|
फूलपातीका दिन ज्यालादारी कामको खोजीमा हेटौंडा बजारमा आएका सर्वसाधारण। तस्वीर : श्रीजना नेपाल

हेटौंडा : फूलपातीको दिन, बिहानैदेखि मान्छेहरूले भरिएको हेटौंडा बजार। दशैं लिन गाउँदेखि शहरसम्म आउने र दशैं लिएर शहरदेखि गाउँसम्म जानेको रौनक।

कोही घण्टौं हिँडेर दशैं किन्न आएका र कोही घण्टौं हिँडेर दशैं बेच्न आएकाहरूको भीडमा एक हुल दशैंको समयमा आफूलाई किन्न आउनेको पर्खाईमा थियो।

वरिपरि लत्ताकपडा, फलफूल, खानेकुरा, मोबाइल फोन धेरैधेरै वस्तु खरिदबिक्री भइरहेको थियो। सबैले ती सामानको मोलमोलाई गर्दै थिए।

त्यो सबै दृश्य हेर्दै थिए, केशव ठकुरी। उनलाई पनि त्यो सामानको जस्तै आफ्नो मोल तोक्ने खरिदकर्ताको पर्खाइ थियो। दशैं त ६ दिनअगाडि घटस्थापनादेखि नै लागेको हो।

तर, उनलाई अझै पनि दशैं लागेको छैन। न त उनलाई कुनै हर्ष नै लागेको छ, उनलाई त कसैले आएर खरिद गरेर लग्दिए हरेक दिन दशैं आउँछ र खरिदकर्ता कोही नआए दशैंतिहार केहीको पनि उनले मेसो पाउँदैनन्।

‘काम नपाएको कति धेरै दिन भइसक्यो। आफ्नो हालतको त कुरै छोडौं घरमा परिवारको हालत के भएको होला सोचेरै पीर लाग्छ,’उनले भने।

बैतडी स्थायी घर भएका केशव केही वर्षदेखि हेटौंडालाई कर्मथलो बनाउँदै आएका छन्। उनको दैनिकी हेटौंडाको मुख्य बुद्धचोकमा आफूलाई किन्नेको पर्खाइबाट सुरु हुन्छ।

केशव मंगलबार बिहान पनि सबेरै उठेर बुद्धचोकमा आएर उभिए। थाहाकर्मी पुग्दा पनि उनीसँगै एक हुल मान्छे 'केही काम छ हजुर' भन्दै घेर्न आइपुगेका थिए।

केशवसँगैको त्यो भीड दैनिक ज्याला मजदुरी गर्न जम्मा हुने गरेको छ। उनीहरू हरेकदिन बिहान सोही स्थानमा भेला हुन्छन् र कोही काम लिएर आउनेसँग दिनभरीको ज्यालाको बार्गेनिङ गरेर पछि लागेर जान्छन्।

‘दुई दिन काम भयो भने १० दिन खाली बस्नुपर्छ। अलि अघि एक महिनासम्म भवन निर्माणको काम गर्न पाए। तर पछि पैसा माग्दा यतिको समयसम्म खान दिएको होइन भनेर लखेटे,’ उनले दुखेसो गरे।

जोडाई, ढलान र प्लास्टर जस्ता काम गर्ने उनीहरूले हत्तपत्त काम नपाउने र पाए पनि कतिले काम लगाएर पैसा नै नदिने गरेको गुनासो उनीहरूले गरे।

केशवले दशैंको टीका आउनै लाग्दा घर जाने भाडासम्म नभएकाले बुढाबुढी भएको बाआमाको हातबाट टीका थाप्न जान नसकेको दुखेसो गरे।

निराश हुँदै उनले भने, ‘चाडपर्व त पैसा हुनेले मनाउने हो। हामीलाई त काम पाएको दिन सधैं दशैं हुन्छ र काम नपाए दशैं पनि खल्लो। तर पनि घरमा परिवारले दुखेसो गर्दा भने साह्रै मन दुख्छ।’

सोही भीडमा ठिंग उभिरहेका थिए, इलामका श्याम बस्नेत। उनी अरुभन्दा अलि पढेलेखेको र फूर्तिलो देखिन्थे। उनले १२ कक्षासम्म मूल विषय अंग्रेजी लिएर पढेका रहेछन्।

तर कहीं कतै पनि जागिर नपाएपछि इलामबाट हेटौंडामा दैनिक ज्यालादारी गर्न आइपुगेको उनले सुनाए।

‘यसपालि घरमा दशैंको टीका लगाउन हुँदैन। तर परिवारसँग समय बिताउन त हुन्थ्यो। घर जान छुट्टै पैसा खर्च हुन्छ, यहाँ बसे थोरै भएपनि कमाई हुन्छ कि भन्ने आश छ,’ उनले भने।

उसो त उनले भाडा तिर्न नसकेको भन्दै घरबेटीको कचकच सुन्न थालेको पनि धेरै भइसक्यो। तर उनको घरबेटीको कचकचले मात्रै पनि त उनले काम पाउन सक्दैनन्।

उनले आफ्नो दुखेसो गर्दा गर्दै एउटी महिलालाई काम पाइयो त आजलाई भनेर सोधे। ती महिलाले खोई आज पनि केही पाइएला जस्तो छैन भनेपछि बस्नेत निराश बने।

ती महिला यसरी दैनिक चोकमा भेला हुनेहरूको नाइके हुन्। उमेरले ६१ पुगिसकेकी उनका गाला चाउरिन थालिसकेका छन्।

तर पनि उनी अझै कैयौं युवाको दैनिक ज्यालादारीको आशाको किरण बनेकी छिन्। उनी ठेकेदारसँग सम्झौता गरेर कामदार लैजान्छिन्।

४० वर्षदेखि यहीं काम गर्दै आएकी मिना लामाले ५ छोरा र एक छोरीलाई यही काम गरेरै हुर्काइन्, पढाइन् र बढाइन्।

तर, बुढेसकालमा उनको सहारा कोही बनेनन्। दशैंको मुखमा मिना बिरामी पतिको औषधि किन्ने पैसा जोहो गर्न एकाबिहानै चोकमा आइपुगेकी थिइन्।

‘दशैं त आइयो नि। तर कुनै पनि सन्तान घरमा छैनन्। दशैंभन्दा पनि बुढोलाई औषधि खुवाउने पैसा जम्मा गर्नुछ ,’उनले भनिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.