|

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको निर्बाध उपयोग गर्ने/गराउने व्यवस्था मिलाउन अनुरोध गरेको छ।

दूरसञ्चार प्राधिकरणले राज्यका विभिन्न स्थानमा जथाभावी ढङ्गले अप्टिकल फाइबर काटी दिँदा राज्यका धेरै स्थानमा इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको जनाउँदै इन्टरनेट सेवा निर्बाध उपयोग गर्ने/गराउने व्यवस्था मिलाउन अनुरोध गरेको हो।

प्राधिकरणले आइतबार विज्ञप्ति जारी गरी इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल र नेपाल विद्युत् प्राधिकरणबीच पोल भाडादर विवाद समाधान गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण र इन्टरनेट सेवा प्रदायक सङ्घ नेपालबीच छलफल गरी विवाद समाधान गर्न प्रयास भइरहेको अवस्थामा अप्टिकल फाइबर नकाट्न आग्रह गरेको हो ।

‘अप्टिकल फाइबर काट्दा राज्यको अत्यावश्यक सेवा अवरुद्ध पारिएको छ। दूरसञ्चार ऐन २०५३ अनुसार कसैले पनि यस्तो सेवा अवरुद्ध गरे दण्डनीय हुने व्यवस्था छ। यसरी दूरसञ्चार सेवा अवरुद्ध गर्ने कार्यप्रति प्राधिकरण दुखः व्यक्त गर्दछु’, विज्ञप्तिमा भनिएको छ।

प्राधिकरणले राज्यको अत्यावश्यक सेवा अवरुद्ध गर्ने जो कोहीलाई कानुनी कारबाही गर्न र यस्ता पूर्वाधारको सुरक्षा गर्न सम्बन्धित सबैलाई अनुरोध गर्नुका साथै वार्ताका माध्यमबाट समाधान खोज्नुपर्नेमा जोड दिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘हरेक समस्याको समाधान वार्ताबाट मात्र हुनसक्ने हुँदा सबै पक्ष बसी आपसी छलफलबाट समस्या समाधान गरी इन्टरनेट सेवाको निर्बाध उपयोग गर्ने/गराउने व्यवस्था मिलाउन नेपाल विद्युत् प्राधिकरण, इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल तथा सम्बन्ध सबै पक्षमा हार्दिक अनुरोध गर्दछौँ।’

नेपाल विद्युत् प्राधिकरणले आफ्नो पोल प्रयोग गरेर इन्टरनेट सेवा उपलब्ध गराइरहेका सेवा प्रदायकको केबल शनिबारदेखि काट्न सुरु गरेको छ। असोज १५ गतेभित्र पोलभाडा नवीकरणका लागि तोकिएको समय पूरा भएको भन्दै प्राधिकरणले नवीकरण नगर्ने इन्टरनेट सेवा प्रदायकको केबल काट्न थालेको हो।

पोलभाडा एकतर्फी रूपमा सात गुणासम्म बढाइएको भन्दै निजी इन्टरनेट सेवा प्रदायकले उक्त मूल्यमा नवीकरण गर्न नसकिने भन्दै तोकिएको समयमा पनि नवीकरण गरेका थिएनन्। प्राधिकरणले प्रतिकिलोमिटर ओपिजीडब्लू केबलको भाडा ३२ हजार रुपियाँसम्म निर्धारण गरेको छ।

नेपाल विद्युत् प्राधिकरण​ले काठमाडौं‚ चितवन र नवलपरासीमा केबल काटेको छ। इन्टरनेट सेवाप्रदायक सङ्घ, नेपाल (आइस्पान)ले प्राधिकरणले गैरकानुनी रूपमा इन्टरनेट अवरुद्ध हुने गरी केबल काटिएको दाबी गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.