|

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन नजिकिँदै जाँदा समीकरण फेरबेदल हुन थालेको छ। केही उम्मेदवारहरूले टिम परिवर्तन गर्न थालेका छन्।

अध्यक्षका प्रत्यासी बद्री केसीको टिममा रहेका दुई प्रभावशाली उम्मेदवारले उम्मेदवारी घोषणा हुनुभन्दा एक दिनअघि केसीको साथ छाडेका छन्। केसीको टिमबाट उपाध्यक्षको उम्मेदवार तय गरिएका महेश श्रेष्ठ (जापान) र लोक दाहाल (बेल्जियम)ले अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यको टिमबाट उम्मेदवारी दिने घोषणा गरेका छन्। श्रेष्ठ वर्तमान आइसिसी कार्यसमितिका कोषाध्यक्ष हुन् भने दाहाल सहकोषाध्यक्ष हुन्। 

केसीले पाँच दिनअघि सार्वजनिक गरेको आफू पक्षीय उम्मेदवारहरूको सूचीमा श्रेष्ठ र दाहालको नाम र तस्वीर समावेश गरेका थिए। तर‚ श्रेष्ठले आइसिसी उपाध्यक्षमा र दाहालले कोषाध्यक्षमा आचार्य नेतृत्वको टिमबाट उम्मेदवारी दिने छन्।

एनआरएनएको दशौं महाधिवेशन यही अक्टोबरको २३–२५ मा काठमाडौंमा हुँदैछ। महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्ने छ। संघको आगामी कार्यकालका लागि अध्यक्षमा सल्लाहकार तथा पूर्वउपाध्यक्ष कुल आचार्यले उम्मेदवारी घोषणा गरिसकेका छन्। वर्तमान उपाध्यक्ष बद्री केसीले मंगलबार साँझ उम्मेदवारी घोषणा गर्ने तयारी छ। उम्मेदवारी घोषणा गर्नुभन्दा एक दिनअघि उपाध्यक्ष केसीलाई दुई महत्वपूर्ण पदाधिकारीले छाडेपछि आचार्यको पल्ला भारी देखिएको छ।

आइतबार साँझ आयोजित एक भर्चुअल कार्यक्रममा दाहालले आचार्यले अघि सारेका एजेण्डा तथा गरेका प्रतिबद्धतामा आफ्नो समर्थन रहेको बताए। नेपालको धादिङ घर भई हाल बेल्जियममा बसोबास गर्ने दाहाल एनआरएनएका पुराना अभियन्ताका रुपमा परिचित छन्। त्यस्तै, उपाध्यक्षमा उम्मेदवारी दिने तय गरेका महेश श्रेष्ठले पनि आचार्यका प्रतिवद्धता र एजेण्डालाई समर्थन गर्दै आचार्यकै टिमबाट निर्वाचनमा सहभागी हुने बताएका छन्। हाल जापानमा रहेका श्रेष्ठले अध्यक्षका अर्का उम्मेदवार केसीले आफ्नो नाम पनि उम्मेदवारहरूको सूचीमा राखेकोप्रति असहमति जनाए

आचार्यको टिमबाट महासचिवमा डा. केशव पौडेल (अमेरिका) र महिला उपाध्यक्षमा जानकी गुरुङ (बेल्जियम)ले उम्मेदवारी दिने यसअघि नै टुंगो लागिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.