|

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसका सांसदहरूले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सांसदको एकोहोरो नाराको अर्थ नभएको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको बैठकपछि बाहिरिने क्रममा सांसद दिलेन्द्रप्रसाद बडुले एमाले सांसदहरूले संसदमा विभिन्न विषय उठाएर नाराबाजी गरेपनि त्यसको जवाफ सुन्न नचाहेको तर्क गरे।

सभामुखले संसदीय परम्परा, मूल्यमान्यता र प्रतिनिधिसभा नियमावली बारे बारम्बार सजग गराउँदा पनि प्रतिपक्षी सांसदहरू सुन्न तयार नभएको उनको भनाइ छ। संसदमा उठेका कालो धनलगायतका विषयमा सम्बन्धित पक्षले जवाफ दिनका लागि पनि संसद खोल्नुपर्ने उनले बताए। 

बडुले भने, ‘कालो धनको नारा दिनुहुन्छ, त्यसको जवाफ दिने कसले? उहाँले एकोहोरो नारा त लगाइरहनुभएको छ। संसदीय परम्परा, मान्यता र हाम्रो प्रतिनिधि सभा नियमावलीले भनेका विषयहरू सभामुखले एकोहोरो सुनाइरहनुभएको छ। तर, उहाँहरू त्यसलाई सुन्न तयार हुनुहुन्न। सम्बन्धित पक्षले जवाफ दिन्थ्यो होला हाउसमा, हाउस चल्न दिएको भए। जे-जे नारा दिनुभएको छ पर्याप्त छ। अब त्यसको जवाफ सुन्नलाई हाउस चल्न दिनुपर्छ अनि मात्र उहाँहरूको एकोहोरो नाराको अर्थ हुन्छ।’

यस्तै, कांग्रेसका अर्का सांसद देवेन्द्रराज कँडेलले प्रतिपक्षले उठाएको विषय सर्वोच्च अदालतमा विचाराधीन मुद्दा भएकाले संसदमा त्यसलाई विषय बनाउन नसकिने बताए। सर्वदलीय बैठक बसेर संसदको गतिरोधलाई निकास दिनुपर्ने उनको भनाइ छ। 

‘उहाँहरूले जुन विषय उठाइराख्नु भएको छ त्यो उठाउनु कुनै आवश्यक नै छैन। त्यसले निकास पाइसकेको अवस्था छ। अब सेफल्याण्डिङ कसरी गर्ने भन्ने उहाँहरू पनि बाटो खोजिराख्नु भएको छ। सर्वदलीय बैठक बसेर निकास दिनुपर्छ’ उनले भने। 

संसदलाई अनिर्णयको बन्दी बनाउँदा मुलुकको हित नहुने उनको भनाइ छ। प्रतिपक्ष दलले छलफलको माध्यमबाट निकास दिनुपर्ने उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.