|
तस्वीर : तुफान

काठमाडौं : सुलक्षण भारती नेपाली रंगमञ्चमा एउटा चर्चित नाम हो। झण्डै दुई दशकदेखि रंगकर्ममा सक्रिय सुलक्षणले पुरानो घरबाट नयाँ यात्राको सुरुवात गरेका छन्।

यतिवेला उनको परिकल्पनामा बनेको नाटकघरमा उनकै परिकल्पना, लेखन, निर्देशन तथा अभिनय रहेको नाटक 'म' मञ्चन भइरहको छ। दुई वर्षअघि नै बनेको नाटकघरमा विभिन्न कारणले नाटक मञ्चन हुन सकेको थिएन। नाटक 'म' को मञ्चनसँगै पुरानो घर थिएटर र सुलक्षणले नयाँ यात्राका लागि पाइला सारेका छन्। 

आफूलाई कम्फर्ट जोनबाट निकालेर नयाँ चुनौती दिइराख्न मन पराउने उनी आफ्ना हरेक नाटकमा फरक स्वाद पस्किउ भन्ने प्रयासमा रहन्छन्। उनले 'म'मा पनि त्यही कोशिस गरेका छन्। 

'मैले एउटा नाटक गरेको थिएँ, 'सलेदो'। त्यो चलोस्, हिट हुनुपर्छ, पैसा कमाउनुपर्छ भनेर गरेको नाटक हो। तर यो चल्नुपर्छ, पैसा कमाउनुपर्छ भनेर गरेको नाटक होइन। त्यसैले हेर्ने जति सबैलाई यो नाटक मन नपर्न पनि सक्छ।' उनी भन्छन्, 'पुरानो घरमा मञ्चन भएको पहिलो नाटक 'म' हो। पहिलो कुराले धेरै अर्थ राख्छ। हँसाउने, रुवाउने बाहेक मसँग यो पनि छ है। म यसरी पनि नाटकलाई सोच्छु, हेर्छु है भनेर देखाउनका लागि पनि यो नाटक गरेको हुँ। 'म' नभएको भए पहिलो नाटक यस्तै कुनै हुन्थ्यो होला।'

नाटक दोस्रो हप्तामा प्रवेश गर्दैगर्दा दर्शकको मिश्रित प्रतिक्रिया मिलेको सुलक्षण बताउँछन्। उनी भन्छन्, 'यो नाटक हेरेर दश मिनेटसम्म यहीँ रुँदै बस्ने दर्शक पनि छन्। नाटक हेरेर के हेरेँ के हेरेँ जस्तो लाग्ने अथवा बेकार हेरेछु जस्तो लाग्ने दर्शक पनि होलान्।'

उनी यो नाटकलाई ऐना भन्न रुचाउँछन्। उनी भन्छन्, 'हामी सबै केही न केही घमण्ड लिएर बाँचिरहेका हुन्छौँ। म केही घमण्ड लिएर बाँचेको हुन्छु, तपाईं केही घमण्ड लिएर बाँच्नुहुन्छ होला। घमण्ड मात्र नभएर सबै कुरा। यो नाटकले दर्शकलाई ऐना देखाउने काम गर्छ होला ।' 

यो झुण्ड्याइएको ऐनाले पनि त्यस्तै केही भन्न खोजेको हो? म सोध्छु। उनी भन्छन्, 'यसलाई त्यतिमा सीमित गर्नु हुँदैन। नाटकमा यो ऐनालाई धेरै तरिकाले व्याख्या गरिएको छ। घरी यो ऐनालाई सम्बन्ध भनिएको छ। घरी समय भनिएको छ। घरी अपरिवर्तित झ्याल भनिएको छ। यही हो भनेर म पनि भन्न सक्दिनँ। यो भन्ने काम क्रिटिक्सको हो। विदेशमा त्यो चलन छ तर हाम्रोमा छैन। यही नाटकको हेर्नुस् समाचार आइरहेको छ तर समीक्षा आएको छैन। यो समाचार आओस् भनेर गरेको नाटक होइन। समीक्षा होस् भनेर गरेको हुँ। 

यही नाटक कुनै विदेशीले लेखेको भए के के न हुन्थ्यो। हामी नेपाली लेखकलाई वास्ता गर्दैनौँ। नराम्रो छ भने नराम्रो भन तर समीक्षा गर। यो नाटक त्यत्तिका लागि गरेको हुँ तर त्यही भएन।'

विश्वले ठूला ठूला घटनाको सामना गरेपछि सिर्जनामा नयाँ प्रयोग हुने, नयाँ धार भित्रने गरेको उदाहरण दिँदै उनी भन्छन्, 'दोस्रो विश्वयुद्धपछि जतिबेला युद्धका घाउ आलै थिए त्यतिबेला नाटकमा अब्सर्डिजम भित्रियो। एक्जिस्टालिजम पनि त्यही बेला आयो। अहिले पनि कलेजहरूमा पढाइ हुन्छ। तर यो महामारीपछि हामीले गरेकाे यो नाटक त्यसरी कसैले पनि सोचिदिएन। 

मसँग मेरै पुराना नाटकहरू थिए जुन मञ्चन गरेको भए दर्शक पनि आउँथे, नाटकले राम्रो कमाइ पनि गर्थ्याे। त्यो नगरेर मैले किन यो नाटक गरेँ?' उनी प्रश्न गर्छन्, 'मैले यो नाटक किन लेखेँ होला? किन यसरी डिजाइन गरेँ होला? यो नाटकका बारेमा सोच्नुपर्ने कुरा धेरै छन्।' 

आफू नाटकको लेखक, निर्देशक र कलाकार समेत भए पनि नाटक कुन धारको हो भन्ने कुरा थाहा नभएको सुलक्षण बताउँछन्। 'अब एक्जिस्टेन्सियल भन्ने कि, एक्सपेरिमेन्टल भन्ने कि, एक्सप्रेसनालिज्म भन्ने कि, राइटर आफैंलाई थाहा छैन। यसो हेर्छु एक्जिस्टेन्सियल जस्तो पनि लाग्छ। घरी घरी त मलाई एब्सर्ड पनि लाग्छ। यी सेटहरू सबै हेर्दा प्रयोगात्मक हो कि जस्तो पनि लाग्छ।' 

सुलक्षण गुनासो जस्तै केही पोख्छन्, 'यो नाटक के हो भनेर भनिदिने मान्छे पनि छैन। भनिदिने मान्छे छैन, लेखिदिने मान्छे छैन। अरू केही नभए पनि नाटकका एकदुई वटा समीक्षा पढ्न पाए पनि मनमा शान्ति हुन्थ्यो। त्यो पनि छैन।' 

'मैले यो नाटक लेख्दा सोचेको थिएँ, के सोच्छ होला मान्छेले यो नाटकलाई? कसरी हेर्छ होला? यो नाटकलाई एउटा तरिकाले हेर्न मिल्दैन जस्तो लाग्छ।' उनी भन्छन्, लेखन, निर्देशन छोडेर अभिनयको पाटो फेरि भिन्दै छ। कसरी पात्रहरू जोडिएका छन्। अरू थुप्रै पात्रहरूमध्ये तिनै पात्रहरू किन आए? सोच्नुपर्ने कुरा यहाँ पनि छ।'

लेखक, निर्देशक तथा कलाकार बाहेक एउटा दर्शक भएर हेर्दा आफूलाई 'म' एउटा हेर्नुपर्ने राम्रो नाटक जस्ताे लाग्ने उनी बताउँछन्। उनी भन्छन्, 'यो नाटक नराम्रो छैन। हामीले हेर्दै आएका, गर्दै आएका नाटकभन्दा फरक छ। सबै दर्शकलाई मन पर्दैन। हामीले बनाउँदा सबै दर्शकलाई मनपर्छ भनेर बनाएको नाटक पनि होइन। यसले हसाउँदैन, रुवाउँदैन। प्रश्न गर्छ। जीवन दर्शनको कुरा गर्छ। अनि आजकल मान्छेलाई दर्शनका कुरा सुन्नु छैन।' 

फेरि सर्जक भएर सोच्दा उनलाई आफ्नो नाटकको बारेमा त्यति धेरै कुरा भन्ने हैसियत राख्दिनँ जस्तो लाग्छ। उनी भन्छन्, 'थाहा छैन‚ छैन यो कस्तो नाटक हो। यो समीक्षकले भनिदिने कुरा हो। एउटा नाटककारले आफ्नो नाटक यो हो भन्ने हैसियत राख्दैन।' 

उनलाई आफ्नो नाटक निश्चित एउटा वर्गले मात्र मन पराउँछन् जस्तो लाग्छ। उनी भन्छन्, 'बोक्सीको घर धेरैलाई मन परेको नाटक हो तर त्यसको विरोध गर्ने मान्छे पनि धेरै थिए। ज-जसले मलाई फेमिनिस्ट भन्छन्, उनीहरूले मेरो विरोध गरिरहेका छन्। म फेमिनिस्ट होइन नि त। म कुनै पनि वादमा विश्वास गर्दिनँ। सहीलाई सही गलतलाई गलत भन्नुपर्छ जस्तो लाग्छ।'

कुनै नाटक गर्दा धेरै दर्शकले कस्तो नाटक हेर्छन् भन्ने कुरालाई प्राथमिकता दिइयो? प्रश्नको सार बुझेर उनी भन्छन्, 'व्यापारिक हिसाबले पनि सोच्नुपर्छ। यो व्यापार पनि हो नि त। यसले धेरैजनाको पेट पाल्नु पनि पर्छ।' अहिले नाटक चल्दैन भन्ने थाहा हुँदाहुँदै पनि गरिने फरक स्वादका नाटक पनि व्यावसायिक रूपमा सफल हुने दिन आउनेमा उनी आशावादी छन्। उनी भन्छन्, 'पछिल्ला समय मेरा दुईवटा नाटक चलेनन्। एउटा 'तीनकुने' चलेन अर्को यो। एक दिन यो घर चल्छ अनि यी नाटक फेरि गर्छु।'

नियमित नाटक हेर्ने दर्शक कम हुँदा पनि कस्ता नाटक चल्छन्, कस्ता नाटक चल्दैनन् भन्ने कुराको पूर्वानुमान गर्न गाह्रो हुने उनको भनाइ छ। 'हाम्रोमा आउने भनेका पढेलेखेका टाठाबाठा मान्छे हुन्। ती मान्छेहरू हरेक वर्ष विदेश गइरहेका छन्। त्यो भएर पनि हामीसँग रिपिटेड दर्शक कम छन्।' उनी भन्छन्, 'नाटक घरभित्र पनि स्वस्थ प्रतिस्पर्धा भइदिए, एक अर्काको नाटक हेरेर कमी कमजोरी पहिल्याइदिए मजा आउँथ्यो, यो क्षेत्र नै माथि उठ्थ्यो। त्यस्तो छैन। यहाँ अस्वस्थ प्रतिस्पर्धा छ। थिएटर भित्रै इगो छ। पहिलेको जस्तो वातावरण छैन।' 

अनि एक अर्काको नाटक हर्ने कमी कमजोरी पहिल्याइदिने संस्कार आउँछ कि आउँदैन होला हाम्रोमा? भन्ने प्रश्नमा उनी भन्छन्, 'आउँछ। बिस्तारै आउँछ।' 

म अर्को प्रश्न गर्छु, अनि दर्शक एकदमै कम हुनुले प्रस्तुतिमा फरक पर्छ कि पर्दैन? उनी भन्छन्, 'पर्दैन। मैले साथीहरूलाई एकजना पनि दर्शक आए भने नाटक देखाउने भनेको छु। एकजना पनि आएनन् भने त अर्कै कुरा भयो तर एकजना मात्रै पनि आए भने म देखाउँछु। त्यति इनर्जी छ अझैसम्म। मेरो काम नै यही हो।' 

कहिलेकाहीँ अरू कुनै देशमा जन्मिएको भए हुने जस्तो लाग्दैन? भनेर सोध्दा उनको जवाफ हुन्छ, 'त्यस्तो त अब सबैलाई लाग्छ होला हौ, नेपालमा जन्मिएपछि। यहाँ होटल खोल्नभन्दा विदेशमा होटल खोल्न ठिक। पढाइदेखि लिएर सबै थोक उता सिस्टमेटिक हुन्छ। हाम्रो बिजोग छ। 

नाटकघरका लागि सरकारले २० लाख, २५ लाख अनुदान दिइराख्छ। त्यहाँ पनि कस्तो छ फेरि, म कसैको पार्टीको झण्डा नउठाउने भनेर बसेको मान्छे। त्यसो भएपछि अनुदान पनि आउँदैन। 

एकचोटी रवीन्द्र अधिकारीसँग भेट भएको थियो, उहाँ मन्त्री हुँदा। के पर्छ भन्नु म तपाईंलाई सहयोग गर्छु भन्नुभएको थियो। पछि बितेर जानुभयो। उहाँ गएपछि पनि अनुदानको कुरा भएको थियो। सरकारले २० लाख रुपैयाँ दिने रहेछ‚ हाम्रो हातमा १३ लाख कि १४ लाख पर्ने रहेछ। त्यो ६, ७ लाखको हिसाब दिनुहुन्न भने म अनुदान लिन्नँ भनेँ। लिइनँ। यस्तो छ देशको हालत।'

जे कुरामा चित्त नबुझेर आफूले नाटक गरिन्छ, नाटक गर्नका लागि त्यही कुरा गर्नुपर्ने अवस्थाबारे बताउँदै उनी भन्छन्, 'केही नेताहरू आउनुहुन्छ हाम्रो पार्टीमा आउनुस् भन्दै। त्यसो गर्नेबित्तिकै यो नाटकको संवाद बोलेको कुनै अर्थ रहँदैन। त्यसो गरेपछि मञ्चमा चे ग्वेभारा कसरी बन्ने?' 

भोलि कुनै न कुनै दिन म आफैंले विदेशी आइएनजिओहरूसँग काम गर्नुपर्ने दिन नआउला भन्न सकिँदैन। यस्ता विदेशी संस्थाहरूसँग काम गर्नु भनेको हाम्रो कला संस्कृतिलाई मार्नु हो। मलाई त्यस्तो लाग्छ। यो सरकारले बुझ्नुपर्ने कुरा हो।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.