|

काठमाडौं : फिल्मलाई कलात्मक र व्यावसायिक गरी  दुई धारमा बाँड्ने गरिन्छ। कलात्मक फिल्म जो धेरै दर्शकलाई मन नपर्न सक्छ तर त्यसले जीवन जगतका गम्भीर विषय बोकेको हुन्छ।

त्यस्तै, व्यावसायिक विषय गम्भीर हुन सक्छन् तर पहिलो प्राथमिकता दर्शक हुन्छन्। दुवै धारका फिल्मको आफ्नो आफ्नो महत्त्व छ। 

केही यस्ता फिल्म पनि छन् जो कलात्मक भनेर बनाइन्छ तर व्यावसायिक रूपमा पनि सफल हुन्छन् अनि अर्काथरि फिल्म जो व्यावसायिक भनेर निर्माण गरिन्छ तर कलात्मक फिल्म रुचाउने दर्शकलाई पनि मनपर्छ।

कोरोना महामारीका कारण नेपाली फिल्म क्षेत्रको अवस्था नाजुक बनेको छ। तर, सामान्य अवस्थामा पनि नेपाली फिल्म उद्योग उति सम्पन्न भने होइन। हरेक वर्ष सयको औसतमा फिल्म निर्माण भए पनि मुस्किलले १५/२० फिल्मले मात्र लगानी सुरक्षित गरेका हुन्छन्।

लगानी सुरक्षित गरेर राम्रो कमाइ गर्ने फिल्म त झन् एउटै हातका औँलामा गन्न सकिने हुन्छन्। 

लामो आयु हुने खालका राम्रा फिल्म जसले भन्न खोजिएको कुरा जस्ताको त्यस्तै भनोस् र व्यावसायिक रूपमा पनि घाटा नहोस् भन्ने कुरालाई ध्यानमा राखेर फिल्म बनाउन कोसिस गर्नेहरू पनि यही भिडमा छन्। 

यतिबेला नेपाली फिल्म 'जार'को अन्तिम चरणको काम भइरहेको छ। इन्द्रबहादुर राईको कथामा आधारित उक्त फिल्मलाई फुर्वा छिरिङ लामाले निर्देशन गरेका हुन्।

फिल्ममा सौगात मल्ल, अनुप विक्रम शाही र गीताञ्जली थापा मुख्य भूमिकामा देखिँदै छन्। बलिउडमा जमिसकेकी गीताञ्जलीको यो पहिलो नेपाली फिल्म हो। 

नोभेम्बर पहिलो सातासम्म फिल्मको सम्पूर्ण काम सकेर फिल्मलाई यसलाई प्रसिद्ध फिल्म फेस्टिबलहरूमा लैजाने सोच निर्देशक फुर्वाको छ। आफूहरूले एउटा राम्रो फिल्म बनाएको विश्वास उनलाई छ तर कोरोनाले फिल्म क्षेत्रलाई पारेको असर देखेर उनी चिन्तित पनि छन्।

उनी भन्छन्, 'हामीले फिल्मलाई हलमा देखाउने गरी नै बनाएका छौँ। यसका सटहरू फिल्म हलको ठूलो पर्दालाई ध्यानमा राखेर लिइएको छ। फेस्टिबलहरूमा गएर आएपछि फिल्महलमा देखाउने सोच हो।'

त्यसपछि नेटफ्लिक्स, अमेजन प्राइम जस्ता ठूला ओटिटी प्लाटफर्मका लागि कोसिस गर्ने उनले बताए। साथै विस्तारै अवस्था सामान्य हुँदै जाने र हलमा दर्शकबीच बसेर ठूलो स्क्रिनमा जार हेर्ने आफ्नो इच्छा पूरा हुनेमा आशावादी रहेको पनि उनी बताउँछन्।

इन्द्रबहादुर राईको बहुचर्चित कथा 'जार' सिक्किमको परिवेशमा लेखिएको कथा हो। फिल्मको छायांकन पनि सिक्किममै गरिएको छ।

इन्द्रबहादुर राईको सम्मानका लागि पनि आफूले यो फिल्म बनाउन लागेको फुर्वा बताउँछन्। उनी भन्छन्, 'उहाँको परिवार खुसी हुनुहुन्छ। उहाँको कथालाई न्याय गर्ने कोसिस गरेको छु।'

साथै नेपाली फिल्ममा जार जस्ता नेपाली समाजका इतिहास बोल्ने कथामा फिल्म बन्न जरुरी रहेको उनी जिकिर गर्छन्। 

फेरि टेल्स पिक्चर्सको प्रस्तुति रहेको फिल्मको टिजर सार्वजनिक भइसकेको छ। जसले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। फिल्ममा झुमा लिम्बू र गंगा थापाको संगीत रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.