|
लागुऔषधसहित पक्राउ परेका युवा। तस्वीर : विजय भण्डारी

पर्सा : वीरगन्जको सीमानाका नजिक शंकराचार्य गेटबाट हिँडिरहेका दुई युवा प्रतिबन्धित लागुऔषधसहित पक्राउ परेका छन्।

उनीहरु भारतबाट लागुऔषध लिएर बुधबार दिउँसो नेपाल प्रवेश गरिरहेका थिए। प्रहरीले जाँच गर्दा लागुऔषध फेला परेपछि पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाडौं तारकेश्वर नगरपालिका–८ मनमैजुका वर्षीय २६ रविन्द्र खत्री र मकवानपुर हेटौंडा उप–महानगरपालिका–१६ का १९ वर्षीय राकेश गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए।

उनीहरुले आफूले लगाएको पेन्टको गोजीमा पत्रिकामा बेरेर लागुऔषध बोकेको भेटिएको हो।

जाँचका क्रममा विभिन्न किसिमका ३ सय थान लागुऔषध भेटिएपछि उनीहरु पक्राउ परेका थिए।

दुवै जनाका साथबाट प्रतिबन्धित लागुऔषध डाइजेपाम १ सय थान, निर्फिन १ सय थान र फेनार्गन पनि १ सय थान एम्पुल बरामद भएको थियो।

लागुऔषध फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिई लागुऔषधसम्बन्धी कसुरमा कारबाही अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.