|

काठमाडौं : कोरोना महामारीका कारण १ वर्ष ढिला भएको एभरेस्ट प्रिमियर लिग (इपिएल) पुनः एकपटक वर्षाको चपेटामा परेको छ। केही दिनयता काठमाडौंको मौसममा आएको गडबडीको सिकार इपिएल भएको हो।

इपिएलअन्तर्गत मंगलबार काठमाडौं किङ्स ११ र पोखरा राइनोजबीचको खेलमा पनि वर्षा बाधक भएसँगै वर्षाले लगातार चौथो खेल अवरोध गरेको हो।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार रातभर भएको वर्षाले मैदान खेल्न नमिल्ने भएको थियो। जसका कारण निर्धारित समयमा खेल सुरु हुन सकेन। साथै मंगलबार दिउँसो समेत वर्षा भएपछि खेल स्थगित गरिएको हो।

काठमाडौंमा आइतबारबाट लगातार वर्षा हुँदा इपिएल प्रभावित हुँदै आएको छ। यसअघि आइतबारको दोस्रो खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको पोखराले १०.१ ओभरमा ६५-७ को अवस्थामा रहँदा ठूलो वर्षा भएपछि अंक बाँडिएको थियो। त्यसयता कुनै पनि खेल हुन सकेको छैन।

सोमबारका लागि तय भएको पहिलो खेलमा भैरहवा र काठमाडौंबीचको खेल गिलो मैदानका कारण सम्भव भएन। दोस्रो खेल भने वर्षा भएपछि रद्द गरियो।

दोस्रो खेलमा भैरहवा ग्लाडिएटर्स र चितवन टाइगर्सबीच खेल हुने कार्यतालिका रहेको थियो। मंगलबार एक खेल खेलाउने कार्यतालिका रहे पनि वर्षाका कारण रोकियो।

जारी लिगमा दुई खेल मात्र राम्रोसँग सम्पन्न भएका छन्। पहिलो खेलमा काठमाडौंले ललितपुरलाई ७ विकेटले हराएको थियो भने प्रतियोगिताको दोस्रो खेलमा चितवनले विराटनगरमाथि २ विकेटको जित निकालेको थियो। त्यसयताका ४ खेलमा वर्षा बाधक हुँदा तीन खेलमा टस समेत हुन सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.