|

डडेल्धुरा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले पार्टीमा व्यक्ति हाबी भएको आरोप लगाएका छन्।

आइतबार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। देउवाप्रति लक्षित गर्दै उनले कांग्रेसमा व्यक्ति हाबी हुँदा आन्तरिक लोकतन्त्र कमजोर भएको टिप्पणीसमेत गरे।

‘कांग्रेसमा व्यक्तिवाद हाबी भयो। त्यसले गर्दा कांग्रेसको आन्तिरिक लोकतन्त्र नै कमजोर बन्यो,’ उनले भने, ‘कांग्रेसमा व्यक्ति हाबी हुन हुँदैन। त्यसले पार्टीमा असर गर्दछ।’ यसका साथै उनले कांग्रेसमा आन्तरिक लोकतन्त्र धरापमा परेको पनि बताए।

‘कांग्रेसमा आन्तरिक लोकतन्त्र छैनको बराबर छ। आन्तरिक लोकतन्त्रलाई फेरि हामीहरूले सुदृढ गरेर जानुपर्दछ,’ उनले भने। कार्यकर्तालाई क्रियाशील सदस्यबाट बञ्चित गरेर अन्याय गरेको उल्लेख गर्दै उनले अब छिटै सचिन्नुबाहेक देउवासँग अर्को विकल्प नभएको बताए।

काइरालाले देउवाले डडेल्धुरामा सदस्यता वितरण गर्दा गरेको गल्ती सच्याउनेमा विश्वाससमेत व्यक्त गरे। उनले केही मानिसले कालो झण्डा देखाएपनि कोही कांग्रेस त्यसबाट नडराउने पनि बताए।

‘अहिले केही साथीहरूले कालो झण्डा देखाउनुभयो। कालो झण्डासँग कांग्रेसका कोही नेता तथा कार्यकर्ता डराउँदैनन्। डडेल्धुराको टुँडिखेलमा गिरिजाप्रसाद कोइरालालाई पनि कालो झण्डा देखाइएको थियो,’ उनले भने, ‘त्यो मलाई अहिले पनि सम्झना छ। उहाँ त्यसबाट तर्सनु भएको थिएन। डराउनु भएको थिएन। उहाँ भाग्नुभएको थिएन।

कांग्रेस लोकतान्त्रिक पार्टी भएकोले कालो झण्डा देखाउनेहरूलाई हामीले स्वागत गर्न सक्नु पर्दछ।’ कार्यक्रम चलिरहेका बेला देउवा पक्षले कोइरालालगाताका नेताहरूलाई कालो झण्डा देखाएका थिए। भेलामा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले अहिले कांग्रेसका नेता तथा कार्यकर्ताहरू पार्टी सभापति शेरबहादुर देउवाको निरंकुशता तथा व्यक्तिवाद प्रवृतिविरुद्ध लड्न तयार भएर बस्नुपर्ने बताए।

‘कांग्रेसमा व्यक्तिवाद प्रवृति बढ्यो। म मात्रै एउटा हुँ, म मात्रै जान्ने व्यक्ति हुँ, मैले जे भन्यो त्यही ठीक हो भन्ने प्रवृति कुनै पनि लोकतन्त्रवादीको हुन सक्दैन,’ उनले भने, ‘त्यसलाई स्वीकार्न हुँदैन भनेर हामीले पार्टीभित्र लडाइँ गरिरहेका छौँ।’ यसका साथै उनले कांग्रेस पार्टीलाई नेताप्रदान नभई नीति प्रदान बनाउनुपर्ने बताए।

नेता कोइराला, केसी गुरुराज घिमिरे रिले अनशनलाई एक्यबद्धता जनाउनका लागि यहाँ आएका थिए। यसैबीच, कांग्रेस डडेल्धुराले विगत ११ दिनदेखि जारी राखेको रिले अनशन स्थगितसमेत गरेको छ। केन्द्रीय सदस्य केसी, कोइराला र घिमिरेले डडेल्धुरा पुगेरै माग सम्वोधन गर्न पहल गर्ने जनाएपछि तत्काललाई अनशन स्थगित गरिएको हो। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.