|

काठमाडौं : नेपालमा हिपहप भित्रिएको झण्डै तीन दशकपछि यसको लोकप्रियता चुलिँदै गएको छ। विशेषगरी युवापुस्ताले मन पराउने र्‍यापमा सक्रिय सर्जक पनि यही पुस्ताका छन्।

गिरीश खतिवडा, यमबुद्ध, प्रनिललगायत र्‍यापर नेपाली र्‍याप संगीतको सुरुवाती चरणका कलाकार हुन्। कुनै समय एउटा र्‍याप गीत सुन्न महिनौं कुर्नुपर्ने हुन्थ्यो भने पछिल्लो समय हरेक साता नयाँ नयाँ र्‍याप गीत चर्चामा आइरहेका हुन्छन्। 

पछिल्लो साता दुइटा र्‍याप चर्चामा छन्। ती हुन् शब्दजालको 'वार्तालाप' र पश्चिमेको 'महेन्द्रनगर'। 

६० हजार पटक हेरिएको र्‍याप

सामाजिक मुद्दालाई र्‍यापमार्फत प्रस्तुत गर्न रुचाउने शब्दजालको वार्तालापमा बाबु र छोराको वार्तालाप छ। हिपहप कल्चर भन्दै कुलतमा फसेको छोरा र आफ्नो छोरालाई सम्झाउँदै गरेको बाबुको वार्तालाप र्‍यापबाट नै देखाइएको छ।

दुई दिनअघि सार्वजनिक भएको यो गीतलाई युट्युबमा ६० हजारभन्दा बढी पटक हेरिएको छ भने यसको चर्चा सामाजिक सञ्जालमा पनि उत्तिकै छ। 

यसअघि शब्दजालको 'रामनारायण यादम' बोलको गीत सार्वजनिक भएको थियो जसमा मधेशी मूलका युवाले राजधानीमा भोग्नुपरेको समस्या देर्शाइएको थियो। त्योबाहेक उनका 'आमालाई फोन', 'भिआइपी सवारी' लगायत गीत पनि चर्चित छन्। 

त्यस्तै, यतिबेला सामाजिक सञ्जालमा चर्चित अर्को गीत हो 'महेन्द्रनगर'। पश्चिमे नामका र्‍यापरको "महेन्द्रनगर' गीतलाई उनको 'इन्ट्रो' गीत पनि मान्न सकिन्छ।

यसअघि केही अरु कलाकारसँग सहकार्य गरेर गीत निकाले पनि उनी धेरै दर्शकमाझ पुगेका थिएनन्। उनले महेन्द्रनगरमा हिपहप शैलीमै आफ्नो परिचय दिएका छन्। 

सडक र गल्लीको संगीत भनेर चिनिने यस विधामा अधिकांश कलाकारले आफ्नो असन्तुष्टी गीतमार्फत पोख्ने गर्छन्। पश्चिमेको महेन्द्रनगरलाई युट्युबमा २० हजार पटक हेरिसकिएको छ भने सामाजिक सञ्जालमा पनि लाखौंले हेरिसकेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.