एउटाको मूल्य ३९ हजार रुपैयाँ

|

म्याग्दी : नेपालीहरुको महान पर्व दशैँलाई लक्षित गरेर मुस्ताङ्गी भेडा‚ च्याङ्ग्रा बजार झार्न सुरु गरिएको छ। कोभिड–१९ का कारण कोरला नाका ठप्प भएपछि दशैंमा थोरै मात्र भेडा‚ च्याङ्‍ग्रा बजारमा ल्याइने भएका छन्।

तिब्बतबाट ल्याउन नपाउँदा उपल्लो मुस्ताङमा नै एउटै च्याङ्‍ग्राको भाउ प्रतिगोटा सातदेखि १० हजारसम्म महँगिएको लोमान्थाङकाका व्यापारी पासाङ गुरुङले बताए। मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनले यस वर्ष मुस्ताङमै भेडा‚ च्याङ्‍ग्रा अभाव देखिएको जानकारी दिए।

‘लोमान्थाङ्गबाट बिहीबार मात्रै केही भेडा‚ च्याङ्‍ग्रा मुस्ताङ झारिएको जानकारी पाएको थिएँ। शुक्रवबर ती भेडा‚ च्याङ्‍ग्रा मुस्ताङमा आइपुगेका छन्‚’ अध्यक्ष तुलाचनले भने‚ ‘गत वर्ष व्यापारीले २७ हजार प्रतिगोटा बिक्री भएको च्याङ्‍ग्राको भाउ यसपटक ३५ हजार रुपैयाँ भन्दामाथि पुगेको जानकारी आएको छ।’

मुल थलोमै महँगो भएपछि बजारमा च्याङ्‍ग्राको भाउ अझै बढ्न सक्ने उनको भनाइ छ। गत वर्ष मुस्ताङबाट मात्रै करिब सात  हजार च्याङ्‍ग्रा बिक्रीका लागि पठाइएको थियो। यस वर्ष मुस्ताङमा पनि धेरै भेडा‚ च्याङ्ग्रा नभएकाले समस्या उत्पन्न भएको उनको भनाइ छ।

कोभिड–१९ का कारण चीनले लामो समयदेखि नाका ठप्प बनाउँदा च्याङ्‍ग्रा मुस्ताङ आउन ढिला भएको एक दशकदेखि मुस्ताङमा भेडा च्याङ्‍ग्राको व्यवसाय गर्दै आएका गुन्जा तेन्जिङले बताए।

एक साताअघि मात्र मुस्ताङबाट सरुवा भई म्याग्दीको बेनी भेटेरिनरी अस्पताल तथा पशु विकास केन्द्रमा आएका केन्द्र प्रमुख जीवन आचार्यका अनुसार यस वर्ष तिब्बतबाट भेडा‚ च्याङ्ग्रा अत्यन्त कम आउने हुँदा मुस्ताङमा पालिएका भेडा च्याङ्ग्राहरु मात्रै ढिलो गरी बजारमा आउने भएका छन्। उनका अनुसार मुस्ताङमा पालिएका ती भेडा‚ च्याङ्‍ग्राको मूल्य मुस्ताङमा नै ३५ देखि ३९ हजार रुपैयाँसम्म रहेको छ।

सामान्य अवस्थामा व्यापारीहरुले दशैँलाई लक्षित गर्दै तिब्बतबाट च्याङ्‍ग्रा ल्याउने गरेकोमा यस वर्ष यस्तो नभएको उनको भनाइ रहेको छ। सामान्य अवस्थामा मुस्ताङ र तिब्बतबीच वर्षको दुई पटक व्यापार हुने गरेकोमा कोरोनाका कारण यस वर्षको व्यापार नभएको मुस्ताङका व्यापारीहरुले बताएका छन्। जेठ र साउनमा हुने मेलामा नेपाली वस्तु तिब्बतीहरुको किन्ने र च्याङ्‍ग्रा तथा खसीको पाठा नेपालीहरुले किनेर पाल्ने गरेको भएपनि यसवर्ष त्यो मेला हुन नपाएको उद्योग वाणिज्य संघ मुस्ताङका अध्यक्ष तुलाचनले बताए।

हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदा हुने भन्दै प्रायः उपभोक्ताले भेडा‚ च्याङ्ग्रा खोज्ने गर्छन्। मुस्ताङका भेडा च्याङ्‍ग्रा अत्यन्त महँगो भएकाले यस वर्ष स्थानीय स्तरमा पालिएका खसी र म्याग्दीका हिमाली क्षेत्रहरुमा पालिएका भेडाको पनि माग अत्यधिक रहेको व्यापारीहरुले बताएका छन्।

हेर्नु होस् फोटो

तस्वीर सौजन्य : मुस्ताङबाट सुशील बाबु थकाली 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.