|

काठमाडौं : दशैँमा घर जानेहरूका लागि हिजाे (सोमबार)बाट अग्रिम टिकट बुकिङ खुला भएको छ। काठमाडौंमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरू दशैँ मनाउन आ-आफ्नो घर जाने गर्दछन्। 

काेराेनाले गर्दा गत वर्षभन्दा यस वर्ष जनजीवन सामान्य बन्दै गएको छ। यतिबेला धेरै गाउँ जाने भएकाले टिकट काउन्टरमा भीडभाड हुने यातायात व्यवसायीहरूले अपेक्षा लिएका थिए। तर काउन्टर खाली छन्। यात्रुहरू टिकट काट्न नै नजाने गरेको यातायात व्यवसायी बताउँछन्। 

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले दशैँको टिकट बुकिङ गर्ने मान्छेहरू नै नरहेको बताए। ‘हिजोबाट टिकट बुकिङ खुलेपनि काट्न आउने मान्छेहरू नै छैनन्,’ उनले भने, ‘फाट्टफुट्ट मात्रै मान्छेहरू टिकट काट्न आएका छन्।’

कोभिड-१९ का कारण स्कुल बन्द भएकाले केही दिन अघि नै अभिभावक छोराछोरी लिएर उपत्यका छाडेकाले चाप नभएको हुनसक्ने उनले बताए। उनले भने, ‘कोरोनाले कतिपय खर्च नभएकाले गाउँ जाने मनसाय पनि नबनाएका होलान्, उपत्यकामा केही ठाउँमा विद्यालय खुलेका छन्,अझै स्कुलले बिदा नदिएकाले अझै टिकट नलिएको पनि हुन सक्छ।’

काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्कमा ‘टिकट काउन्टर’ थप गरेको छ। प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लका अनुसार अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा ११ टिकट काउन्टर थप गरिएको छ। सोही ठाउँको ३२ टिकट काउन्टरमार्फत कम्प्युटर प्रणालीबाट यात्रुलाई बस टिकट प्रदान गर्दै आएको छ।

सरकारले प्रचारप्रसार गरेन

सरकारले असोज ११ गतेबाटै दशैँमा घर जानेहरूका लागि अनलाइन प्रणालीबाट टिकट काट्न सकिने व्यवस्था गरेको जनाएको छ। यातायात व्यवस्था विभागका अनुसार अनलाइनबाट टिकट काट्नेलाई एक बोतल खानेपानी पनि सित्तैमा पाइने छ। तर अनलाइनबाट टिकट काट्ने बारे प्रचारप्रसार नहुँदा खासै अनलाइन टिकट काट्ने व्यक्ति नपाएको यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सिटौलाले बताए। 

‘सरकारले अनलाइनबाट टिकट काट्न सकिने मात्रै भन्यो, केही प्रचारप्रसार नै गरिदिदैन, त्यसैले अनलाइनबारे अधिकांशलाई थाहा नै छैन, अनि कसरी सेवा लिन्छन् यात्रुहरू ?,’ उनले भने। 

उनका अनुसार नयाँ बसपार्कमा रहेको धौलागिरी प्रालिलगायत टिकट काउण्टरको वेबसाइटजस्ता माध्यममा गई अनलाइन टिकट काट्न सकिने छ। उनले अहिलेसम्म कति जनाले अनलाइन टिकट काटेको र दशैँको लागि अग्रिम टिकट बुकिङ गरेको भन्ने तथ्यांक एकिन नभएकाे जानकारी दिए। 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको जनाएको छ। कोभिड-१९  महामारीभन्दा अगाडि दशैँमा करिब २१ लाख यात्रुले उपत्यका छाड्ने गरेका थिए । तर कोभिड संक्रमण फैलिएपछि गत वर्ष उपत्यका छाड्नेको संख्या निकै घटेको थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.