|
सबैला नगरपालिका–४ का वडाध्यक्ष कुशेश्वर ठाकुर। तस्वीर सौजन्य : कुशेश्वर ठाकुरको फेसबुक

जनकपुरधाम : हत्या आरोपमा धनुषाका एक वडाध्यक्ष पक्राउ परेका छन्।

सडक विस्तारका क्रममा भएको विवादमा सबैला नगरपालिका–४ का स्थानीय सुमित्रादेवी यादवको कुटपिट गरी हत्या गरेको आरोपमा वडा नम्बर ४ का अध्यक्ष कुशेश्वर ठाकुरलाई इलाका प्रहरी कार्यालय सबैलाले पक्राउ गरेको हो। उनलाई पथलाका नामले पनि चिनिन्छ।  

धनुषाको सबैला नगरपालिका–४ मा ०७७ वैशाख २३ गते सडक विस्तारका क्रममा झडप हुँदा सुमित्रादेवीको हत्या आरोपमा वडाध्यक्ष ठाकुर पक्राउ परेका हुन्।

सडक विस्तारका क्रममा भएको विवादमा दोहोरो झडप हुँदा सिकिस्त सुमित्रादेवीको उपचार गर्दागर्दै विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो।

झडपमा रामचन्द्र बिराजी, रितिक यादव, दिपक यादव र रञ्जित यादवसमेत सिकिस्त भएका थिए। सुमित्रादेवीको मृत्यु भएपछि उनका परिवारले वडाध्यक्ष ठाकुरसहित १० जनाविरुद्ध कर्तव्य ज्यान मार्ने उद्योगमा जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएका थिए।

मोरङ प्रहरीले जाहेरी इलाका प्रहरी कार्यालय सबैलालाई जेठ १६ मा पठाएको थियो।

पक्राउ वडाध्यक्ष ठाकुरका छोरा पुरन शर्माले झडपमा बुवाको संलग्नता नरहेको भएपनि घटनाको अनुसन्धान गर्न सहज बनाउन आफैंले सरकारी वकिलमार्फत गिरफ्तारी दिएको बताएका छन्।

वडाध्यक्ष ठाकुरलाई सातदिने म्याद थपेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय सबैलाका इन्स्पेक्टर राजेश सिग्देलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.