|
फाइल तस्बिर

काठमाडौं : चाडपर्वका बेला उपभोक्ता ठगिने विषय नौलो भने होइन। अन्य समयमा उपभोक्ता ठगिए पनि चाडपर्वको सिजनमा व्यापारीको राज चल्छ।

यद्यपि‚ सरोकारवाला निकायले ध्यान दिएका छैनन्। बजार अनुगमन भए पनि फितलो हुने गरेको उपभोक्ताले गुनासो गर्न थालेका छन्।

एकातिर यो वर्षको दशैँ नजिकिँदै छ भने अर्कातिर उपभोक्ता ठगिँदै छन्। तर, न स्थानीय तहले बजार अनुगमन गरेको देखिन्छ न जिल्ला प्रशासनबाट नै कसैले चासो लिएको छ। 

उपभोक्ता हित संरक्षण मञ्च नेपालका उपाध्यक्ष सुवर्ण प्रभा गुरागाईंले सरकारी तहबाट प्राथमिकताका साथ बजार अनुगमन नहुँदा उपभोक्ता ठगिने गरेको बताइन्।

उनी आफैँ पनि ठगिएकी सुनाइन्। उनले भनिन्,‘केही दिन अगाडि टिसर्ट किन्न एक लुगा पसलमा गएकी थिएँ, टिसर्टको मूल्य सोध्दा १३ सयदेखि १६ सय सम्म भन्यो, अघिल्लो वर्ष ती लुगाको मूल्य ८ सय थियो।’​ लुगा मात्र नभई अन्य वस्तुहरूको मूल्य पनि बढी लिने गरेको उनले आरोप लगाइन्।

उपाध्यक्ष गुरागाईंका अनुसार काठमाडौं उपत्यकाको काठमाडौं,ललितपुर र भक्तपुरको तीन जिल्लामध्ये  भक्तपुर जिल्लामा मात्रै स्थानीय तह र जिल्ला प्रशासनबाट दशैँ बजार अनुगमन सुरु भएको छ। तर काठमाडौं र ललितपुरमा भने अझै सुरु भएको छैन।

‘बाहिर सबै जिल्लामा हाम्रो तर्फबाट,जिल्ला प्रशासन र स्थानीय तहमार्फत चाडपर्व लक्षित बजार अनुगमन सुरु भइसकेको छ,’उनले भनिन्,‘तर, राजधानी शहरमै सुरु हुन सकेको छैन,जसकारण व्यापारी आफूखुसी मूल्य तोकेर उपभोक्ता ठगिरहेका छन्।’

जनप्रतिनिधि नै अप्ठ्यारो मान्छन्

उपभोक्ता हित संरक्षण मञ्च नेपालका उपाध्यक्ष गुरागाईले  स्थानीय तहका जनप्रतिनिधिहरूले नै बजार अनुगमन गर्न अपठ्यारो मान्ने गरेको सुनाइन्। जसकारण अनुगमन भए पनि फितलो हुने गरेको उनको भनाइ छ।

‘म आफु पनि जनप्रतिनिधिसँगै बजार अनुगमनमा निस्किँदा जनप्रतिनिधि अनुगमन गर्न अपठ्यारो मान्ने गरेको पाएँ,’उनले भनिन्,‘चिनेकै पसलहरू भएकाले पनि उहाँहरू अनुगमन गर्न असहज मान्ने गरेको जस्तो लाग्छ,त्यस्तो गरेपछि ती व्यापारीको मनलाग्दी भइहाल्छ।’

उनले अहिलेसम्म चिनीलगायत दैनिक अत्यवश्यक वस्तुको अभाव नभएको भन्दै बजार अनुगमन भने तीव्र रूपमा हुनुपर्ने माग गरिन्।

काठमाडौंमा आजदेखि बजार अनुगमन हुने

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले आजबाट बजार अनुगमन थाल्ने बताए। काठमाडौं महानगरपालिकासँग समन्वय गरी अनुगमन गर्ने उनको भनाइ छ।

‘दशैँ लक्षित बजार अनुगमन आजबाट थाल्नेछौँ, उपभोक्तालाई ठगेको पाइए तुरुन्तै कारबाही गर्छौं,’पौडेलले भने।

ललितपुरमा पनि बजार अनुगमन तीव्र पार्न निर्देशन

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले तीव्र रूपमा बजार अनुगमन गर्न महानगरपालिकालाई निर्देशन दिइसकेको बताए।

प्रशासनको तर्फबाट भने निरन्तर अनुगमन गरिरहेको उनको दाबी छ। ‘स्थानीय तहले कम मात्रामा अनुगमन गर्ने गरेको पाएकाले दैनिक तीव्र रूपमा अनुगमन गर्न महानगरपालिकालाई भनिसकेको छु,त्यसैले स्थानीय तहबाट पनि अब दशैँ लक्षित बजार अनुगमन छिट्टै हुन्छ।’ 

गुणस्तरहीन सामान बेच्नेबाट ५० हजार जरिवाना

जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीका अनुसार भक्तपुर क्षेत्रमा हिजो (बिहीबार)बाटै दशैँ लक्षित बजार अनुगमन सुरु भइसकेको छ।

बजार अनुगमन गर्दा म्याद नाघेको सामान बिक्री वितरणलगायत अनाधिकृत कार्य गरेको पाइएको र त्यसबाट ५० हजार जरिवाना पनि गराइसकेको उनले बताए।

‘हाम्रो क्षेत्रमा सबै स्थानीय र प्रशासनको समन्वयमा हिजोबाटै अनुगमन सुरु भएको छ,’उनले भने। उपभोक्ता ठग्ने व्यापारीलाई कानुनी कारबाहीको दायरामा ल्याएर छाड्ने उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.