जवानहरू खसी लिएर पूर्वतिर लागे‚ महिला बडो हर्षका साथ चावहिलतिर लागिन्।

पनौतीबाट माथि रोशी र कलाँती खोलाको छेउमा स्थानीय बासिन्दाले सयौँ बथान हाँस पालेको देख्न पाइन्छ। गाउँमा लोकल कुखुरा पालेर दशैँखर्च जुटाउने पनि प्रशस्त मानिस छन्। यसरी पशुपालन, पक्षी पालन, माछापालनले  नेपालीको जीविकोपार्जनलाई सहज बनाएका मनग्गे उदाहरण देख्न पाइन्छ।

नागढुंगाबाट मलेखुसम्मका र चोभारबाट सिस्नेरीसम्मका किसानले आफ्ना बारीका कान्लामा तरकारी खेती गरेर कालीमाटीमा आपूर्ति गरी राम्रै आयआर्जन गरेका छन्। मोफसलका ठूला सहरको छेउछाउमा पनि तरकारी खेती, बाख्रापालन र कुखुरापालन भइरहेको छ। तैपनि नेपालले विदेशबाट खसीबोका आयात गर्नुपरेको छ।  

तरकारीमा पनि देश आत्मनिर्भर भइसकेको छैन। जैविक उद्योगमा सम्भावना र बजार पनि छ।

अनुसन्धानको क्षेत्रमा हाम्रो देश अति पछाडि छ। जति शोधपत्र निस्केका छन्‚ तिनले पनि त्यस्तो उल्लेखनीय पेटेन्ट र कपिराइट पाउन सकेका छैनन्।

यस्तो तितो वास्तविकता हुँदाहुँदै एक कक्षा पनि नपढेकी एउटा महिलाले राम्रोसँग मिहिनेत गर्ने हो भने ४२ हजार हाराहारीको खसी बेच्ने क्षमता त नेपालीमा रहेछ। त्यस्तै वर्षमा उनले १२ वटा खसी बेच्न सक्ने अवस्था सिर्जना भए त्यो परिवारबाट अरब र मलेशिया जानु नपर्ने देखिन्छ।

महको क्षेत्रमा पनि आम्दानीको सम्भावना व्यापक छ। गाई भैँसीको दूधको कारोबारले त हजारौँलाई गरिबीको रेखाबाट माथि उकासेको छ।

प्रत्येक स्थानीय निकायले खसी पालन प्रतियोगिता राख्ने, मौरीपालन, माछापालन, तरकारी खेती, चौरी पालन, भेडा पालन गर्ने र वार्षिक २० लाखभन्दा बढीको व्यापार गर्नेलाई पुरस्कार दिने। सिलाईबुनाइ प्रतियोगिता राख्ने, हरेक क्षेत्रका गुणस्तरीयलाई पुरस्कार दिने। देशभरका उच्च उद्यमीलाई पदकहरू  दिने प्रचलन बसाउने हो भने नागरिकमा काम गर्ने हौसला आउनुका साथै जनतामा खुशियाली छाउनेछ।

दशैँका ३ दिनमात्र नभएर वर्ष भरी नै खुसियाली ल्याउनका लागि लगानी गर्ने बानी विस्तार गर्न जरुरी छ। सानो उद्यमसँग खुसियाली साट्न र जिजीविषा चलाउन सम्भव छ। यसका लागि सरकारले त्यस सम्बन्धी थोरै भए पनि सहयोग गरिदिने, बाली बीमापशु बीमाको व्यवस्था गर्ने हो भने ठूलो जनसंख्या समृद्धितिर जान सक्छ।

बैंक तथा वित्तीय संस्थामार्फत उद्यमीलाई ऋणको व्यवस्था गरिएको छ।  त्यसभित्रको प्रक्रियागत झन्झट कम गर्ने र उद्यम अनुसार ठूला उद्यमी बन्ने वातावरण निर्माण गर्न आवश्यक छ। सूक्ष्म रूपमा भए पनि आम्दानी बढाउने काममा लागेकाहरूलाई आर्थिक, प्राविधिक तथा तालिमजन्य सहुलियत दिएर राज्यले विपन्न वर्गलाई सहयोग गर्नुपर्छ।

कमाउने अनेक उपाय छन्। तीमध्ये सबैभन्दा लाभदायीभविष्यमा विस्तारको सम्भावना भएका विकल्पका बारेमा सोचेर अगाडि बढ्नुपर्छ। स्थानीय निकायले पनि जनताको आम्दानी बढाउने सन्दर्भमा के गर्न सकिन्छ भन्ने बारेमा उद्यम मैत्री योजना ल्याउनु पर्छ। जनताले त्यसै अनुरूप काम गर्ने हो गरिबी हटाउने ससाना उपाय विभिन्न क्षेत्रमा भेट्न सकिन्छ।

जीवनमा पैसा सबैभन्दा ठूलो उत्प्रेरक हो। त्यसैले के गर्दा पैसा कमाउन सहज हुन्छ त्यस सन्दर्भमा आफ्नै तरिकाले अगाडि बढ्दै जाऔँ। आजसम्म असाध्य धनीमा बन्न पुगेका व्यक्तिहरू कुनै वेला अभावमा बाँचेका थिए।

गरिवीले अटसमटस हुने गरी नच्यापेसम्म धनी बन्ने सोच जन्मिँदैन। आजको गरिबी भोलिको सम्पन्नताको पथ प्रदर्शक हो । त्यसैले हरेक प्रकारका अभाव र समस्याबीच सफल उद्यमी बन्ने जोशको जगेर्ना गरौँ। कमाएपछि दशैँ पर्खिनु पर्दैन। हाम्रो घरमा दिनदिनै सम्पन्नताको खुसियाली आउनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.