पर्वत : ‘सायद सन् २०१५ तिर होला बिदाको दिनमा दशैँ परेको थियो, त्यही दिनमा खचाखच व्यापार हुन्थ्यो। अघिपछि ११ घण्टा काम गर्नुपर्नेमा त्यो दिन १६ घण्टा ड्युटी। अनि नेपाल सम्झिएँ, आफ्नो सबैभन्दा ठूलो चाडकै दिनमा १६ घण्टा काम?’
केही वर्ष जापान बसेपछि नेपाल फर्किएका पत्रकार सुमन थापाले आफ्नो अनुभव सुनाउँदै भने, ‘सधैँ आठ बजे उठे हुनेमा त्यो दिनमा छ बजे उठ्नुपर्ने। अझ नेपालको दशैँ परेका वेला विद्यार्थी सुत्नै नपाएको मैले देखेँ। किनकि हाम्रा लागि पो दशैँ आयो, जापानीका लागि त व्यापार आयो।’
पत्रकार थापाको अनुभवमा जापानमा रहेका चतुर र नेतृत्व गर्ने खालको भूमिकामा रहेको केही नेपाली बाहेक अरूले दशैँका वेला खासै बिदा पाउँदैनन्, कारण यही सिजनमा त्यहाँ व्यापार राम्रो हुने भएका कारण सामग्री उत्पादक उद्योगदेखि बिक्री गर्ने पसल र किन्नेहरू हतारमा हुन्छन्।
नेपालीको महान् पर्व दशैँको मितिका बारेमा उनीहरू जानकार हुन्छन्। दशैँको मुखैमा आएपछि कार्यरत कसैले पनि बिदा लिन नपाउने भनेर सूचना टाँसिन्छन्। नेपालीहरूले काममा नगई दशैँ मनाउन भन्दै निवेदन दिने र कामको अनुपात तलमाथि हुन सक्ने भएकाले सूचना टाँसिने गरेको थापा बताउँछन्।
वातावरण मिलाउन सक्नेहरूले भने सांस्कृतिक कार्यक्रम आयोजना गरी सम्भव भएकाहरू एकै ठाउँमा भेला भएर टीका लगाउँदै रमाइलो गर्ने गरेको उनको अनुभव छ।
धेरै नेपालीको सुख र पैसाको सपनाको देश अमेरिकामा पनि अवस्था उस्तै छ। फलेबास नगरपालिका–३ शंकरपोखरीस्थित रुग्दीका दीपेन्द्र रेग्मी २०७१ मा अमेरिका पुगेपछि त्यसयता गाउँमा रहेर दशैँको टीका थाप्न पाएका छैनन्। आफ्नो महान् चाडको दिनमा नेपालमा नभए पनि आफू रहेकै ठाउँमा बिदामा बसेर साथीभाइसँग जमघट भई सुखदुःख साट्ने रहर हुन्छ।
‘निधारमा टीका लगाउन पनि पाइन्छ, उनीहरूले हाम्रो ठूलो चाड हो भन्ने थाहा पाएका हुन्छन्। ड्युटीको समय बिगार्न पाइँदैन, त्यो बाहेक सम्भव भएका साथीहरू भेटघाट गरेर केही घण्टा सँगै हुन पाइन्छ’, उनले भने, ‘नेपालमा हुँदा गरिने त्यो रमाइलो मिस गर्दै बसिरहेका हुन्छौँ। साथी समूह भनेपछि हुरुक्कै हुने मलाई गाउँमा बसेर दशैँ मनाउँदा ती क्षण पलपलमा याद आउँछन्।’
रोजगारीकै सिलसिलामा सन २००६ बाट इजरायलमा रहँदै आएकी दीपिका भुसालले गाउँमा आएर टीका लगाउन नपाएको पाँच वर्ष बितेको छ। रोजगारीका लागि गएको मान्छे चाड मनाउनकै लागि फर्किने अवस्थामा नरहने बताउँदै उनले शरीर परदेशमा भए पनि मन भने स्वदेशमा हुने बताउँछिन्।
‘आफन्तलाई नसम्झिने को नै हुन्छ र? छोराछोरी र परिवार नेपालमा‚ आफू यहाँ एक्लै विदेशमा। ज्यान विदेशमा भए पनि मन त घरदेशमै छ। जति वेला पनि सम्झना आएको हुन्छ’‚ उनले भनिन्, ‘चाडबाडका वेला गाउँघरको यादले मुटु रेटिन्छ। गाउँमा छँदाको टीका, पिङ, भेटघाट यो परदेशमा कहाँ? यद्यपि इजरायलमा टीका लगाउन खुला छ।’
इजरायल खुला ठाउँ भएकाले आफूहरूको धर्म संस्कृति, परम्परा मान्न कुनै समस्या नभएको भुसालको भनाइ छ। जहाँको नेपाली भए पनि एउटै घरको सदस्य सम्झिएर टीका लगाउने बताउँदै उनले सम्भव भएका साथीहरू भेटेर चाडबाड मनाउन पाउने उनले बताइन्।
यहुदीहरू अरूको धर्म र संस्कारप्रति सकारात्मक र सहयोगी रहेका कारण आफूहरूले मनाउने चाडबाडलाई सम्मान गर्ने र सकेसम्मको खुसी दिन चाहने उनीहरूको स्वभाव रहेको उनको भनाइ छ।
‘यो खुला ठाउँ भएकाले हामीमाथि प्रतिबन्ध छैन। कोरोनापूर्वसम्म नेपाली कलाकारहरू बोलाएर रमझम गर्ने गरे पनि अहिले त्यो गर्न पाइएको छैन’, दीपिका भन्छिन्, ‘तर गाउँमै बस्नुको मजा विदेशमा कहाँ पाउनु? बूढा भएका बुबाआमाको हातबाट टीका थाप्दै पाइने आशीर्वाद यहाँ कसले दिनु? छोराछोरी अघिपछि गर्दै घर र माइत गर्न यहाँ छैन।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।