|
बैतडीमा जनगणनाको पहिलो चरणमा तथ्यांक संकलन गर्दै सुपरीवेक्षक। तस्वीर : विनोद विष्ट

बैतडी : राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणअन्तर्गत बैतडीमा घर तथा घरपरिवार सूचीकरण सकिन लागेको छ।

घर तथा घरपरिवार सूचीकरण गर्न यहाँका गाउँगाउँमा सुपरीवेक्षक खटाइएकोमा हालसम्म ९० प्रतिशत काम सकिएको जिल्ला जनगणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तले जानकारी दिए ।

सूचीकरणका लागि गत भदौ ३० गतेदेखि ८० जना सुपरीवेक्षक गाउँगाउँमा परिचालन गरिएका थिए। उनले भने, ‘सुपरीवेक्षकले गर्ने सूचीकरणको काम अन्तिम चरणमा छ, हालसम्म ३५ हजार परिवार संख्या इन्ट्री भइसकेको छ।’

असोज १८ गतेसम्म सञ्चालन हुने पहिलो चरणमा घर र परिवार संख्या गणना भइरहेको उनले बताए। उनले भने, ‘पहिलो चरणमा मुख्य गरि घर तथा घरपरिवारको गणनाको  काम भइरहेको छ।’

यसका साथै घरको विवरण, घरमूलीको नाम, घर कुन प्रयोजनमा रहेको छ, पशुपक्षीको विवरण, बैंक खाता, ऋण, अनुदान पाए नपाएको लगायतका २० प्रश्न सुपरीवेक्षकले सोध्ने गरेका छन्।

गाउँगाउँमा परिचालन गरिएका सुपरीवेक्षकलाई संकलन गरेको तथ्यांक इन्ट्रीमा भने समस्या भइरहेको पन्तले बताए।

भौगोलिक विकटता र इन्टरनेटको समस्याले तथ्यांक संकलन प्रभावित भएको उनले बताए। उनले भने, ‘सुपरीवेक्षकले मोबाइल एपको सहायतामा फिल्डबाटै दैनिक डाटा इन्ट्री गर्नुपर्छ तर सबै ठाउँमा इन्टरनेटको पहुँच नहुँदा समस्या भएको छ।’

सदरमुकामस्थित दशरथचन्द नगरपालिकाबाहेक अन्य स्थानीय तहमा खटिएका सुपरीवेक्षकलाई तथ्यांक इन्ट्री गर्न समस्या देखिएको हो।

विसं २०६८ को जनगणनाअनुसार बैतडीको जनसंख्या २ लाख ५० हजार ८ सय ९८ र परिवारको संख्या ४५ हजार थियो।

पहिलो चरणमा संकलित तथ्यांकका आधारमा मूल गणना गरिने कार्यालयले जनाएको छ।  मूल गणना आगामी कात्तिक २५ देखि मंसिर ९ गतेसम्म सञ्चालन हुनेछ।

१०/१० वर्षमा जनगणना हुने गर्छ । यसपल्टको जनगणना  ‘मेरो गणना, मेरो सहभागिता : राष्ट्रिय जनगणना २०७८’ नाराका साथ भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.