|

सल्यान : सल्यानमा सामुदायिक (सरकारी) विद्यालयमा पढाउने शिक्षकले तीन वर्षदेखि तलब पाएका छैनन्। निजी स्रोतबाट पढाउँदै आएका शिक्षकले पारिश्रमिक नपाएका हुन्।

भैरवी आधारभूत विद्यालयमा १२ वर्षदेखि निजी स्रोतमा पढाइरहेका प्रकाश बुढाले विगत तीन वर्षदेखि तलब नपाएको बताए। तीन वर्षदेखि तलब नपाउँदा दैनिक गुजारा गर्न निकै समस्या भएको उनको भनाइ छ। उनले भने, ‘विगतमा झैँ यो वर्षको चाडपर्व खल्लो हुने भयो। पारिश्रमिक आउने निश्चित नहुँदा अन्योल थपिएको छ।’ 

विज्ञान विषय पढाउँदै आएका बर्दियाका युवराज विष्टले दुई वर्षको पारिश्रमिक नपाएपछि राजीनामा दिएर घर फर्किएको उनको भनाइ छ। आफूसँगै तीनजना शिक्षकले तीन वर्षदेखि तलब नपाएको उनको दुखेसो छ।

विगतमा नियमित पाउँदै आएको तलबभत्ता एक वर्षदेखि रोकिएको जय नेपाल आधारभूत विद्यालयका शिक्षक तिलक बुढाले बताए। तलब नपाएपछि धेरै शिक्षकले छाडेर गए पनि स्थानीय भएकाले विद्यार्थीको भविष्य हेरेर आफूले छोड्न नसकेको उनको भनाइ छ।

उनले भने, ‘छोडेर जाऊँ भने विद्यार्थीको भविष्य अन्योलमा पर्ने, नछोडौँ त आफ्नो भविष्य अन्योलमा छ।’ 
 
विद्यालय समुदायको स्वैच्छिक शुल्क र अन्य स्रोतबाट सञ्चालन भइरहेकाले निजी स्रोतमा पढाउने शिक्षक तलबविहीन बन्नुपरेको प्रधानाध्यापक रामप्रसाद शर्माले बताए। नगरपालिकासँग अनुदान दिन कैयौँपटक आग्रह गरे पनि सुनुवाइ नभएको उनको भनाइ छ। उनले भने, ‘विद्यालय बन्द गर्ने अवस्था आउँदा विद्यालय बन्द गर्न नदिने र सहयोग पनि नआउँदा गाह्रो भएको छ।’

बनगाड कुपिण्डेमा सञ्चालन भएका अधिकांश आधारभूत विद्यालयमा पढाइरहेका निजी स्रोतका शिक्षकले वषौंदेखि पारिश्रमिक पाएका छैनन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.