|

काठमाडौं : विशेष गरी दशैँ तिहार नेपाली फिल्म प्रदर्शनको लागि सबैभन्दा उत्तम समय मानिन्छ। त्यसैले निर्माताहरू दशैँमा फिल्म प्रदर्शन गर्नको लागि तँछाडमछाड गरिरहेका हुन्छन्। फिल्म छायांकनमा जानुभन्दा अगाडिदेखि नै दशैँमा प्रदर्शन हुने भनेर मिति तोकिसकेका हुन्छन्। 

सामान्य अवस्थामा दशैँ तिहारमा प्रदर्शनमा आउने फिल्मले औसतभन्दा राम्रो व्यापार गरेका छन्। केही सर्वाधिक कमाउने फिल्महरू पनि दशैँकै सिजन पारेर प्रदर्शनमा आएका छन्। छक्का पञ्जा सिरिज, छ माया छपक्कै, जय भोले त्यसका उदाहरण हुन्। 

कोरोनाका कारण पोहोर सालको दशैँमा भने कुनै फिल्म प्रदर्शनमा आउन सकेन। यो वर्ष पनि हल पोहोरकै जस्तो सुनसान हुने आशंका धेरैलाई थियो। दर्शकको संख्या जे जस्तो भए पनि यो वर्ष हलमा फिल्म भने लाग्ने भएको छ। 

आइतबार नेपाल चलचित्र संघका महासचिव अशोक शर्माको संयोजकत्वमा बसेको बैठकले घटस्थापनाको अवसर पारेर असोज २१ देखि फिल्म हल खोल्ने निर्णय गरेको हो। सरकारले यसअघि नै हल खोल्ने निर्णय दिए पनि नयाँ फिल्म नहुँदा हलहरू बन्द अवस्थामा नै थिए। 

असोज २१ देखि हल खुले पनि नेपाली फिल्म भने २५ देखि मात्रै प्रदर्शन हुने बताइएको छ। अहिलेसम्म दशैँको अवसर पारेर दुई फिल्मले प्रदर्शनको घोषणा गरेका छन्। जसमा २५ गते धन्दागिरी र २६ गते डाँडाको बरपिपल प्रदर्शनमा आउने बताइएको छ। घटस्थापनामा भने हलिउड फिल्म एफ-९ (फास्ट एण्ड फ्युरियस ९) प्रदर्शनमा आउने बताइएको छ। 

आइतबार बसेको बैठकमा पहिलो हप्ता ५५ प्रतिशत शेयर रकम निर्मातारवितरकलाई भुक्तानी गरिने, दोस्रो हप्तामा ५०र५० प्रतिशत हुने, नेपाली फिल्म प्रदर्शनमा आउने मितिमा विदेशी फिल्म प्रदर्शन नगर्ने जस्ता निर्णय गरेको छ। 

त्यस्तै, असोज २० गतेसम्ममा तीन महिनासम्म प्रदर्शनमा आउने फिल्मको प्रदर्शन मिति सार्वजनिक गरिने र पछिल्लो बैठकले गरेको निर्णय तिन महिनासम्म लागू हुने बताइएको छ। 

दशैँमा हल खुल्ने फिल्म लाग्ने पक्का भएसँगै डेढ वर्षदेखि निष्क्रिय जस्तो रहेको नेपाली फिल्म उद्योग पुनः चलायमान हुने अपेक्षा गरिएको छ। अब प्रदर्शनमा आउने फिल्म हेर्न कति दर्शक जान्छन् भन्ने चाहिँ फिल्म प्रदर्शनमा आइसकेपछि थाहा लाग्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.