सबै माओवादी धार एक भए ‘नयाँ जनयुद्ध’ जित्ने प्रचण्डकाे प्रक्षेपण

|

काठमाडौं : ‘कहिलेकाहीँ मलाई पनि यस्तो लाग्छ। १/२ वर्ष जतिमा एक्लो पो हुने हुँ कि? माओले भनेजस्तै ‘म एक्लो हुँ’ भन्नुपर्ने हो कि? कहिलेकाहीँ यस्तो चित्र पनि मेरो दिमागमा आउँछ के। तपाईंहरू यो पनि चिन्तन, मनन गरिदिनुहोला’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भदौ २७ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा भनेका थिए। 

०५२ सालदेखि दशवर्षे जनयुद्धका सारथि गुमाएपछि प्रचण्डले आफूलाई एक्लो महसुस गरिरहेका छन्। राजनीतिक वृत्तलाई आफ्नै शक्तिकेन्द्रमा खिच्न चाहने प्रचण्डले अहिले फेरि पूर्वमाओवादी एकताको पहल थालेका छन्। तर, माओवादी छिन्नभिन्न भइसकेको अवस्थामा प्रचण्डको पहललाई कतिपयले असम्भव भनिरहेका छन्। 

प्रचण्डले माओवादीबाट एक्लिँदै गएपछि बाबुराम भट्टराई, मोहन वैद्य, नेत्र विप्लव चन्दलगायतको एकताको पहल गरिरहेका छन्। नेकपाको एकता भंग भएपछि एमालेमै रहेका केही नेतालाई पनि पार्टीमा फर्काउने कसरत प्रचण्डले नगरेका होइनन्। 

माओवादीबाट एमालेमै रहेका प्रभु साहलाई पार्टीमा फर्काउन प्रचण्ड पनि सकारात्मक छन्। प्रदेश २ मा साह प्रभावशाली नेता मानिन्छन्। साहबाहेकका प्रचण्डका जनयुद्धका सारथि रामबहादुर बादल, लेखराज भट्टलगायतका नेताहरू माओवादीमा फर्किने सम्भावना असम्भव देखिन्छ।   

माओवादी दशवर्षे जनयुद्धपछि शान्ति प्रक्रियामा आएको डेढ दशक पुग्दा प्रचण्ड अहिले एक्लिँदै गएको स्वभाविक र सत्य हो। त्यो कुरा उनका पछिल्ला अभिव्यक्तिबाट प्रष्ट बुझ्न सकिन्छ। माओवादीमा प्रचण्डसँग असन्तुष्टि राखेर ०६९ मा मोहन वैद्य पार्टीबाट बाहिरिए। 

पूर्वमाओवादीहरूको आ-आफ्नै अडान र एमालेसँग सहकार्यसम्मको बाटोमा लागिसकेपछि प्रचण्ड अझै एकताको एकोहोरो प्रस्ताव अगाडि बढाइरहेका छन्। प्रचण्डसँग रुष्ट बनेर गएका नेताहरूले भने त्यसलाई अझै गम्भीरतापूर्वक लिएका छैनन्। 

प्रचण्डलाई वैद्यपछि ०७२ मा बाबुरामले छाडे। बाबुराम नयाँ पार्टी दर्ता गरेर अघि बढ्न नसक्ने देखिएपछि मधेश केन्द्रित जनता समाजवादी पार्टी जसपामा विलीन भए। प्रचण्डकै जोडबलले ०७५ जेठ २ मा भएका एमालेसँगको एकताले पनि घाटाकै व्यापार गर्‍यो। केपी शर्मा ओलीसँगको विद्रोहका बीचमा प्रचण्डले आफ्ना नेताहरू समेत गुमाउन बाध्य भए। 

पूर्वमाओवादीहरुको आ-आफ्नै अडान र एमालेसँग सहकार्यसम्मको बाटोमा लागिसकेपछि प्रचण्ड अझै एकताको एकोहोरो प्रस्ताव अगाडि बढाइरहेका छन्। प्रचण्डसँग रुष्ट बनेर गएका नेताहरूले भने त्यसलाई अझै गम्भीरतापूर्वक लिएका छैनन्। 

एमालेसँगको एकताले सँगै युद्ध लडेका रामबहादुर थापा (बादल), लेखराज भट्टदेखि मणि थापासम्मका नेता गुमाए। त्यसो त प्रचण्डलाई छोडेर एमालेमा रहेका पूर्व खानेपानीमन्त्री समेत रहेका नेता मणि थापा तत्कालै माओवादीमा फर्किने कुरा सम्भव नभएको बताउँछन्। 

उनी भन्छन्, ‘हामी एमाले भइसक्यौँ। हामीले प्रचण्डभन्दा ओलीलाई नै नेतृत्व मानेका आएका हौँ। त्यसैले माओवादीमा फर्किने सम्भावना छैन।’

माओवादी छाडेका विप्लव, गोपाल किराँती, विश्वभक्त दुलाल (आहुति)हरु पनि नयाँ यात्रामा छन्। 

एकताबारे के भइरहेको छ? 

प्रचण्डको अध्यक्षतामा बसेका माओवादी केन्द्रको स्थायी कमिटी बैठकले वाम शक्तिको एकताका लागि पहल गर्ने निर्णय समेत गरेको थियो। एमालेबाट माधव नेपालले विद्रोह गरेर एकीकृत समाजवादी पार्टी दर्ता गरेपछि प्रचण्डले समाजवादीसँग पार्टी एकता गर्ने सबैको आँकलन थियो। 

समाजवादीका अध्यक्ष नेपालले माओवादीसँग पार्टी एकताको कुनै सम्भावना नभएको पटक पटक बताइरहे। अहिले प्रचण्ड बारबार पूर्वमाओवादी एकताको कुरा दोहोर्‍याइरहेका छन्। 

गत शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले भनेका थिए, ‘हामी फुटेपछि प्रतिक्रियावादीले हेप्ने र घेरा हाल्ने काम गरिरहेका छन्। मोहन वैद्य, विप्लव, बाबुरामलगायत सबै माओवादी धारा एक ठाउँमा आउने हो भने नयाँ जनयुद्ध जित्न सकिन्छ।’

प्रचण्डले पूर्व माओवादी एकताबारे अनौपचारिक रूपमा कुराकानी भइरहेको शिक्षामन्त्री तथा माओवादी स्थायी कमिटी सदस्य त देवेन्द्र पौडेल बताउँछन्। 

उनी भन्छन्, ‘एकताको पक्षमा त हामी जहिल्यै पनि खुला नै छौँ। पूर्वमाओवादीहरू एकजुट हुनुपर्छ भनेर अनौपचारिक छलफल चाहिँ चलेको छ।’ 

‘आत्मसमीक्षा गर्नुपर्छ’

पूर्वमाओवादी एकताबारे अब अध्यक्ष प्रचण्डले आफूलाई आत्मसमीक्षा गरेर अगाडि बढ्नुपर्ने जनसांस्कृतिक महासंघ नेपालका केन्द्रीय अध्यक्ष सरल सहयात्री पौडेल बताउँछन्। 

उनी भन्छन्, ‘अहिले उहाँ (प्रचण्ड)ले बारम्बार एक्लिएको महसुस गर्नुहुन्छ। यसको कारण आज पनि नेतृत्वमा निरन्तर रहिरहेकाले गर्दा प्रचण्डले नै आत्मसमीक्षा गर्नुपर्छ। सबैलाई समेटेर प्रचण्डले पुरानै गतिमा फर्कन सक्नुहुन्छ।’

प्रचण्डले नयाँ पुस्तालाई नेतृत्व सुम्पेर एकीकृत वैचारिक अभिभावकत्व ग्रहण गरेर क्रान्तिलाई गन्तव्यको मार्गमा फेरि खडा गर्न सक्ने उनको भनाइ छ। 

हामी मात्रै भएर पनि त पुग्दैन। नयाँ जनसंख्या आयो, तिनलाई समेट्नु परेन? हामीले हिजोका मात्रै गला मिलाएर बस्छौँ भनेर हुन्छ? सही विचार, नीति, कार्यक्रम र योजनाको आधारमा फेरि नयाँ ढंगले चाहिँ हामी अगाडि बढौं।

एकताबद्ध माओवादीमा मोहन वैद्य किरण शास्त्रीय मार्क्सवादको धरोहर भएको उनी स्मरण गर्छन्। 

पूर्वमाओवादीबारे स्मरण गर्दै उनी भन्छन्, ‘बाबुराम भट्टराई आधुनिक समाजको बौद्धिक तप्का र राजनीतिक वैचारिक बहसको एक मानिएको व्यक्तित्व हुनुहुन्थ्यो। विप्लव युवा जोश र वैचारिक छलाङका लागि पार्टीभित्र बहस सृजना गर्ने जोशिला व्यक्तित्व हुनुहुन्थ्यो।’

प्रचण्डसँग सहयात्रा तोकेर एमालेमा लागेका बादलले आफूमाथि कालो दाग लगाएकै टिप्पणी गर्छन्। ‘उहाँले आफूमाथि कालो बादल नै लगाउनुभयो। यद्यपि उहाँ जनयुद्धका एक सफल संगठनकर्ता मानिनुहुन्थ्यो’‚ नेता पौडेलले भने।  

माओवादी यात्रालाई यहाँसम्म ल्याउनका लागि सबैले भूमिका खेलेपछि सबैलाई एकीकृत मार्गमा डोहोर्‍याउने नेतृत्वदायी भूमिका प्रचण्डले नै खेलेको उनकाे भनाइ छ। 

नेताहरूले नेतृत्वले आत्मसमीक्षा गरेर पूर्वमाओवादीहरू एकै ठाउँमा आउनुपर्ने बताएजस्तै प्रचण्ड आफू सुध्रिएको बताउँदै आइरहेका छन्। आफू बाहेक दोस्रो पुस्ताबाट नेतृत्व गर्न सक्ने कोही नभएकाले अझै केही वर्ष पार्टीलाई आफ्नै आवश्यकता रहेको बताइरहेका छन् प्रचण्ड। 

प्रचण्डपछि माओवादीमा नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, वर्षमान पुनलगायत नेता आशलाग्दा देखिएका छन्। तर, उनीहरूमाथि प्रचण्डको विश्वास पुगेको छैन।  

यसो भन्छन् बाबुराम  

प्रचण्डले निरन्तर पूर्वमाओवादी एकताको प्रस्ताव गर्दैगर्दा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वमाओवादीहरू एक ठाउँमा आउने विषय ‘भावनात्मक कुरा’ मात्रै भएको टिप्पणी गरिरहे। 

गत शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डको प्रस्तावपछि भनेका थिए, ‘भावनाको हदसम्म साथीहरूले भनेको कुरा सही छ। तर, त्यो भावनालाई ज्ञान र विज्ञानमा पनि त परिणत गर्नुपर्‍यो। विवेकसँग ज्ञानमा पनि बदल्नुपर्‍याे। त्यो भनेको नयाँ विचार हो। नयाँ विचार सँगसँगै पार्टीको पनि नयाँ संगठन, नयाँ ढाँचा हो।’ 

अग्रगामी शक्तिहरू प्रतिगमनविरुद्ध एक हुने, सहकार्य गर्ने, आवश्यक परे चुनावी तालमेल पनि गर्ने र भोलि गएर बहस, छलफल गरेर फेरि एकै ठाउँमा आउने कुरा सम्भव भएको उनले बताए। 

‘हामी मात्रै भएर पनि त पुग्दैन। नयाँ जनसंख्या आयो, तिनलाई समेट्नु परेन? हामीले हिजोका मात्रै गला मिलाएर बस्छौँ भनेर हुन्छ? सही विचार, नीति, कार्यक्रम र योजनाको आधारमा फेरि नयाँ ढंगले चाहिँ हामी अगाडि बढौं। पूर्व माओवादीहरू नयाँ नयाँ ठाउँमा गए देशकै लागि मात्र नभई विश्व मानव जातिकै निम्ति योगदान गर्न सकिन्छ।’ उनको भनाइ थियो। 

पूर्वमाओवादी एकै ठाउँ आऊँ भन्नु भन्दा पनि सबै पूर्वमाओवादीहरू नयाँ नयाँ ठाउँमा जानुपर्ने उनको तर्क थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.