|

बुटवल : बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा शुक्रबार दिउँसो भएको झडपमा मृत्यु भएका ४ जनामध्ये एक जनाको पहिचान खुलेको छ।

मृतकमध्ये एक कपिलवस्तु बाणगंगा–१० का ४८ वर्षीय रमेश परियार रहेको सुरक्षा स्रोतले जानकारी दिएको छ। उनी युनिभर्सल कलेज अफ साइन्सेज भैरहवामा उपचारका लागि लगिएका ८ जनामध्ये एक हुन्।

त्यहाँ ८ जना सर्वसाधारण र ५ जना प्रहरीलाई उपचारका लागि लगिएको अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरुङले जानकारी गराएका छन्।

उनका अनुसार ३ जनाको अस्पताल पुग्नुअघि नै मृत्यु भएको थियो। एक जनाको उपचारका क्रममा मृत्यु भएको हो।

बाटोमै मृत्यु भएकाको पहिचान खुल्न बाँकी छ। चारै जनाको शव भैरहवा मेडिकल कलेजमा रहेको अस्पताल प्रशासनले जनाएको छ।

तर रूपन्देहीका सुरक्षा अधिकारीले मृत्युको आधिकारिक पुष्टि गरेका छैनन्।

अस्पतालमा घाइते गुल्मी–४ रैतौलीका वर्ष ३३ का जंगबहादुर परियार,  हुमिन–४ पाल्पाका वर्ष ३५ का गंभीरसिंह डिसा, तानसेन–१० पाल्पाका वर्ष ३८ का प्रेम बिक, नवलपरासी प्रतापपुर ठूलो खरेताका वर्ष २२ का सरबेश केवटको उपचार भइरहेको छ।

अन्य घाइतेको बुटवलको प्रादेशिक अस्पताल, भैरहवाको मेडिकल कलेजलगायत अस्पतालमा उपचार जारी रहेको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक नविन पौडेलले बताए।

मेडिकल कलेजमा प्रहरीहरू वर्ष २१ का महेन्द्र वली, वर्ष २२ का निरशंकर केसी, वर्ष २६ का सुरेन्द्र रोकाया र वर्ष ३० का खगेन्द्रप्रसाद यादवको उपचार भइरहेको छ।

प्रहरीहरू कसैको हातखुट्टा भाँचिएका छन् भने शरीरमा चोटपटक लागेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.