|

काठमाडौं : करिब दुई वर्षदेखि ठप्प रहेको पर्यटन क्षेत्रमा चहलपहल देखिन थालेको छ। सरकारले कोराना भाइरसविरुद्धको खोप लगाएका नागरिकलाई नेपालमा अनअराइभल भिसा खुला गरेसँगै पर्यटन क्षेत्रमा चहलपहल बढेको हो। 

यसअघि नै पर्यटन व्यवसायीले नेपालमा कोरोनाको जोखिम कम भएकाले पर्यटन क्षेत्रलाई सहजीकरण गर्न माग गर्दै आएका थिए।
केही दिनअघि मन्त्रिपरिषद् बैठकले खोप लगाएको १४ दिन पुगेका विदेशी नागरिकलाई अनअराइभल भिसा दिने निर्णय गरेको थियो। सरकारले  सो निर्णय गरेसँगै पर्यटन क्षेत्रमा नयाँ उत्साह देखिएको छ।

कोरोनाका कारण ठप्प भएको पर्यटन क्षेत्रलाई अनअराइभल भिसाले उत्साहित बनाएको नेपाल पर्यटन बोर्डका सूचना अधिकारी मणि लामिछानेले जानकारी दिए। धेरै समयसम्म बन्द रहेको क्षेत्र खुला हुँदा व्यवसायी उत्साहित बनेका छन्।

कोरोनाका कारण जारी प्रतिबन्धले विदेशी नागरिक सहजै नेपाल आउन नसक्ने र नआउने अवस्था आएको भन्दै पर्यटन व्यवसायीले खुला गर्नुपर्ने माग गर्दै आएका थिए। 

करिब २ महिनाअघि नै खोल्नुपर्ने अनअराइभल भिसा खोल्न सरकारले ढिलाइ गरेको पर्यटन बोर्डका सूचना अधिकारी लामिछानेले बताए। कोरोनाको त्रास पहिल्यै कम भइसके पनि सोहीअनुसार विभिन्न मन्त्रालयमा सहज रूपमा समन्वय नहुँदा भिसा खुला गर्न ढिला भएको उनको भनाइ छ।

उनले भने, ‘ढिला भए पनि सरकारले भिसा खोलेको छ। डुब्नै लागेको पर्यटन क्षेत्रमा सहयोग पुग्नेछ।’

अनअराइभल भिसा खुला भएको र होटलहरूले पनि विभिन्न प्याकेज नै बनाएर अन्तरराष्ट्रियस्तरमै जानकारी पठाएपछि पछिल्लो समय इन्क्वायरी बढेको लामिछानेले बताए। भिसा खुलेको केही दिनमा एक सयभन्दा इन्क्वायरी बढेको छ।

कोरोनाको जोखिम कम भएसँगै सरकारले पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गर्न नसकेको उनको भनाइ छ।  

सरकारले हाल धेरै देशका नागरिकका लागि अनअराइभल भिसा खुलाउँदा पर्यटकले के छ कस्तो छ भनेर बुझ्ने क्रम बढेको होटल एशोसिएसन अफ नेपाल (हान)की अध्यक्ष सृजना राणाले जानकारी दिइन्। 

अनअराइभल भिसा खोल्नेबित्तिकै पर्यटक नआए पनि यसले सकारात्मक सन्देश दिएको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदी बताए। भिसा खोलेसँगै कोरोना कालभन्दा ट्राभलमा बुकिङ बढेको छ। 

सरकारले हाल कोरोना खोप लगाएका विदेशी नागरिकलाई मात्रै अनअराइभल भिसा दिने निर्णय स्वागतयोग्य भएको बताउँदै उनले भने, ‘खोप नलगाएका नागरिकलाई पनि निश्चित शर्तहरू तोकेर भिसाको व्यवस्था  गर्नुपर्ने हुन्छ।’

पर्यटनको सिजन भएकाले र सरकारले सहजीकरण गरिदिएकाले केही मात्रामा अझै विदेशी पर्यटक बढ्ने अनुमान छ। दुई वर्षदेखि  चलायमान हुन नसकेको पर्यटन क्षेत्र लयमा फर्काउनका लागि २०३२ पर्खनुपर्ने सूचना अधिकारी लामिछानेले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.