|

धनगढी : दशैँतिहार नजिकिँदै गर्दा भारतबाट नेपाल आउनेका लागि स्थानीय प्रशासनले नयाँ मापदण्ड तोकेको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीबार सूचना जारी गर्दै उक्त नयाँ मापदण्ड तोकेको हो।

जिल्ला प्रशासन कार्यालय कैलालीले भारत तथा तेस्रो मुलुकबाट जिल्ला भित्रिनेका लागि मापदण्ड तोकेको जनाएको छ। कोभिडको संक्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारमा प्रतिकूल असर नपर्ने गरी नेपाल आउने नेपाली तथा विदेशीको आगमन व्यवस्थित गर्न विभिन्न मापदण्ड तोकिएको बताइएको छ।

नेपाल सरकार मन्त्रिपरिषद्‌बाट स्वीकृत विदेशबाट नेपाल आगमन र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश २०७८ तथा मन्त्रिपरिषद्को असोज ११ गतेको निर्णय कार्यान्वयन गर्न जिल्ला कोभिड व्यवस्थापन समितिको बैठक बसी नेपाल प्रवेशका लागि सहजीकरण गरिएको सूचनामार्फत जनाइएको छ।

स्थलमार्गबाट नेपाल प्रवेशका लागि धनगढी उपमहानगरपालिकास्थित कैलाली भन्सार नाका र टीकापुर नगरपालिकास्थित खक्रौला भन्सार नाकामा हेल्थ डेस्क स्थापना गरी सहजीकरण गर्न भनिएको छ।

त्यस्तै भारतीय नागरिकले प्रवेश गर्नुभन्दा अगाडि ७२ घण्टाभित्रको कोरोना परीक्षण रिपोर्ट, विदेशबाट नेपाल आउने व्यक्तिले भर्नुपर्ने अनलाइन फाराम भरी सोको प्रिन्ट ल्याई आउनुपर्ने सूचनामा उल्लेख छ।

त्यसैगरी कुनै व्यक्तिमा कोभिडको लक्षण देखिए एन्टीजेन परीक्षण गरी नेगेटिभ आए मात्र नेपाल प्रवेश गर्न दिइने र अन्य मापदण्ड विदेशबाट नेपाल आगमन हुने, नेपाल प्रस्थान गर्नेहरूको यात्रा व्यवस्थापनसम्बन्धी आदेश २०७८ बमोजिम हुने प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ।

यस्तै नेपाल भित्रिनेका लागि कोरोना परीक्षणको दायरा फराकिलो बनाउने, नाकामा चेकजाँच थप कडा तुल्याउने प्रशासनले जनाएको छ। भारतीय नागरिकका हकमा नेपाल प्रवेश गर्नुभन्दा पहिला कोरोना परीक्षण रिपोर्ट देखाउनुपर्ने प्रशासनको निर्णय छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.