हेटौंडा : बागमती प्रदेश देशकै पहिलो साक्षर प्रदेश घोषणा भएको छ। सोमबार बागमती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले देशकै पहिलो साक्षर प्रदेशको रुपमा घोषणा गरेकी हुन्।
साक्षर बागमती प्रदेश घोषणा २०७८ लेखिएको स्तम्भ सार्वजानिक गर्दै शाक्यले प्रदेशभर शिक्षाको अभियान चलाउनुका साथै साक्षर हुनुभन्दा साक्षरतामा निरन्तरता दिनु पर्नेमा जोड दिइन्।
२०७१ साल असार २ गते सिन्धुपाल्चोक जिल्लालाई साक्षर जिल्ला घोषणा गर्दै अभियान सुरु भएकोमा असोज ४ गते काठमाडौं जिल्लालाई साक्षर घोषणा गर्दै बागमती प्रदेशलाई साक्षर बनाएको जनाइएको छ। प्रदेशमा साक्षर घोषणा हुँदा १५–६० उमेर समूहका १६ लाख ३४ हजार १६७ निरक्षर मध्ये १५ लाख ८८ हजार ८२२ साक्षर भएका छन्।
जुन ९७.२२ प्रतिशत रहेको छ। प्रदेशमा अब ४५ हजार ३४५ जना निरक्षर रहेको शिक्षा विकास निर्देशनालयका निर्देशक चन्द्रप्रसाद लुइटेलले जानकारी दिए। उनले प्रदेशभित्र बसोबास गर्ने १५-६० उमेर समूहका व्यक्तिहरूको साक्षरता प्रतिशत ९५ वा सो भन्दामाथि भए पश्चात प्रदेश साक्षर घोषणा गर्न सकिने बताए।
प्रदेशका १३ जिल्लामध्ये ललितपुरमा सतप्रतिशत साक्षरता रहेको र कम साक्षरता दोलखा (९५.३७ प्रतिशत) रहेको छ। शिक्षा विकास निर्देशनालयका अनुसार धादिङमा (९८.४०), मकवानपुरमा (९८.९७), चितवनमा (९७.५०), नुवाकोट (९८.१९), भक्तपुरमा (९६.७०), रामेछापमा (९६.४०), सिन्धुलीमा (९९.१३), रसुवामा (९६.२९), काभ्रेपलान्चोकमा (९६.४८) काठमाडौंमा (९६.८८) र सिन्धुपाल्चोकमा (९७.६८) प्रतिशत साक्षरता रहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।