|

काठमाडौं : शुक्रबार मध्याह्नको समय फोका उठेका खुट्टा, थकित शरीर आडैमा आफूले टेकेको लौरो र छाता राखी कालो झोलाको सिरानी बनाएर माइतीघरमा केही महिला सुतिरहेका थिए। 

महिला हत्याहिंसा विरुद्ध न्यायका लागि नेपालगञ्जबाट २० दिनकाे पैदल यात्रापछि उनीहरू काठमाडौँ आइपुगेका हुन्। उनीहरू २० दिन पैदल यात्रा गरेर ५ सय २० किलोमिटर टाढाबाट न्याय माग्न काठमाडौँ आएका हुन्। परिवारले हत्या गरी आत्महत्या भएको दाबी गरेको भन्दै हत्या हिंसाको विरोध गर्नका लागि उनीहरू राजधानी आएका हुन्।  

नेपालगञ्जको जानकी गाउँपालिका वडानम्बर २ की नन्कुनी धोबीको मृत्यु भयो। परिवारका सदस्यको मिलेमतोमा हत्या गरिएको र हत्यारालाई प्रहरी प्रशासनले ढाकछोप गरेको भन्दै पीडितलाई न्यायको माग गर्दै उनीहरू काठमाडौँ आएका हुन्।  
नेपालगञ्जमा पटकपटक धर्ना तथा दबाबका कार्यक्रम गर्दा सुनुवाइ नभएको भन्दै सरकारलाई ध्यानाकर्षण गराउनका लागि पैदल हिँडेर काठमाडौँ आएको रुबी खानले बताइन्।

साँझ बिहान नभनी निरन्तर पैदल यात्रा गरेको उनीहरूले बताए। खानले भनिन्, ‘बिहान ५ बजेबाट हिँड्न सुरु गर्दै कुनै दिन साँझ ५ बजे त कुनै दिन ७ बजे, १० बजे र १२ बजेसम्म पनि पैदल हिँडेर आयौँ। निरन्तर दबाब दिँदा पनि सरकारले नसुनेपछि काठमाडौँ आई धर्ना दिन बाध्य भयौं।’

बाटोमा हिँड्दा कहिल्यै भोको पेट त कहिल्यै पानी समेत नखाई हामीले यात्रा गर्‍यौँ। खानले फोका उठेका गोडा देखाउँदै भनिन्, ‘हिँड्दा खुट्टा सुनियो, खुट्टामा फोका फोका भएर हिँड्नै नसक्ने अवस्थासम्म भयो। सडकको यात्रा सुत्ने खाने कुरा के गर्नु‚ आफूसँग भएको सल ओढेर सडकमै रात बितायौँ।’

पहाड, नदी, खोला, पहिरो, सबै दृश्य देखेपछि काठमाडौँ पुग्न सकिन्न भन्ने पनि लाग्थ्यो। फेरि यहाँसम्म आइपुगेपछि जसरी पनि काठमाडौंसम्म पुग्नै पर्छ भनेर आपसमा भरोसा दिएर आएको खानले सुनाइन्।

३५ वर्षीया शीला धोबी, ३४ वर्षीया रुबी खान, ४५ वर्षीया आवदा दर्जी, ४० वर्षीया खतुना बेना, ४५ वर्षीया सलिमु बेना, ४५ वर्षीया विट्टा धोबी, ४५ वर्षीया गीता चमार, ४२ वर्षीया गुर्जी कोरी, २० वर्षीया बब्ली धोबी, २४ वर्षीय राहुल शेख, २५ वर्षीय सियाराम धोबी, ३८ वर्षीया रिना रैदास, ४५ वर्षीया बानो दर्जी, ३५ वर्षीया सकिना तेली, १५ वर्षीय माताप्रसाद धोबी, ३५ वर्षीया सायदा दर्जी गरी १६ जना काठमाडौँ आएका छन्।

उनीहरू नेपालगञ्जमा भएको दुई महिलाको हत्याको घटनामा न्यायका लागि संघर्ष गर्न तथा बाटोमा समेत नागरिकको ऐक्यबद्धता तथा समर्थनसहित सिंहदरबारलाई दबाब दिन ५ सय २० किलोमिटर दूरी पैदल यात्रा गरेर आएका हुन्।

यस्तो छ घटना 

नेपालगञ्जको जानकी गाउँपालिका वडानम्बर २ की नन्कुनी धोबीलाई श्रीमान्, जेठाजु लगायत सदस्यहरूले घरेलु हिंसा गर्दै आएको अवस्थामा त्यहाँको महिला अधिकार मञ्चमा पहिलेदेखि नै उजुरी परेको थियो। तर उक्त हिंसाविरुद्ध प्रहरीमा जाँदा पनि केही सुनुवाइ भएको थिएन। त्यसपछि २०७८ साउन ५ गते उनको हत्या नै भएको खानले बताइन्।  

उक्त हत्याको विरोधमा मृतककी आमाले जाहेरी दिन खोज्दा जिल्ला प्रहरी कार्यालय, नेपालगञ्जले जाहेरी दर्ता नै नगरेको महिला अधिकारकर्मी समेत रहेकी खानले बताइन्। प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारी र प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जाहेरी दर्ता नगरेको, पीडित परिवारसँग अभद्र व्यवहार गरेको उनीहरूको आरोप छ। 

जाहेरी दर्ता गर्नुको साटो जाहेरी लिएर जाने पीडित परिवारलाई नै उल्टै थुनिदिन्छु, मुद्दा लगाइदिन्छु भनेर एसपी न्यौपानेले धम्की दिएको उनले बताइन्।

त्यसपछि जाहेरी दर्ता गर्न माग गर्दै उनीहरू जिल्ला प्रशासन कार्यालय, नेपालगञ्जका अगाडि १९ दिनसम्म धर्ना बसे। ’धर्ना दिएको आठौँ दिनमा आएर प्रहरीले जाहेरी दर्ता गर्‍यो तर मृतक नन्कुनीका श्रीमान् रामकुमार धोबी र जेठाजु एतवारी धोबी गरी दुईजनाको मात्र जाहेरी लियो’‚ खानले भनिन्, ’जब कि उक्त घटनामा परिवारका अन्य सदस्यसहित ५ देखि ६ जनासम्मको संलग्न थिए।’ 

धर्नाको १५ औँ दिन राजकुमारलाई पक्राउ गरेको थियो भने जेठाजु एतवारी धोबीलाई ५ दिन पछिमात्र पक्राउ गरेको खानले बताइन्। प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारी र प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेलाई कारबाहीको माग गरेका छन्। पीडितले न्याय नपाएसम्म धर्ना नछोड्ने उनीहरूको भनाइ छ । 

त्यसैगरी २०७७ पुस १६ गते हत्या नेपालगञ्ज उपमहानगरपालिका वडानम्बर १७ की निर्मला कुर्मीको हत्यामा संलग्नलाई कारबाही हुनुपर्ने माग समेत उनीहरूले गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.