|

दाङ  :  तुलसीपुर उपमहानगरपालिका–१७ का रामकुमार घर्तीले तुलसीपुरमा पहिलो पटक बायोफ्लक प्रविधिबाट माछापालन गरेका छन्। पेशाले शिक्षक रामकुमारले गत चैतदेखि करिब १५ लाख रुपैयाँ लागतमा बायोफ्लक प्रविधिबाट माछापालन सुरु गरेका हुन्।

सामाजिक सञ्जालमा बायोफ्लक प्रविधिबाट माछा पालेको देखेपछि आफूले शिक्षण पेशासँगै माछापानलाई सहायक पेशाको रुपमा सुरु गरेको रामकुमारले बताए। उनका अनुसार यो प्रविधि इरान, इराक, इन्डोनेसिया हुँदै नेपालमा आइपुगेको हो। नेपालमा काठमाडौं, चितवन, बुटवलमा केही वर्ष पहिलेदेखि यो प्रविधिबाट माछा पालन सुरु गरिएको रामकुमारले बताए।

गाउँमा बाख्रा‚ भैँसीपालन गर्दै आए पनि माछापालन कमैले मात्र गरेकाले नयाँ प्रविधिबाट आफूले सुरु गरेको उनले बताए। ‘नयाँ प्रविधि भएका कारण यो ठाउँमा नयाँ काम शुरु गरौं भन्ने मनमा लागेपछि सुरु गरेको हुँ‚’ उनले भने‚ ‘युवाहरूले आफ्नै ठाउँमा केही गर्न सकिन्छ भनेर सन्देश दिन पनि खोजेको छु।’

रामकुमारले छवटा पोखरी बताएका छन्। तीमध्ये पाँचवटा पोखरीमा कमन कार्प र पंगासेरेस जातका आठ हजार माछा लगाएका छन्। एउटा पोखरी बिरामी माछाको उपचारका लागि राखेको उनले बताए। पोखरीमा लगाएका माछामध्ये करिब अढाइ सय माछा मरे। सुरुमा ज्ञान नहुँदा माछा मरेको उनको भनाइ छ।

माछा आधा किलोदेखि एक किलोसम्म भए बिक्री गर्न मिल्ने र यस प्रविधिको पोखरीमा वर्षमा दुई पटकसम्म माछा उत्पादन गर्न सकिने उनले बताए। पुस र माघमा जाडोले गर्दा माछाहरू वृद्धि नहुने भएकाले ती महिनामा माछा पाल्न नहुने उनको भनाइ छ।

‘ती महिनामा माछालाई तापक्रम बढाउन हिटर चलाउन सकिन्छ,’ उनले भने, ‘त्यसले गर्दा खर्च बढ्न सक्छ। त्यो भएर पुस र माघ महिना माछाका लागि अफ सिजन नै हो। माछालाई गर्मीमा भन्दा जाडोमा समस्या हुने गर्दछ। यो प्रविधिमा माछालाई २२ देखि ३५ डिग्री सम्म तापक्रम चाहिन्छ।’

बायोफ्लक प्रविधिबाट माछा पाल्दा दान काम लाग्ने, पानी र जमिन कम लाग्ने रामकुमारको भनाइ छ। यो प्रविधिबाट माछा पाल्दा विद्युत् २४ सै घण्टा आवश्यक पर्दछ।

घोराही उपमहानगरपालिका–१७ मा पनि बायोफ्लक प्रविधिबाट माछा पालन सुरु गरिएको छ। गत वर्षको असारदेखि बायोफ्लक प्रविधिबाट माछा पालन सुरु गरिएको डायनामिक मल्टि विजनेश दाङका अध्यक्ष मोहन केसीले बताए। आफूहरुले यो प्रविधि युट्युबमा देखेर परीक्षणका रुपमा सुरु गरेको उनको भनाइ छ। यो प्रविधिबाट थोरै पानी भएको ठाउँका धेरै माछा पाल्न सकिने भएकाले पनि राम्रो लागेको उनको भनाइ छ।

 ‘करिब एक कठ्ठा पोखरीमा करिब ५०० माछा राख्न मिल्छ। ठाउँ सानो भए पनि धेरै माछा पाल्न सकिन्छ। घरको छतमा पनि पाल्न मिल्छ‚’ केसीले भने‚ ‘त्यस्तै पोखरीका माछालाई भन्दा यो प्रविधिबाट पालिएको माछालाई करिब ३० प्रतिशत दाना कम लाग्छ।’

के हो बायोफ्लक प्रविधि?

जमिनको सतहभन्दा माथि ट्यांकी निर्माण गरेर माछापालन गर्ने प्रविधि बायोफ्लक  हो। इँटा वा तारपोलिङबाट पोखरी निर्माण गर्न सकिन्छ। पानीमा सूक्ष्म जीव (ब्याक्टेरिया) उत्पादन गरी माछालाई बाँच्न मिल्ने वातावरण यो प्रविधिमार्फत तयार गरिन्छ। बायोफ्लक प्रविधिबाट माछापालन गर्न एरियसन पम्प, पानीको प्यारामिटर नाप्ने उपकरण आवश्यक पर्दछ।

ट्यांकी निर्माण गरेर माछा हालेपछि यस्ता उपकरण अनिवार्य राख्नुपर्छ। यो प्रविधिमा पानी दैनिक रुपमा परिवर्तन गर्नु पर्दछ। पानीको स्रोत कम भएको ठाउँमा पनि यो प्रविधिबाट माछा पाल्न सकिन्छ। यो प्रविधिमा ब्याक्टेरिया हुर्काउन पर्ने, पानीमा विभिन्न तत्त्वको मात्रा मिलाइरहनुपर्ने हुनाले प्राविधिक ज्ञान आवश्यक पर्छ। यसमा विशेष गरेर विद्युत् लगातार आवश्यक हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.