|

पर्वत : डोटीकी चन्द्रिका देउवा अहिले जिल्ला प्रहरी कार्यालय पर्वतमा कार्यरत प्रहरी जवान हुन्। उनी पर्वत सरुवा भएको त धेरै भएको छैन तर परिवारसँगै बसेर दशैँ नमनाएको २/३ वर्ष भयो।

दशैँका बेला कर्तव्य पूरा गर्नका लागि कहिले कता कहिले कता कुदिरहेकी उनलाई आजभोलि दशैँमा घर जानै पर्छ भन्ने पनि लाग्दैन।

‘भर्ती हुनासाथ त घरको याद कति हो कति आउने, जति बेला पनि घर सम्झिने। झन् चाडबाडका बेला त घरपरिवारकै यादले सताउने’, चन्द्रिका भन्छिन्, ‘आजभोलि त बानी परिसकेको छ, चाडबाड आउँदा सुरक्षाकर्मीको व्यस्तता बढी हुन्छ। घर जानभन्दा यतै कर्तव्य पूरा गर्न आनन्द आउँछ।’

उनलाई हरेक वर्ष चाडबाडमा घर जानै पर्छ भन्ने लाग्दैन। सबै सुरक्षाकर्मी चाड मान्न घर जाने हो भने नागरिकको जीउधनको सुरक्षा कसले गर्ने?

घर जान नपाए पनि आफू कार्यरत प्रहरी युनिटमा सिनियरबाट टीका थाप्ने, गीत गाउने, सबैले खुशी साटासाट गर्ने गरेर पनि घरको न्यास्रो भुलाउने बानी परेको देउवाको भनाइ छ।

जिल्ला प्रहरी कार्यालयमै रहेका प्रहरी हवल्दार हरिप्रसाद शर्मा पनि यो वर्ष बिदामा नजाने भएका छन्।

प्रहरीको मोबाइल भ्यान ड्युटी व्यवस्थापनमा खटिने उनी चाडबाडका बेला सुरक्षा चुनौती बढी हुने भएकाले चाडबाडभन्दा अघिपछिको समयमा घर जान पाए कसैले दुःख नपाउने बताउँछन्।

जागिर खानु भनेको छोरीले माइती छाडेजस्तै व्यक्तिले व्यक्तिगत जीवन छाडेको हुने उनको भनाइ छ।

‘छोरीलाई बिहे गरेर दिँदा जे हुन्छ। उनको अस्तित्व उनीसँग मात्र रहँदैन, हाम्रो जागिर पनि त्यस्तै हो। देशको सेवाका लागि कसम खाएर आएका हामी व्यक्तिगत फाइदामा भुल्न पाइँदैन। सुरक्षाकर्मीको बढी काम आउने बेला नै यही हो’, उनले भने, ‘व्यक्तिगत जीवनमा के मजा छ र जति मजा सामुदायिक र सामाजिक जीवनमा छ। दशैँमा कहीँ, कतै केही हुन नदिनु नै मेरो कर्तव्य हो।’

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदीप पौडेल पनि दशैँमा घर नजाने भएका छन्।

देशको सेवाका लागि खटिने सुरक्षाकर्मीलाई चाडभन्दा देश र जनता ठूलो हुने भएका कारण घर गएर लिइने आनन्दभन्दा पेशागत कर्तव्य पूरा गर्नु नै आफूहरूको दायित्व भएको उनको भनाइ छ।

‘कुनै पनि चाडबाडमा घर नजाने भन्ने त हुँदैन नि, पालो गरेर कहिले को कहिले को गएका हुन्छौँ। पेशागत कर्तव्य पूरा गरेर सुरक्षा दिनका लागि खटिएका मान्छेले घरै दौडिन खोजेर पनि त भएन’‚ इन्स्पेक्टर पौडेल भन्छन्, ‘प्रहरीको पोशाकमा सजिएपछि यी आँखाले घरपरिवार बिर्सिएर सुरक्षा र सतर्कता देखिरहेको हुन्छ। सम्झना आइहाले पनि पारिवारिक भेटघाट ठूलो लाग्दैन, यही काम गर्छु भनेर खाएको शपथ हो।’

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले दशैँमा घर जान नपाए पनि प्रहरी एकाइमै टीका लगाएर हर्षोल्लासका साथ दशैँ मनाउने बताए।

पालोअनुसार घर बिदामा जाने चलन भएकाले घर जान नपाएकालाई सिनियरहरूबाट तल्लो दर्जामा रहेकालाई टीकाजमरा लगाइदिने प्रचलन रहेको बताए।

चाडबाडका बेला चोरी, लुटपाट, सवारी दुर्घटनालगायत जोखिम हुने भएकाले प्रहरी यो बेला झनै सक्रिय हुनुपर्ने भएकाले घर जान नपाएकाहरूले जनताको सेवालाई उच्च ठान्ने गरेको डिएसपी बुढाथोकीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.