|

बेनी : वर्षभरी जे जस्तो खाए, लाए पनि दशैंमा मीठै खाने, राम्रै लाउने नेपाली परम्परा बनिसकेको छ। यही परम्पराको सिको अहिलेको पुस्ताले पनि गर्दै आएको छ। दशैंसँग जोडिएर आउने प्रमुख परिकार मासु पनि हो।

दशैंका वेला प्रायः नेपालीका घरमा एकदुई छाक भए पनि च्याङ्ग्राको मासु पाक्ने गर्छ तर यो वर्ष भने न्यून आय भएका सर्वसाधारणले च्याङ्ग्राको मासु खान नसक्ने भएका छन्।

हिजो सोमबारदेखि म्याग्दीको सदरमुकाम बेनी बजारमा मुस्ताङी च्याङ्ग्रा भित्रिन शुरु गरेका छन्।

पहिलो लटमा भित्रिएका करिब १५० च्याङ्ग्रा हेर्न कालिपुलमा सर्वसाधारणको भीड भए पनि एकदुईजना बाहेक अन्यले किन्ने आँट गर्न सकेनन्। कारण थियो, च्याङ्ग्राको मूल्य। रोज्जा च्याङ्ग्रालाई ५० हजार रुपैयाँ बताएपछि धेरै ग्राहक पछि हटे।

कोभिड–१९ का कारण कोरला नाका ठप्प भएपछि यो वर्ष तिब्बतबाट दशैंमा धेरै भेडाच्याङ्ग्रा नेपाली बजारमा नआएपछि मुस्ताङमा पालिएका भेडाच्याङ्ग्राको मूल्य पनि आकाशिएको हो।

तिब्बतबाट च्याङ्ग्रा ल्याउन नपाउँदा उपल्लो मुस्ताङमा एउटै च्याङ्ग्राको भाउ ७ देखि १० हजार रुपैयाँ महँगिएकाले तल झार्दा लागत खर्चले गर्दा च्याङ्ग्राको मूल्य बढेको लोमान्थाङका व्यापारी पासाङ गुरुङले बताए।

मुस्ताङमा गतवर्ष व्यापारीले २७ हजार प्रतिगोटामा बिक्री गरेको च्याङ्ग्राको भाउ योपटक ३५ हजार रुपैयाँभन्दा माथि पुगेको व्यापारीको भनाइ रहेको छ।

मुस्ताङमै महँगो भएपछि बजारमा च्याङ्ग्राको भाउ अझै बढ्न सक्ने च्याङ्ग्रा व्यापारी थानेश्वर खड्काले बताए। गतवर्ष पनि कोरला नाकाबाट च्याङ्ग्रा नभित्रिएपछि मुस्ताङबाट मात्रै ७ हजार भेडाच्याङ्ग्रा बिक्रीका लागि पठाइएको र यो वर्ष मुस्ताङमा पनि धेरै भेडाच्याङ्ग्रा नभएकाले च्याङ्ग्राको मूल्य बढेकोे एक दशकदेखि मुस्ताङमा भेडाच्याङ्ग्राको कारोबार गर्दै आएका गुन्जा तेन्जिङले बताए।

हिमाली जिल्लालाई लक्षित गरेर स्थानीय, प्रदेश र संघ तीनवटै सरकारले भेडाच्याङ्ग्रा पालन व्यवसायका लागि वर्षेनि करोडौँ रुपैयाँ लगानी गर्दै आएका छन्। मुस्ताङमा पनि भेडाच्याङ्ग्रा र ऊन प्रशोधनका लागि गण्डकी प्रदेश सरकारको मात्रै करोडौं लगानी गरे पनि अभाव देखिएको छ।

ब्रोइलर र स्थानीय जातका बोकाको खोजी

दशैंमा मुस्ताङी च्याङ्ग्राको मासु महँगो भएपछि सर्वसाधारण र न्यून आय भएका व्यक्तिले स्थानीयस्तरमा पालिएका खसीबोका जोहो गर्न थालेका छन्। च्याङ्ग्राको भाउ महँगिएको थाहा पाएपछि स्थानीय किसानले खसीबोकाको मूल्य बढाएको सर्वसाधारणको भनाइ छ।

गत वर्षसम्म १२ हजारदेखि १८/२० हजार रुपैयाँसम्म पाइने यहाँका खसीबोकाको मूल्य खोरमै यो वर्ष ३ हजारदेखि ५ हजारसम्म बढेको दुधेखोलाका श्याम घर्ती मगरले बताए। अहिलेसम्म प्रतिकिलो १ हजार रुपैयाँसम्म पाइने खसीको मासु दशैंमा १२ सय रुपैयाँको हाराहारीमा पर्ने उनको भनाइ छ।

न्यून आय हुने परिवारका लागि यो वर्षको दशैं महँगो हुने भएको छ। ‘दशैंमा च्याङ्ग्राको मासु त परको कुरा खसीबोकाको मासु पनि किनी नसक्ने हुनेभयो‘‚ म्याग्दी नदीमा गिटी कुटेर परिवार पाल्दै आएका श्याम विकले भने‚ ‘खोरमै गएर चारवटा ब्रोइलर कुखुरा किनेर ल्याएँ,अहिलेको दशैं ब्रोइलरले काम चलाउने हो।’
यस्तो अवस्था श्याम जस्ता न्यून आय भएका अधिकांश परिवारको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.