|

काठमाडौं : साफ च्याम्पियनसीप फुटबलमा भोलि आइतबार नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ।

२ खेलमा २ अंक जोडेको भारतका लागि २ खेलमा ६ अंक जोडेको नेपाल जारी प्रतियोगितामा बलियो प्रतिद्वन्द्वी बनेको छ। साफ च्याम्पियनसीपको इतिहासमा नेपालले भारतलाई कडा चुनौति दिन सकेको छैन। यो संस्करणमा भने भारतका लागि नेपाल फाइनलमा पुग्न चुनाैतिका रुपमा रहेको छ।

साफको सर्वाधिक सफल टिम भारत नेपालको तुलनामा आइतबारको  खेलमा बढी दबावमा रहनेछ। आइतबारको खेल भारतका लागि जित्नैपर्ने छ। उसका लागि हार या बराबरीले फाइनल यात्रा कठिन हुनेछ। यस्तो नतिजा आएमा माल्दिभ्स र बंगलादेशलाई फाइदा पुग्नेछ। आइतबारको खेलमा नेपाल भने कम दबावमा रहनेछ। नेपाललाई जितले फाइनलमा पुर्‍याउँदा, बराबरीले पनि फाइनलको संभावना बढाउँछ भने हारले पनि सम्भावना जिवितै राख्छ।

यसपछि नेपालले बंगलादेशसँग खेल्न बाँकी छ। ५ देश सहभागी प्रतियोगिताको तालिकामा नेपाल ६ अंकसहित पहिलो, बंगलादेश ४ अंकसहित दोस्रो , माल्दिभ्स ३ अंकसहित तेस्रो, भारत २ अंकसहित चौथो र श्रीलंका १ अंकसहित ५ औँ स्थानमा छ। जारी प्रतियोगितामा नेपालले अघिल्लो दुई खेलमा शतप्रतिशत जित निकालेको थियो।

पहिलो खेलमा माल्दिभ्सलाई १-० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३-२ ले पाखा लगाएको थियो। लगातारको दुई जितले नेपाल फाइनल नजिक रहेको छ। साफको सर्वाधिक सफल टिम भारतलाई भने फाइनल पुग्न अबको बाँकी दुई खेल जित्नै पर्ने दबाव रहेको छ। पहिलो खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको भारतले दोस्रो खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो।

नेपालका लागि कठिन :अल्मुताइरी

​नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतविरुद्धको खेल नेपाललाई कठिन हुने बताएका छन्। साफ च्याम्पियन्सीप अन्तर्गत भारतविरुद्धको खेलअघिको प्रिम्याच कन्फ्रेन्समा माल्दिभ्सको मालेमा बोल्दै प्रशिक्षक अल्मुताइरीले नेपालका लागि यो खेल जितका निम्ती कठिन हुने बताएका हुन्।

भारत दक्षिण एशियाली क्षेत्रको उत्कृष्ट टिम भएकाले अल्मुताइरीले भारतलाई हराउने नेपालको सम्भावना अत्यन्त कम रहेको आँकलन गरेका छन्। साफ च्याम्पियनसीपको ७ पटकको च्याम्पियन भारत इतिहासमा नेपालमाथि सधै हाबी हुँदै आएको छ।

प्रशिक्षक अल्मुताइरीले ९५ प्रतिशत भारतको पक्षमा खेल जाने र १ प्रतिशत मात्र नेपालले जित्ने अनुमान गरेका छन्। उनका अनुसार  ४ प्रतिशत बराबरी हुने संभावना छ।

'मेरो विचारमा भारतले ९५ प्रतिशतले खेल जित्ने सम्भावना छ। ४ प्रतिशत बराबरी र १ प्रतिशत नेपालले जित्ने सम्भावना छ,’ उनले भने, 'मलाई आशा छ हामी भारतसँग हार्ने छैनौँ, हामीले राम्रो खेलले सकेसम्म रोक्ने प्रयास गर्नेछौँ।’

राम्रो तयारी गरेका छाैं : कप्तान चेम्जोङ

नेपाली टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले भारतविरुद्धको खेलका लागि राम्रो तयारी गरेको बताएका छन्। उनले बलियो टिमलाई हराउन तयारी राम्रो गरेको बताएका हुन्। 

नेपालविरुद्ध  जित्नकै लागि खेल्ने : भारतीय प्रशिक्षक 

यस्तै नेपालविरुद्धको खेल अघिको प्रिम्याच कन्फ्रेन्समा भारतीय प्रशिक्षक इगोर स्टिमाचले नेपाली टोलीको प्रशंसा गरेका छन्। उनले नेपाली टिमले उत्कृष्ट खेलिरहेको र ६ अंकको लागि योग्य भएको बताए।

प्रशिक्षक इगोरले श्रीलंकाविरूद्धको खेलबाट निराश भएको बताउँदै अब नेपालविरुद्धको खेल जितको रणनीतिका साथ अघि बढ्ने बताए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.