सार्वजनिक सवारीलाई सडक नै मुख्य समस्या

|

काठमाडौं :  नेपालीको चाड विजयादशमी नजिकिँदै गर्दा यसपल्ट पहिलेका वर्षजस्तो भीड लामो दूरीका बसको टिकट काउन्टरमा छैन, बरु यसवर्ष सुनसानजस्तै छन्।

मनसुनका कारण बिग्रिएका सडकको मर्मत हुन नसक्दा यात्रुको संख्यामा कमी आएको यातायात व्यवसायीले बताउँदै आएका छन्। 

सरकारले गत सोमबार सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरे पनि यात्रु संख्यामा कमी देखिएको यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ।

विगतका  वर्षभन्दा यसवर्ष  उपत्यकाबाट बाहिरिनेको संख्यासमेत घटेको यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए। 

मनसुन अझै सक्रिय छ। मनसुनका कारण बिग्रिएका सडक मर्मत हुन नसकेकाले सार्वजनिक सवारीमा यात्रा गर्नेको संख्या घटेको महासचिव सिटौलाले बताए।

१ असोजदेखि हालसम्म करिब ३ लाखले उपत्यका छोडेको सिटौलाले बताए। सार्वजनिक यातायातमा पहिलेभन्दा ५० प्रतिशतले कमी आएको छ।

उनले भने, ‘वर्षामा भत्किएका सडक हालसम्म मर्मत हुन सकेको छैन। जसका कारण यात्रुहरु यात्रा गर्न डराएका छन्,’ उनले थपे, ‘अर्कातिर कोरोनाले थला पारेकाले आर्थिक अवस्थाका कारण पनि यात्रुको संख्या कमी आएको हुनसक्छ।’

सडक नै मुख्य समस्या 

दशैंमा उपत्यकाबाट बाहिरिने यात्रुलाई सडकका कारण यात्रामा समस्या हुने देखिएको छ। चाडपर्व लक्षित गरी सडक मर्मत गर्दै आए पनि मनसुनका कारण समाधान गर्न नसकिएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए।

हाल सडक खुलाउने काम भइरहेको र कतिपय सडक एकतर्फी सञ्चालनमा आएका छन् भने कतिपय सडक खुलाउने  काम भइरहेको थापाले बताए। 

दशैंमा मात्र १५ लाखभन्दा बढी मानिस उपत्यकाबाट बाहिरिने गर्छन्। उपत्यका भित्रने र बाहिरिने यात्रुको सहजीकरणका लागि सडकका खाल्डाखुल्डी पुर्ने काम भइरहेको महानिर्देशक थापाले बताए।

उनले भने, ‘मनसुनका कारण सबै सडकको समस्या समाधान भने गर्न सकिएन।’ वर्षाले बाढी पहिरो जाँदा धेरैजसो ग्रामीण क्षेत्रका सडकमा अझै पनि आवतजावत गर्न मुस्किल छ। 

हवाई यात्रामा आकर्षण

दशैं नजिकिँदै गर्दा अधिकांश हवाई टिकट बुकिङ भइसकेका छन्। दशैंको यात्राका लागि अधिकांश सस्ता टिकट बुकिङ भइसकेका हुन्।

हवाई कम्पनीहरूका अनुसार दशैँका लागि ७० प्रतिशतभन्दा बढी टिकट बुकिङ भइसकेका छन्। १/२ दिनभित्रै सबै टिकट बुकिङ हुने अवस्था छ।

नियमित उडानका टिकट सकिन थालेपछि हवाई कम्पनीहरूले थप उडान भर्ने तयारी गरेका छन्। सामान्यतया चाडबाडका बेला अरु समयका तुलनामा बढी भीडभाड र टिकटको माग बढी हुने गर्छ।

तर, यो वर्ष भने अघिल्ला वर्षहरूमा जस्तो चाप नभएको एयरलाइन्स कम्पनीहरूले जनाएका छन्।

विश्वभर फैलिएको कोरोना भाइरसका कारण लामो समय बन्द रहेको एयरलाइन्समा यति बेला चहलपहल बढेको छ। विजयादशमी नजिकिँदै गर्दा दशैँका लागि टिकट लिनेको संख्या बढेको बुद्ध एयरलाइन्सले जनाएको छ।

सकिन लागे उडानका टिकट

दशैँका लागि ७० प्रतिशत  टिकट बुकिङ भएको  बुद्ध एयरलाइन्सका निर्देशक रुपेश जोशीले जानकारी दिए। साविकको भन्दा टिकटको माग बढेको उनले बताए। एयरलाइन्सले टिकट बुकिङ सकिन थालेपछि थप उडान भर्ने तयारी गरेको छ।

निर्देशक जोशीले भने, ‘१/२ दिनमा बाँकी सबै टिकटको बुकिङ सकिँदै छ।’सबै टिकटको बुकिङ सकिएपछि थप उडान गर्ने विषयमा छलफल भइरहेको छ। बुद्ध एयरले दैनिक १ सय ४० उडान भर्दै आएको छ। जसमा ७ हजारदेखि ८ हजार मानिसले यात्रा गर्ने गरेका छन्। 

यति एयरका पनि अधिकांश टिकट बुकिङ भइसकेका छन्। दशैँका लागि यतिका ६० प्रतिशतको हाराहारीमा टिकट बुकिङ भइसकेको एयरलाइन्सले जनाएको छ।

‘यतिका ६० प्रतिशतको हाराहारीमा टिकट बुकिङ भइसकेको यति एयर एलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले  जानकारी दिए।  लकडाउनका कारण अघिल्ला वर्षहरूको तुलनामा जस्तो टिकटका लागि मारामारको अवस्था नभएको उनले बताए।

कोरोना संक्रमणका कारण उपत्यकाका केहीबाहेक अधिकांश स्कुलले अनलाइनबाटै अध्यापन गराइरहेकाले उपत्यकाबाहिर बसेर विद्यार्थीले पढिरहेका छन्। यसले गर्दा पनि अघिल्ला वर्षहरूमा जस्तो भीडभाड नभएको हो।

त्यति मात्र होइन, अनलाइनबाट टिकट काट्ने व्यवस्था भएकाले पनि बढी चाप नदेखिएको प्रवक्ता बर्तौलाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.