|

काठमाडौं : मुगुमा आज भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ।

छायानाथ रारा नगरपालिका–७ पिनाटपाने खोलामा भएको बस दुर्घटनामा चालकसहित ३२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार २८ जनाको मुगुमा र चार जनाको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको हो।

प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जानको घटनास्थलमै र चार जनाको ताल्चा विमानस्थलमा मृत्यु भएको हो। 

सुर्खेतबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो पिनागाउँमा दुर्घटना भएको हो। मृतकमध्ये १० जनाको सनाखत भएको छ।

सनाखत भएका १० यात्रु

रारा मध्यवर्ती क्षेत्रका अध्यक्ष बलराम साहानीका अनुसार मुगुमा मृत्यु हुनेमा चालक ३५ वर्षीय दानबहादुर रावल, छायानाथ रारा नगरपालिका–७ का १२ वर्षीय आशिष शाही, १३ वर्षीया सुदिक्षा बम, १६ वर्षीय भग बम, वडा नम्बर १ का १८ वर्षीय मञ्जु मल्ल, वडा नम्बर ८ का २२ वर्षीय सरोज बिताली र नविन बुढा छन्।

यस्तै उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु हुनेमा छायानाथ रारा–१ का चन्द्रप्रसाद भाम, वडा नम्बर ७ का १२ वर्षीय आदित्यविक्रम शाही र वडा नम्बर ८ का २८ वर्षीय टोपबहादुर विष्ट छन्।

कोहलपुरमा उपचारका क्रममा ज्यान गुमाउने एक जनाको पहिचान नखुलेको बाँके प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए।

१२ जना उपचाररत

उपचारका लागि नेपालगञ्ज लगिएका १६ मध्ये १२ जनाको उपचार भइरहेको न्यौपानेले बताए।

घटनास्थलमा मृत्यु भएकामध्ये १६ जना पुरूष, ७ जना महिला र १ जना बालक छन्।

एक जना बालिकाको भने जिल्ला अस्पताल मुगुमै उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको छ। 

बसमा सवारमध्ये तीन जनाले गाडीबाट हाम फालेको र दुई जना दुर्घटना हुनुभन्दा केही समयअघि ओर्लिएको बुझिएको बलरामले बताए।

मृतक, घाइते र गाडीबाट हाम फालेर वा पहिले ओर्लिएर बचेकाहरूको संख्याअनुसार गाडीमा ४९ जना सवार रहेको बुझिएको छ।

यद्दपि प्रहरीले दुर्घटनास्थल भीरमा खोजी गरिरहेको जनाएको छ।

शव जिल्ला अस्पतालमा राखिएको र पोस्टमार्टम गरेपछि आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ।

बसमा सवार अधिकांश काठमाडौं, नेपालगञ्ज, सुर्खेतलगायतका स्थानबाट दशैँ मनाउन घर फर्किएका विद्यार्थी रहेको बुझिएको छ।

स्थानीयका अनुसार मोडमा बसको अगाडिको टायर पञ्चर भएर पड्किएको थियो। टायर पड्किएपछि बस पछाडि भीरमा खसेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.