|
बाग्लुङ नगरपालिका–४ कुडेले फेदीमा स्वामी श्रीधराचार्य शालिग्राम संग्रहालयमा राखिएका शालिग्राम। यहाँ १ लाख २५ हजार शालिग्राम राखिएको छ।

म्याग्दी : कालीगण्डकी नदीमा मात्रै पाइने बहुमूल्य शिला शालिग्राम अवैधरुपमा गरिएको व्यापक नदीदोहनका कारण मासिँदै जान थालेका छन्।

नदीको वातावरणीय र पारिस्थितिक स्थितिमा नै खतरा उत्पन्न हुने गरी भइरहेको नदीदोहनका कारण कालीगण्डकी नदीको जलचक्र प्रणाली पनि खल्बलिन पुगेको वातावरण संरक्षणकर्मीले बताएका छन्।

अवैध र मनपरी तवरबाट भइरहेको नदीदोहनले मानव जाति र प्रकृतिमाथि सङ्कट निम्ताइरहेको संरक्षणकर्मीहरूको भनाइरहेको छ।

नदीबाट जथाभावी डोजर र स्काभेटरको प्रयोग गरी गिटी, बालुवा र ढुङ्गा निकाल्दा धार्मिक र आर्थिक महत्वले युक्त  शालिग्राम शिला गिट्टीमा परिणत हुँदै गएका शालिग्रामका अध्येता रंगराज आचार्यले बताए।

शालीग्रामको धार्मिक महत्व

आचार्यका अनुसार भगवान विष्णु पतिव्रता वृन्दाको श्रापका कारणले शिलास्वरूप भई गण्डकीक्षेत्रमा रहनुभएकाले शालिग्रामलाई भगवान विष्णुको अंश मानेर हिन्दू धर्मावलम्वीहरूले पूजा गर्छन्।

त्यसका साथै पञ्चतत्वले  बनेको मानव शरीर संरक्षण र सम्वर्धन गर्न गणेश, शिव, विष्णु, देवी, सूर्यस्वरूप पाञ्चायन पूजा गर्ने गरिन्छ। शालिग्रामको जल, कुशको आसन, मुखमा तुलसी रहेमा जतिसुकै पापी भए पनि त्यो व्यक्तिको पुनः जन्म नहुने विष्णुपुराणमा उल्लेख गरिएको छ।

ब्रहृमाण्ड पुराणमा पनि शालिग्रामबारे निकै चर्चा भएको छ। ब्रहृमाण्ड पुराणमा शालिग्रामको आकार, लक्षण र वर्णको विस्तारपूर्वक वर्णन गरिएको छ। शालिग्रामको परिमाण र आकारका विषयमा पनि चर्चा भएको छ। ब्रहृमाण्ड पुराणमा उल्लेख भएअनुसार शालिग्राम पूजाबाट जीवनको परम उद्देश्य धर्म, अर्थ, काम र मोक्ष चारै किसिमका पुरुषार्थ प्राप्त हुन्छन्।

शालिग्राममा प्राकृतिक रुपमा नै शंख, चक्र, गदा, पद्म आकार कुदिएको पाइन्छ। यस्ता चिन्ह अंकित शिला अत्यन्त कम मात्रामा भेटिने र ती बहुमूल्य हुने आचार्यले जानकारी दिए। स्कन्दपुराणमा उल्लेख भए अनुसार यस्ता शिलाबाट सर्पभय, अग्निभय, दुःख, दारिद्रय नास हुन्छ। केवल पद्म आकारको शिला पनि शुभदायक हुन्छ। कुनै शिलालाई वराहशिला भनिन्छ। शूल र कमलको चिह्न अंकित शिलालाई ‘वैनतेय’ शिला भनिन्छ।

धार्मिक ग्रन्थहरूमा टुक्रिएको, टुटेफुटेको शालिग्राम पूजा गर्नु हुँदैन भनिएको छ। दाम्पत्यजीवन सफल र सौभाग्यशाली बनाउन चाहनेले तुलसीदलबिना शालिग्राम पूजन गर्नु हुँदैन भनिएको छ। ब्रहृमाण्ड पुराणले जलमा रहेको शिला कमलो र नरम अनि जमिनमा रहेको शालिग्राम कडा र सुख्खा हुन्छ भनेको छ। दुवै शिला पूजनीय छन्।

घरमा पूजा गर्ने शालिग्राम कालो चिल्लो हुनुपर्छ भनिएको छ। शालिग्रामको नित्य उपासना गर्ने व्यक्ति निरोगी र पूर्ण आयुको हुने र उसका ब्रहृमहत्यादि ठूला पाप भए पनि सबै पखालिने कुरा स्कन्दपुराण हिमवतखण्डमा बताइएको छ।

म्याग्दीका पण्डित निलकण्ठ आचार्यका अनुसार मृत्युपछि वैकुण्ठबास चाहनेले हरदम शालिग्रामको उपासना गर्नुपर्ने कुराको चर्चा पुराणमा छ। पितृ श्राद्धमा शालिग्रामको जल, विष्णुपादुका नभई हुँदैन।

आर्थिक महत्व

शालिग्राम केवल धार्मिक महत्वले मात्रै होइन आर्थिक दृष्टिकोणले समेत अत्यन्त महत्वपूर्ण मानिन्छ। शालिग्राम भित्र सुनलगाएतका बहुमूल्य धातुहरू हुने भएकाले विशेषगरी भारतीय मूलका व्यक्तिहरूले दामोदरकुण्डदेखि गुल्मीको रिडीसम्मको कालीगण्डकी क्षेत्रबाट व्यापकरुपमा शालिग्रामको चोरी निकासी गरिरहेका गुनासाहरू आए पनि नेपाल सरकारले शालिग्रामको चोरी निकासी नियन्त्रण गर्न सकिरहेको छैन।

कालीगण्डकीको शालिग्राम पछिल्लो समय भारतहुँदै तेस्रो मुलुक (युरोप,अमेरिका) तिर निर्यात भइरहेकाे भन्ने व्यापक गुनासो सुनिन थालेको भारतको इब्राइमपुरस्थित रंगवेंकटेश मन्दिरका आचार्य टीकादत्त सिग्देलले जानकारी दिए।

तेस्रो मुलुकमा शालिग्राम महङ्गो मूल्यमा बिक्री हुने गरेको बताइएको छ। त्यहाँ संगमरमरको बीचबीचमा शालिग्राम शिला बिछ्याइने गरिएको, शालिग्रामलाई फोडेर धातु निकाल्ने गरिएको जानकारहरूले बताएका छन्। नेपाल र भारतमै पनि चिल्लो कालो एउटै शालिग्राम लाखौंको मूल्यमा बिक्री हुने गरेको शालिग्रामको महत्वलाई बुझ्नुभएका म्याग्दीका पण्डित भीमनाथ पराजुलीले बताए। शालिग्राममा देखिने विभिन्न प्रकारका रेखा तथा चक्र कुनै व्यक्तिविशेषले बनाएको नभई गंगामा पाइने एक प्रकारको कीराले बनाउने उनले जानकारी दिए।

मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले शालिग्रामको महत्व धेरै भए पनि त्यसको अवैध चोरी निकासी बढ्दै गएको बताए। कालीगण्डकीमा मात्र पाइने शालिग्राम विभिन्न माध्यम हुँदै छिमेकी मुलुक भारतका ठूलाठूला धार्मिक स्थलसम्म पुग्ने गरेका उनको भनाइ छ।

कागबेनी क्षेत्रमा शालिग्राम प्रशस्तमात्रामा पाइने बताइएको छ। उक्त क्षेत्रमा तुलनात्मक रूपले धेरै शालिग्राम पाइने विश्वास गरिन्छ। काली र गण्डकी दुई नदीको बीचमा रहेको पर्वतबाट हिउँसँग पग्लेर शालिग्राम गण्डकीमा आउने पुजारी सुवेदीको भनाइ छ।

स्वास्थ्यका लागि अमृत जस्तै हो शालिग्राम

धार्मिक र आर्थिक दृष्टिकोणबाट मात्रै नभइ शालिग्राम मानव स्वास्थ्यका लागि समेत अत्यन्त महत्वपूर्ण रहेको बताइएको छ। शालिग्राम छोइएको पानी पिउँदा शरीरलाई समेत फाइदा पुर्‍याउने पण्डित पराजुलीको भनाइ छ। ‘यसमा विभिन्न धातु मिसिएका हुन्छन्, त्यसैले वैज्ञानिकहरूले पनि शालिग्राममा भिजाएको पानी पिउनयोग्य हुने प्रमाणित गरेका छन्’, पराजुलीले भने।

आयुर्वेदिक चिकित्सकहरूले पनि पानीमा शालिग्राम डुवाएर राख्ने र आधा घण्टापछि त्यो पानी सेवन गर्ने हो भने अम्लपित्त, कफ, पेटका विकार,चर्मरोग लगायतका रोगहरू निको हुने बताउँछन्।

आयुर्वेदिक चिकित्सक विष्णु सापकोटाका अनुसार नियमित रुपमा एक महिनासम्म शालिग्राममा तुलसीको पात राखेर एक लिटर पानीमा डुबाएर आधा घण्टापछि त्यो पानी सेवन गर्ने हो भने ग्याष्ट्रिक लगायत पेटका विकार सम्वन्धि सम्पूर्ण रोगबाट छुट्कारा पाउन सकिन्छ। 

खल्बलिदै कालीगण्डकीको जलचक्र प्रणाली

डोजर र स्काभेटरले जथाभावि उत्खनन् गर्दा कालीगण्डकी नदीको जलचक्र प्रणाली नै खल्बलिँदै गएको छ। बालुवा, ढुंगाजस्ता नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन्का कारण नदीले आफ्नो मौलिक र प्राकृतिक धार परिवर्तन गर्नुका साथै त्यहाँका जलचर प्राणीहरू बसाइ सर्दै गएपछि नदीको जलचक्र प्रणाली नै खल्बलिएको वतावरणविद्हरूले बताउँदै आएका छन्।

सर्वोच्च अदालतले समेत गत साउनमा नदी उत्खनन्, नदीमा फोहोर विर्सजन नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ। तर, चोरी निकासी भने रोकिएको छैन। पछिल्लो समय मानवीय अतिक्रमणका कारण संकुचित हुँदै गएको पवित्र कालीगण्डकी बचाउँनका लागि युवा अभियानकर्मीहरूले पोस्टर आन्दोलन कविता शृङ्खला ‘नदी सप्तक’ अभियान समेत सुरु गरेका छन्। 

यति हुँदाहुँदै पनि राज्यले प्रभावकारी कदम चाल्न नसक्दा नदीको दोहन,उत्खनन्,अतिक्रमण र नदीजन्य पदार्थ र बहुमूल्य दुर्लभ शिला शालिग्रामको चोरी निकासी भने रोकिएको छैन।

नदीको जलचक्र प्रणाली परिवर्तन हुँदा प्राकृतिक र मानवीय संकट समेत बढ्दै गएको छ। नदीले मौलिक धार परिवर्तन गर्दा बाढी र पहिरोका कारण तटीय बस्तीहरू जेखिममा पर्दै जान थालेका छन्। नदी साविकको भन्दा गहिरो र साँघुरो बन्दै गएको दानाका व्यवसायी इन्द्रमान शेरचनले बताए। उनका अनुसार जलचक्र प्रणालीमा आएको परिवर्तनले बाढी, पहिरो र नदी कटानको जोखिम उच्चरुपमा बढ्दै गएको छ।

कालीगण्डकी नबिगार्न सर्वोच्च अदालतको अन्तरिम आदेश

कालीगण्डकी नदीको प्राकृतिक बहाव र पर्यावरण प्रतिकूल हुनेगरी कुनै पनि कार्य नगर्न र नगराउन सर्वोच्च अदालतले गत साउनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय समेतलाई अन्तरिम आदेश दिएको छ।

तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले विवादको अन्तिम आदेश नभएसम्मका लागि कालीगण्डकी नदीको प्राकृतिक बहाव र पर्यावरण प्रतिकूल हुनेगरी कुनै कार्य नगर्न मन्त्रिपरिषद्को कार्यालयसमेतलाई अन्तरिम आदेश दिएको हो।

‘कालीगण्डकी नदी धार्मिक, ऐतिहासिक तथा पर्यावरणीय महत्वको देखिएकोले प्रस्तुत रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म उक्त नदीको प्राकृतिक बहावलाई पथान्तरण गरी रिर्जबवायर  बनाउने, प्रदूषण गर्ने, नदीजन्य पदार्थहरू निकाल्ने, शालिग्राम निकाल्ने, शालिग्रामको चोरी निकासी तथा विनाश गर्ने लगायतका अन्य प्राकृतिक बहाव र पर्यावरण प्रतिकूल हुनेगरी कुनै पनि कार्यहरू नगर्नु नगराउनु र यथास्थितिमा राख्नु भनी विपक्षीको नाममा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) बमोजिम अन्तरिम आदेश जारी गरिएको सर्वोच्चको आदेशमा उल्लेख गरिएको छ।

कालीगण्डकी बचाउन कविता शृङ्खला नदी सप्तकअभियान

कालीगण्डकी नदीको सौन्दर्यलाई क्षयीकरण हुन नदिन युवाहरूको समूहले पोस्टर आन्दोलन कविता शृङ्खला ‘नदी सप्तक’ अभियान गरेको छ। अभियानले कालीगण्डकी माथि रचिएका कवितालाई ‘पोस्टर कविता’का रुपमा विभिन्न संचारमाध्यमहरूमार्फत सार्वजनिक गर्दै आएको छ।

अभियान कालीगण्डकी नदी माथि भइरहको अवैध दोहनविरुद्ध लक्षित छ। राष्ट्रकवि स्व.माधवप्रसाद घिमिरेले वि.सं. २०१५ मा लेखेको कविता ‘कालीगण्डकी’ बाट ‘नदी सप्तक’ कविता शृङ्खला सुरुआत गरिएको अभियानका अगुवा आरके अदिप्त गिरीले बताए।

यस कविता शृङ्खलामा सयभन्दा बढी कविका रचना समावेश हुने अभियानले जनाएको छ। कालीगण्डकी नदीमा भैरहेको अतिक्रमण रोक्न र नदीको महिमालाई उजागर गर्न साहित्यको सहारा लिनुपरेको जनाइएको छ।

यहाँका नदी र पर्यावरणप्रेमी स्वयंसेवी युवाको पहलमा अभियान अगाडि बढिरहेको छ। अभियानले बालुवा, गिटी उत्खननका नाममा कालीगण्डकीमाथि चलिरहेको दोहनको चक्र सबै मिलेर तोड्नुपर्ने बताउँदै आएको छ।

यथाशक्य चाँडो नदीलाई प्राकृतिक लयमा नफर्काउने हो भने कालीगण्डकीको अस्तित्व नै नामेट हुने अभियानकर्मीको भनाइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.