दाङको बबई गाउँपालिकामा बिजुली, खानेपानी र टेलिफोनलगायत सुविधा उपलब्ध गराउन माग

|
गाउँमा बिजुली, खानेपानी र टेलिफोन उपलब्ध गराउन माग गर्दै भोक हडतालमा बसेका भक्त डाँगी। तस्वीर : विकास डिसी

दाङ : दाङमा एक युवाले गाउँपालिकामा समग्र विकासको माग गर्दै ३ दिने भोक हड्ताल थालेका छन्।

बबई गाउँपालिकामा विकासको माग गर्दै बबई गाउँपालिका–७ ढोलपुरका युवा भक्त डाँगीले सोमबारदेखि तीनदिने ध्यानाकर्षण भोक हड्ताल सुरु गरेका हुन्।

स्थानीय सरकार आएको ५ वर्ष पुग्न केही समय बाँकी रहेको बेला उनले चुनावताका घोषणापत्रमा गरेका वाचा र जनतालाई दिएका आश्वासन पूरा नगरेको र प्रतिपक्षले पनि कुनै प्रतिक्रिया नजनाएको भन्दै गाउँपालिकाको प्रांगणमा ध्यानाकर्षण भोक हड्ताल सुरु गरेको बताए।

उनले गाउँपालिका वडा नं १ र ७ मा पर्ने निकुञ्जको मध्यवर्ती क्षेत्रको बस्ती व्यवस्थापन गर, स्वास्थ्य चौकीलगायत अलपत्र अस्पताललाई सुविधासम्पन्न गर्न, वडा नं १, ५, ७ लगायत विद्युत र सञ्चारविहीन भएकाले त्यस क्षेत्रमा तत्काल बिजुली र टेलिफोन उपलब्ध गराउन माग गरेका छन्।

त्यस्तै वडा नं १, ७, ५ लगायत विकट क्षेत्रमा बाटो नभएको भन्दै सडक बनाउनसमेत माग गरेका छन्।

उनले गाउँपालिकाका सबै टोलमा खानेपानीको व्यवस्था गर्नुपर्ने र पालिकास्तरीय खेलकुद समिति गठन गरी युवा तथा खेलकुद विकासको व्यवस्था गर्न पनि माग गरेका छन्।

त्यस्तै यसअघि जस्तापाता वितरणमा छुटेका सबै खरवाला घरलाई जस्तापाता उपलब्ध गराउन, बाढीपीडितलाई राहत रकम छिटो हस्तान्तरण गर्न र विद्युत नपुगेका विकट बस्तीका सबै घरमा सोलार जडान गर्नुपर्ने लगायत दशबुँदे माग राखेका छन्।

गाउँपालिकाका जनप्रतिनिधिले स्थानीयलाई सधैं आश्वासन मात्र दिने गरेको भन्दै आफूले राखेका माग पूरा नभए वृहद् आन्दोलन गर्ने उनको भनाइ छ।

बिहान १० बजे सुरु भोक हड्ताल असोज २० गते बेलुकासम्म गर्ने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.