|

हेटौंडा : उत्तरी मकवानपुर थाहानगरपालिका–६ का ७२ वर्षीय जयराम श्रेष्ठ बिहान सबेरै उठ्छन्। उठ्ने बितिक्कै उनलाई काममा जान हतार हुन्छ। बिहानको झिसमिसेमा नै काममा निस्कने उनी झमक्क साँझ परेपछि मात्रै फर्कन्छन्।

जीवनको सम्पूर्ण कालखण्ड ज्याला मजदुरी गरेर बिताएका उनी बुढेसकालमा बाउ बाजेको बिँडो समाइरहेका छन्। जयरामको दैनिकी अचेल पानी घट्ट चलाएर बित्छ। जीवनयापन गर्नको लागि उनले यतिका वर्षसम्म गरेको संघर्षले त्यति सन्तुष्टि दिएको थिएन, जति सन्तुष्टि उनले अहिले पानी घट्ट चलाउँदा पाइरहेका छन्। उनी भन्छन्, ‘बाउ बाजेले जीवनभर गरेको काम र इतिहासमै लोप हुन लागेको कुराको संरक्षण गर्दाको सन्तुष्टि अर्कै हुने रहेछ।’ 

 बाजेले चलाउँदै आएको पानी घट्ट बाजेको सेखपछि उनका बाले चलाए। बाको सेखपछि जयरामको दाइले पनि पानी घट्टबाटै आफ्नो जीवन चलाए। पानी घट्ट चलाएरै उनले पनि संसारबाट बिदा लिए।

त्यसपछि आफ्नो पुर्खाले गर्दै आएको कामको संरक्षण गर्ने जिम्मा जयरामको काँधमा आइपुगेको थियो। तर पछिल्लो समय आधुनिकतासँगै आएको विभिन्न प्रविधिले पानी घट्ट लोप हुदै गएको थियो। 

त्यसमाथि पनि २०५० सालमा आएको बाढीले घट्टमा ठुलो क्षति पुर्‍याएपछि उनले घट्ट सञ्चालनमा ल्याउन सकेका थिएनन्। घट्ट चलाउने ताकत पनि नभएकोले आफूले दाइको सेखपछि पुर्खाको कामलाई निरन्तरा दिन नसकेको उनी बताउँछन्। तर गत वर्ष भने उनलाई आफूले बाउबाजेले गरेको कामको संरक्षण गर्न नसकेकोमा निकै दु:ख लाग्यो। 

बुढेसकालमा उनले आफूले खाने खानामा घट्टमा पिनेको अन्नको स्वाद खोज्न थाले। त्यसपछि उनलाई बाउबाजेको काम र नेपालको परम्पराको संरक्षण गर्नुपर्छ भन्ने लाग्यो। 

गत वर्षको भदौमा २७ वर्षदेखि क्षतविक्षत भएर बसेको घट्टको मर्मत गरेर सञ्चालन गर्न जयराम तात्तिए। उनले घट्ट बनाएर सञ्चालन गर्छु भन्दा घरमा छोराछोरीबाट त गाली पाए नै समाजबाट उनलाई बुढेसकालमा जानी जानी दुख बिसाउन लागेको भन्दै विभिन्न कुरा आयो। तर जयरामलाई कुनै पनि हालतमा घट्ट चलाउनु थियो। 

उनले वडाअध्यक्षसँग पनि कुरा गरे। जयरामले परापूर्वकालमा चलेको घट्ट लोप हुन लागेको भन्दै आफूले यसको संरक्षण गर्न चाहको बताएपछि वडा कार्यालयबाट उनलाई घट्ट मर्मत गर्न ७५ हजार सहयोग मिल्यो।

त्यसपछि उनले आफ्नो छोरा र ७ छोरीसँग सहयोग मागेर पाँच लाख रुपैयाँमा घट्ट निर्माण गरे। ‘घट्ट बनाएर चलाउँछु भन्दा छोराले धेरै गाली गरेको थियो। तर मैले जिद्वि गरेपछि यसको निर्माणको लागि पनि लगानी गरिदियो, गत माघदेखि यही घट्टमा मेरो दैनिकी बितिरहेको छ, ’उनले भने। 

उनलाई सो घट्ट निर्माण गर्न साढे पाँच महिना लाग्यो। ढुंगा फुटाएर घट्ट बनाउनेदेखि घरबाट घट्ट पुग्ने बाटो बनाउनेसम्मको काम उनले गरे। उनको घरबाट घट्ट पुग्न करिव २५ मिनेट लाग्छ। बिहान साढे ५ बजे उठेर जयराम घट्टतिर लाग्छन्। 

अन्न पिन्ने ग्राहक आए भोकभोकै पनि उनी दिनभर घट्टमै समय बिताइदिन्छन् तर कोही नआएको बेलामा भने उनी खाना खानको लागि घर पुग्छन् र फेरि घट्ट नै फर्कन्छन्।  छेउमै सुस्ताइरहेको खोला र भीर अचेल उनको साथी बनेका छन्। उनलाई घट्टमा बग्ने खोला र भीरपाखा आफ्नो बाउबाजे जस्तै लाग्छ। 

 वर्षौपछि गाउँमा पुराने घट्ट सञ्चालन गर्दा पनि त्यति ग्राहक नआएकोमा भने उनी दु:खी छन्। उनलाई ग्राहक आउलान् र पैसा कमाउला भन्ने फिटिक्कै छैन। ‘मैले यो पैसा कमाउनको लागि सञ्चालन गरेको होइन। पहिला घट्टमा पिसेको अन्न साग र सिस्नुसँग खाएर सर्यौ वर्षसम्म मान्छे बाच्थे तर अहिले अनेकथरि खाएर मान्छे चाँडै मर्छन्। घट्टमा पिँधेको अन्न स्वास्थ्यको लागि धेरै राम्रो हुन्छ फेरि स्वादिष्ट पनि उतिक्कै हुन्छ,’उनले भने। 

मिलमा अन्न पिसेमा तातो हुने हुनाले स्वाद हराउने र अन्नको पौष्टिक तत्व पनि हराउने उनको भनाइ छ। जयरामका अनुसार घट्टमा पिसेको अन्न चिसो हुने हुँदा स्वाद र पौष्टिक तत्व दुवै हुन्छ। तर पछिल्लो समय एउटै वडामा ४-५ वटा मिल हुनु र अन्य विविध नयाँ प्रविधि आउनाले घट्टमा खासै चासो नभएको उनी दुखेसो गर्छन्। 

जयरामले घट्टमा फापर, कोदो, मकै, मसला र दालजस्ता अन्न पिस्ने गर्छन्। ६-७ पाथी पिस्दा आफूले ४ माना ज्याला राख्ने गरेको उनले बताए। यसो गर्दा बाउबाजेको र नेपालको पुरानो प्रचलनको संरक्षण पनि हुने र बुढेसकालमा आफूले आफैँलाई पाल्न सक्ने उनको भनाइ छ। 

जयरामलाई आफ्नो सेखपछि छोराले घट्ट नचलाउने अहिले नै प्रष्ट थाहा छ। तर उनलाई आफ्नो मृत्युपछि पनि घट्ट चलिरहोस् भन्ने छ।  ‘मलाई थाहा छ मेरो मृत्युपछि मेरो छोराले घट्ट चलाएर बस्दैन। तर हामी नेपालीको पुरानो परम्परा र सारथि पानी घट्ट चलाउने जिम्मा कसैलाई दिएर जान पाए हुने। कोही दु:ख पाएको मान्छे भए पनि यसको संरक्षण गर्न आइदिए हुने ,’उनले चिन्ता व्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.