|

रौतहट : जंगलमा घाँस काट्न गएका एक युवकलाई बाघले आक्रमण गरेर घाइते बनाएको छ।

बिहीबार रौतहटको लमहा जंगलमा घाँस काटन गएका यज्ञबहादुर रायमाझीलाई बाघले आक्रमण गरेको हो।

चन्द्रपुर नगरपालिकामा पर्ने पूर्वपश्चिम राजमार्गको लमहा जंगलस्थित पुलनजिक घाँस काट्न गएका चन्द्रपुर–६ का उनलाई बाघले आक्रमण गर्दा घाइते भएका छन्।

साइकलमा घाँस लिन गइरहेको बेला बाघ देखेपछि भाग्न खोज्दा पछाडिबाट आक्रमण गरेको रायमाझीले बताए। उनको दुवै हातमा चोट लागेको छ।

उनीसहित ७ जना समूहमा दाउरा घाँस लिन जंगलमा जाँदै गर्दा बाघले आक्रमण गरेको थियो।

बाघले आक्रमण गर्दा बन्चरोले प्रहार गरी आफूलाई जोगाउन सफल भएको रायमाझीले बताए। उनको रायमाझी चन्द्रपुरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ।

रौतहटको जंगलमा चार बाघ

यसैबीच, रौतहटको जंगलमा बाघ हिँड्ने गरेको पाइएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष र जुओलोजिकल सोसाइटी अफ लन्डन (जेडएसएल) ले डिभिजन वन कार्यालय रौतहटसँगको सहकार्यमा गरेको बाघ गणनामा रौतहटको जंगलमा ४ वयस्क बाघ भेटिएका छन्।

गत माघ २ देखि क्यामेरा ट्र्यापिङ विधिबाट गरिएको गणनामा ४ बाघ र एउटा भालु देखिएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख अमरदेव यादवले जानकारी दिए।

केही महिनाअघि रौतहटको चन्द्रपुर नगरपालिका–६ का एक युवकको पनि बाघको आक्रमणबाट ज्यान गएको थियो भने ४ जना घाइते भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.