|

काठमाडौं : दुई दिनअघि सार्वजनिक भएको फिल्म 'रुदाने विद्रोहको नेपाली नाम'को टिजरलाई युट्युबमा चालीस हजारभन्दा बढी पटक हेरिसकिएको छ। जनमुखी राजनीतिका धरोहर मानिने रूपचन्द्र विष्टको जीवनीमा आधारित उक्त फिल्मको टिजरलाई दर्शकले उत्साहजनक प्रतिक्रिया दिइरहेका छन्। 

चार वर्षअघि छायांकन सुरु भएको फिल्म अनुमानितभन्दा बढी खर्च आएपछि बीचमा केही समय रोकिनुपरेको थियो। त्यसपछि आएको कोरोना भाइरसले गर्दा पनि यसको छायांकन पूरा हुन सकेको थिएन। कोरोना संक्रमण दर कम हुँदै गएपछि फिल्मको बाँकी छायांकन सकेर पहिलो टिजर सार्वजनिक गरिएको हो। 

केही अर्थपूर्ण काम गरौँ भन्ने सोचले रुदाने बनेको यसका अनुसन्धानकर्ता, लेखक तथा निर्देशक विकास ढकाल बताउँछन्।

उनी भन्छन्, 'पेशा र अध्ययनले पनि हामी समाजविज्ञानका विद्यार्थी हौँ। युनिभर्सिटीमा काम गर्दैगर्दा केही अर्थपूर्ण अर्गानिक विषयमा काम गरौँ भनेर सोच थियो। त्यो बीचमा अरू थुप्रै विषय पनि भेटियो। प्रारम्भिक अनुसन्धान गरेका विषयमध्ये प्राथमिकताको पहिलो नम्बरमा चाहिँ रूपचन्द्र विष्ट र थाहा आन्दोलन पर्‍यो।'

फिल्मको छायांकन २०१७ बाट भए पनि यसको तयारी भने धेरै अघिदेखिको हो। 'जिन्दगीमा धेरै धेरै काम गर्नुभन्दा पनि अर्थपूर्ण दुईचारवटा काम गर्ने भन्ने हाम्रो सिद्धान्त हो। त्यसैले पनि यसमा समय लागिरहेको छ'‚ उनी भन्छन्, 'यसको पृष्ठभूमिको कुरा गर्दा २०१३ देखि २०१६ सम्म लगभग चार वर्ष यसको अनुसन्धानमा बिताएका छौँ। एक वर्ष स्क्रिप्टको ट्रिटमेन्टमा लाग्यो। त्यसपछि नवौँ भर्जनको स्क्रिप्ट तयार भएपछि काम गरेका हौँ।'

फिल्मका लागि अनुसन्धानका दिन सम्झँदै उनी भन्छन्, 'ग्राउण्ड जेरो थियो। केही पनि अनुसन्धान भएकै थिएन। हामीले रूपचन्द्रलाई चिन्नेजान्ने, संगत गरेका काठमाडौं र मकवानपुरमा गरेर तीन सयभन्दा बढी मान्छेसँग कुरा गर्‍यौँ।  त्यसपछि दुई महिना जति गुप्तवास बसेर स्क्रिप्टको पहिलो ड्राफ्ट लेख्यौँ। त्यसपछि ट्रिटमेन्टको काम चल्यो। काम गर्दै जाँदा बजेट पनि बढ्न पुग्यो। लामो क्यानभासको कथा भन्नलाई थोरै बजेटले नपुग्ने अनि कोभिड आयो त्यसले गर्दा केही समय रोकिनु पर्‍यो।' 

'रुदाने' आजभन्दा चारपाँच दशकअगाडिको परिवेशमा बनाउनुपर्ने भएकाले त्यसले चुनौती थपेको उनी बताउँछन्। 'लुगाहरू, प्रप्सहरू त म्यानेज गरिन्थ्यो होला तर लोकेसन सेटले गर्दा समस्या भयो। अनुसन्धानको क्रममा जहाँजहाँ पुगेका थियौँ ती संरचना भुइँचालोले भत्काइदियो। त्यसले गर्दा लोकेसन परिवर्तन गर्नुपर्ने भयो'‚ उनी भन्छन्, 'एउटा इमानदार प्रयास गरेका छौँ, गर्दै छौँ। हेरौँ के हुन्छ।' 

टिजर सार्वजनिक भएपछि दर्शकबाट पाइरहेको सकारात्मक प्रतिक्रियाले फिल्म बनाउँदै गर्दाको दुःख बिर्साएको साथै चुनौती पनि थपिएको महसुस उनले गरेका छन्।

उनी भन्छन्, 'इमानदार प्रयास गरेका छौँ। समाजमा यो मजाले स्वीकृत हुन्छ र सकारात्मक प्रतिक्रिया आउँछ भन्ने अपेक्षा थियो। यसले हाम्रो अनुसन्धानदेखि, फिल्म खिच्ने वेला त्यसपछि पनि जति चुनौती तथा अवरोध सामना गर्नुपर्‍यो ती कुरा बिर्साइदिँदो रहेछ। त्यो सँगसँगै अझ अर्थपूर्ण रूपमा यसलाई प्रस्तुत गर्नुपर्ने, धेरैभन्दा धेरैको माझमा पुग्नुपर्ने चुनौती हामीमा थपिएको छ।' 

सन २०२२ को बीचसम्म फिल्मको सबै काम सकेर फिल्म दर्शकलाई सुम्पने तयारी रहेको उनी बताउँछन्। विकास र अमितकिशोर सुवेदीको संयुक्त अनुसन्धान, लेखन तथा निर्देशन रहेको फिल्ममा दिव्य देव रूपचन्द्र विष्टको भूमिकामा देखिएका छन्।

फिल्ममा दिव्य देव बाहेक नम्रता श्रेष्ठ, रवि गिरी, सुवास गजुरेल, सरोज अर्याल लगायतका कलाकारको अभिनय रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.