|

सर्लाही : सर्लाहीको उत्तरी भेगमा पर्ने ईश्वरपुर–१२, कालिन्जोरमा महायज्ञ लगाएर संकलन भएको रकमले एम्बुलेन्स खरिद गरिएको छ। 

कालिन्जोरस्थित भीमेश्वर युवा क्लबले गत वर्ष लगाएको महायज्ञबाट संकलित करिब १३ लाख रुपियाँ लागतमा एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याएको हो।

यसअघि त्यस क्षेत्रका गर्भवती र अन्य विरामीलाई उपचारका लागि बाहिर लानुपर्दा बयलवास, रानीगन्ज, लालबन्दीलगायतका ठाउँबाट एम्बुलेन्स मगाउनुपर्ने बाध्यता रहेको थियो। अब स्थानीय बासिन्दाले गाउँकै एम्बुलेन्सबाट सेवा पाउने क्लबका अध्यक्ष हरिकुमार लुंगेलीले जानकारी दिए। उनले गाउँमै एम्बुलेन्स भएपछि जटिल अवस्थाका विरामीलाई तत्कालै सुविधा सम्पन्न अस्पतालसम्म पुर्‍याउन सहज हुने बताएका छन्।

सञ्चालनको सम्पूर्ण प्रक्रिया सकेर विरामी ओसारपसारका लागि एम्बुलेन्स स्वास्थ्यचौकी परिसरमा ल्याएर राखिएको क्लबका अध्यक्ष लुंगेलीले बताए। यसअघि एम्बुलेन्स नहुँदा कालिन्जोरका गर्भवती, सर्पदंशका विरामीलाई सार्वजनिक यातायातका साधनमा समेत राखेर अस्पतालसम्म पुर्‍याउने गरिएको थियो।

गाडी नै नचल्ने कालिन्जोरको उत्तरी चुरेभेगमा पर्ने पिपलदमार, लामिदमार, गुइडुङ, फूलजोरलगायतका क्षेत्रमा भने अझै पनि विरामीलाई झोलुङ्गोमा हालेर स्वास्थ्यचौकीसम्म ल्याउनुपर्ने बाध्यता छ। एम्बुलेन्स सञ्चालनमा आएपछि त्यस क्षेत्रका बासिन्दा खुसी भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.