|

काभ्रेपलाञ्चोक : यहाँका दुई नगरपालिका र चार गाउँपालिका कोरोना संक्रमणमुक्त भएका छन्। अन्य स्थानीय तहमा पनि पछिल्लो केही दिनदेखि संक्रमणमुक्त हुनेको संख्या भने बढिरहेको तथ्यांकले देखाएको छ।

संक्रमणमुक्त हुनेमा मण्डनदेउपुर र नमोबुद्ध नगरपालिका तथा चौँरीदेउराली, रोशी, तेमाल र खानीखोला गाउँपालिका छन्। भुम्लु र महाभारत गाउँपालिकामा एक एक संक्रमित रहेको जिल्लास्थित कोभिड १९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी)ले जनाएको छ। केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ११ जनामा कोरोना संक्रमण देखिएको छ भने २२ संक्रमणमुक्त भएका हुन्।

सोमबार नौ संक्रमित थपिए भने २० संक्रमणमुक्त भएका छन्। चौंरीदेउराली, रोशी, तेमाल र खानीखोला गाउँपालिका भने केही हप्तादेखि संक्रमणमुक्त भएका हुन्। जिल्लामा हाल ७४ सक्रिय संक्रमितमध्ये बनेपामा २६, पाँचखालमा आठ, धुलिखेलमा २२, पनौती नगरपालिकामा छ तथा बेथानचोक गाउँपालिकामा १० संक्रमित रहेको केन्द्रले जनाएको छ।

केन्द्रअनुसार यसअघि केही दिनको केन्द्रको तथ्यांकले संक्रमणदर भन्दा संक्रमणमुक्तदर अधिक रहेको देखाएको हो। जिल्लामा हालसम्म १४ हजार ५७० मा संक्रमण देखिएकामा १९२ को मृत्यु भएको छ। गत भदौ महिनायता नगन्यदरमा संक्रमितको मृत्युका घटना भएको केन्द्रको तथ्यांकले देखाएको छ। हालसम्मका कुल संक्रमितमध्ये ९८ दशमलव १७ प्रतिशत अर्थात् १४ हजार ३०४ संक्रमणमुक्त भइसकेका छन्।

संक्रमणको दोस्रो लहर सुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो। जिल्ला प्रशासन कार्यालयले जिल्लामा पछिल्ला केही हप्तादेखि यही असोज ५ गतेसम्म ‘मिक्स लकडाउन’ गर्दै आएको थियो। कोरोना संक्रमणदर बढ्दै गएपछि गत जेठमा विभिन्न मितिमा आठ स्थानीय तहले ‘सिल’समेत गर्नुपरेको थियो।

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.