|

काठमाडौं : नेपालमा पुनः कोभिड–१९ संक्रमण फैलिएपछि वैशाख १६ बाट निषेधाज्ञा जारी भयो। निषेधाज्ञाका कारण सबै शैक्षिक संघसंस्था बन्द भए।

विद्यार्थीहरू पढ्नभन्दा अत्तालिँदै घर बस्न बाध्य भए। अहिले केही विद्यालय खुलेका छन्। लामो समयपछि कक्षाकोठामै पढ्न पाउँदा खुसी छन्। यो वर्षको दशैं आगमनसँगै उनीहरूको चिन्ता र त्रास हट्दै गएको छ।

उनीहरूले परिवारसँग धुमधाम दशैं मनाउने सोच बनाएका छन्। जोरपाटीस्थित कुटुम्ब कलेजमा अध्ययनरत भोजपुरकी जुना राई यो वर्षको दशैं काठमाडौंमै मनाउँदै छिन्। ‘यो वर्ष कोरोना जोखिम कायमै भएकाले काठमाडौंमै सानीको छोराछोरीसँग यही भएको मामाघरमा गएर टीका लगाउनेछौँ, चंगा उडाउने, पिङ खेल्नेछौँ’, उनले भनिन्। उनले बाँकी समयमा विभिन्न उपन्यास पढ्ने योजना बनाएको बताइन्।

स्नातक तह तेस्रो वर्षमा अध्ययनरत जुना अघिल्लो वर्षको दशैंमा गाउँ गएकी थिइन्। कोरोना कहरका कारण गाउँ गए पनि बाहिर घुम्न पाइनन्। ‘घरमै बसेर परिवारसँग रमाइलो गर्दै बसेँ, आफन्तसँग भेटघाट गर्‍यौँ, टीका लगाएर आशीर्वाद लियौँ
‚’ उनी भन्छिन्, ‘घरमा परिवार र साथीसँग रमाइलो गर्दै दशैं मनाउनेछु।’

अध्ययनका क्रममा उपत्यकामा बसेका केही विद्यार्थी भने गाउँ गएर दशैं मनाउँदैँ छन्। बौद्धस्थित समता कलेजमा कक्षा–१२ पढिरहेका आशिष मैनाली गाउँ गएर दशैं मनाउँदै छन्। उनको गाउँ काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडानम्बर ५ हो। उनी भन्छन्, ‘घरमा परिवार र आफन्तबाट टीका ग्रहण गरी आशीर्वाद थाप्नेछु, पूजापाठ गर्नेछु।’

उनका अनुसार उनी गत वर्ष पनि दशैंमा गाउँ गएका थिए। त्यो वेला कोभिड महामारीको धेरै त्रास थियो तर यो वर्ष जनजीवन सहज बन्दै गएकाले रमाइलो गरी मनाउने उनको योजना छ। ‘यसपालि गाउँघर नजिकका मनोरम पर्यटकीय स्थल घुम्नेछु’, उनले भने, ‘साथीहरूसँग रमाइलो गरिन्छ।’

कोभिड जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै दशैं मनाउन अरू विद्यार्थीलाई उनको आग्रह छ।

सोह्रखुट्टेस्थित मनमोहन मेमोरियल कलेजमा अध्ययन गर्दै आएकी सुविना तामाङ पनि यो वर्षको दशैं आफ्नै जन्मभूमि दोलखामै मनाउँदै छिन्। आफन्तसँग रमाइलो गर्ने छिन्। कक्षा–१२ को परीक्षा दिइसकेका कारण उनी फुर्सदमा पनि छिन्। अघिल्लो वर्षको दशैं मनाउन कोभिड त्रासले उनी गाउँ गइनन्। ‘यस पालि जन्मभूमिमा आफन्त, दाजुभाइ, साथीसंगीसँग रमाइलो गरी मनाउनेछौँ’, नयाँबजारमा बस्दै आएकी सुविनाले भनिन्।

शहरभन्दा गाउँघरमै दशैंतिहार रमाइलो हुने उनको अनुभव छ। जोसेभ कलेजका विद्यार्थी शम्शेर लामा पनि अघिल्लो वर्षको दशैंमा आफ्नो सिन्धुपाल्चोक गएका थिएनन्। यो वर्षको दशैं भने गाउँमै गएर मनाउँदै छन्। ‘साथीभाइसँग रमाइलो गर्दै पिङ खेल्नेछु’, उनले भने, ‘मामाघर गएर टीका अनि आशीर्वाद पनि ग्रहण गर्नेछु।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.