|

शरद ऋतुको आगमनसँगै नेपालमा पर्वहरूको रौनकता छाउँछ। हाम्रातिर बडो गजबको प्रचलन छ। दशैंभन्दा अगाडि पितृहरूको पर्व आउँछ। अर्थात् दशैं आँगनसम्म आइपुग्दा सोह्र श्राद्ध घरभित्र छिरिसकेको हुन्छ।

मलाई लाग्छ‚ यो संसारकै सर्वोत्कृष्ट परम्परा हो। मभन्दा पहिले नै मेरा पुर्खाले जिन्दगीका बाउन्न घुस्सा‚ त्रिपन्न ठक्कर खाएका हुन्। मेरो अस्तित्व शरीरमा उम्रनेमध्येको सबैभन्दा सानो रौँ बराबर पनि नहुँदा उनीहरूका कानमा रौँ पलाएर पनि फुलिसकेका थिए।

जीवनका हर्ष, शोक, हाँसो, रोदन, उकाली, ओराली सबै कुरा मभन्दा कम्तिमा एक पुस्ता अघि नै उनीहरूले भोग गरिसकेका हुनाले मेरो उत्सव दशैंभन्दा अगाडि पितृको उत्सव आउनु‚ उनीहरूको अधिकार हो। म उनीहरूको उत्सवमा पनि सहभागी हुन्छु, यो मेरो उनीहरूप्रतिको कर्तव्य हो। उनीहरू परलोकमा छन्‚ म उनीहरूको उत्सवमा इहलोकबाट जोडिन्छु।

 संसारमा तीन प्रकारका शक्तिहरू सुविख्यात छन्:

१. मन्त्रशक्ति
२. तन्त्रशक्ति
३. यन्त्रशक्ति।​

भौतिकवादीहरू यन्त्रशक्ति मात्र मान्छन्, अध्यात्मवादीहरू मन्त्रशक्तिलाई सर्वेसर्वा मान्छन्, साधनामा रमाउनेहरू तन्त्रशक्तिको अलि बढी वकालत गर्लान्। म भने मध्यमार्गी परेँ। त्यसैले होला दुई डुंगामा खुट्टा राखेको यात्री जस्तो कतै पार लाग्न सकेको छैन। मजा भने मध्यमार्गी हुनुमै छ। परलोकका मेरा पुर्खासँग उनीहरूको उत्सवमा म मन्त्रशक्तिका माध्यमबाट जोडिन्छु। जब उनीहरूको उत्सव सकिन्छ, त्यसपछि बल्ल म लगायत इहलोकवासीको उत्सव दशैं शुरु हुन्छ।

आफ्नो जिन्दगीका ३१वटा दशैं मनाइसक्दा गजबका अनुभव सँगालियो। पैसा चिन्न थालेपछि खल्तीमा एक सुको पनि नहुने वेलाको दशैं पनि मनाइयो। खल्तीभरी पैसा हुने वेलाको दशैं पनि अनुभव गरियो।

तर जति रमाइलो रित्तो गोजी हुने अवस्थाको दशैंमा हुन्थ्यो गोजीभरी पैसा भएका दशैंमा त्यो रमाइलोको अनुभूति भएन। त्यसैले नै होला मान्छेहरू पैसाले खुसी किन्न सकिन्न भन्छन्। खै सबैजनाको उस्तै हो कि मेरो मात्र हो‚ दशैंमा मनोवृत्ति भने अचम्मकै हुने रहेछ।

तर जति रमाइलो रित्तो गोजी हुने अवस्थाको दशैंमा हुन्थ्यो गोजीभरी पैसा भएका दशैंमा त्यो रमाइलोको अनुभूति भएन। त्यसैले नै होला मान्छेहरू पैसाले खुसी किन्न सकिन्न भन्छन्। खै सबैजनाको उस्तै हो कि मेरो मात्र हो‚ दशैंमा मनोवृत्ति भने अचम्मकै हुने रहेछ।

पहिले प्रत्येक दशैंमा घरमा भइन्थ्यो। घरमा बस्नै मन लाग्दैनथ्यो। दशैंमा आफ्नो मामाघर जाने कि बाको मामाघर जाने कि आमाको मामाघर जाने कि वा अन्यत्र कतै घुम्न जाने भन्ने छटपटी मात्र हुन्थ्यो। आजकल घरबाहिरै बढी दशैं बित्छन्। पहिले जस्तो घरबाट अन्यत्र जाने सबै रहर गौण बनिदिन्छन्। केवल घर जान मात्र मन लाग्छ। पक्कै पनि अरू चाडपर्वभन्दा दशैं अलि विशेष पर्व हो। किनभने दशैं तान्त्रिक, मान्त्रिक र यान्त्रिक तीनै प्रकारका मान्छेले मनाउँछन्। अवश्य पनि दशैंको भौतिकभन्दा आध्यात्मिक महत्व बढी छ। मैले भने अहिलेसम्म भौतिक हिसाबले नै दशैंको मजा लिइरहेको छु। अझ आध्यात्मिक रूपले नै दशैं मनाउँदा कति आनन्दानुभूति होला? यो अहिलेसम्म जिज्ञासा नै भए पनि एक न एकपटक यसको उत्तर अवश्य खोज्नेछु।

आजकल दशैं मनाउनेहरू दशैंमा जति सक्रिय हुन्छन् उति नै दशैंविरोधी पनि आफ्नो सक्रियता देखाउन खोज्छन्। दशैं यस्तो शक्तिशाली पर्व हो, जुन पर्व दशैंका कतिपय खुङ्खार विरोधीले समेत मनाइरहेका हुन्छन्। दशैंमा मान्यजनबाट टीका लगाएर आशीर्वाद ग्रहण गरिन्छ। रातो राम्रो गुलियो मिठो भन्ने त उखान नै छ‚ त्यसैले अक्षता राम्रो बनाउन प्रायः रातो रंग मिसाउने चलन हुन्छ। एकथरी विरोधीहरू दशैं बहिष्कारको नारा ठेल्छन् र कालो टीका लगाएर दशैंको विरोध गर्ने टोपलिन्छन्।

तर टीका चाहिँ लगाइछाड्छन् अर्थात दशैं भने मनाउँछन्। अर्का एकथरी हुन्छन्, अधिकारकर्मी। मानिस सर्वाहारी प्राणी हो। अर्थात् शाकाहारी र मांसाहारीको मिसावट। कोही शुद्ध शाकाहारी होलान् कोही पाएसम्म खसी लुछ्ने‚ नपाए फर्सी खुइल्याउने होलान् तर अस्तित्व दुवैको छ। सर्वाहारीमध्येका केहीले मासुविनाको दशैं नि के दशैं भनेर नाक खुम्च्याउँछन् अनि शाकाहारीमध्येका केही दशैंका मुखमा हुने काटमारले पशु अधिकार हनन भएको निर्क्योल निकाल्छन्।

वर्षभरी कृषिक्रान्ति गर्नुपर्छ, पशुपालन व्यवसायमा जोड दिनुपर्छ, माछामासुमा आत्मनिर्भर हुनुपर्छ, उन्नत जातका भैँसीबाख्राका लागि सरकारबाट अनुदान पाउनुपर्छ भन्दै भाषण गर्दै हिँड्नेमध्येका कोही कोही त दशैंका वेला यिनै विरोधीका हुलमा भेटिन्छन्। पशुपालनमा क्रान्ति गरेर गाईभैँसीको त दूधघ्यू खाइन्छ तर खसी कुखरा आदिको चाहिँ के खाने रहेछ‚ त्यो भने यी विरोधीले भन्दैनन्। लोकल खसी र कुखुराबाट क्रान्ति गरेर बोयर र ब्रोइलर भइसके तर यी विरोधीका जाति र वर्ण अहिलेसम्म कत्ति पनि उन्नत हुन सकेका छैनन्।

अर्काथरी विरोधीहरू फेरि खाने अन्न निधारमा टाँस्नुहुन्न भन्दै मच्चिन्छन् तर मैले टीका नलगाएर बचेको चामलले यति जनाको भुँडी भरियो भनेर उनीहरू पनि अघि सरेर बोलेको सुनिन्न। एकथरी विरोधीहरू आयो दशैं ढोल बजाई, गयो दशैं ऋण बोकाई भन्ने उखानको हाँगो समातेर यो सामन्तवादी पर्व हो, यो हुनेखानेको मात्र पर्व हो, हुँदा खानेको पर्व हुँदै होइन भन्दै झ्याली पिट्छन्। जे होस् आजकल दशैंका अनुयायीसँगै विरोधीहरू पनि प्रशस्त पाइन्छन्।

यो पनि एक हिसाबले राम्रै हो। प्रतिस्पर्धी बलिया भए आफू पनि बलियो हुनुपर्छ नत्र पछि परिन्छ भन्ने चेतना जागृत रहन्छ। जे होस्‚ नेपालमा प्रायले दशैं मनाउँछन्। विरोधीहरू दशैंको विरोध गरेर दशैं मनाउँछन् भने अनुयायीहरू दशैंका विभिन्न अवसरमा सहभागी भएर।

अहिलेका सक्रिय दशैंविरोधी देख्दा मलाई भने झल्याँस्स मेरा विगतका दशैं याद आउँछन्, जुन वेला हामी दशैं आयो खाउँला पिउँला भन्दै घरआँगनमा बडो गजबले रमाइरहेका हुन्थ्यौँ। त्यही वेला बाको इष्टकोटको रित्तो गोजीमा आएर दशैं खुसुक्क पस्थ्यो अनि सुटुक्क गोजी प्वाल पारेर जान्थ्यो तर मेरा बालाई कहिल्यै पनि यो सामन्तवादी र हुनेखानेको पर्व हो भन्ने लागेन।

झल्याँस्स मेरा विगतका दशैं याद आउँछन्, जुन वेला हामी दशैं आयो खाउँला पिउँला भन्दै घरआँगनमा बडो गजबले रमाइरहेका हुन्थ्यौँ। त्यही वेला बाको इष्टकोटको रित्तो गोजीमा आएर दशैं खुसुक्क पस्थ्यो अनि सुटुक्क गोजी प्वाल पारेर जान्थ्यो तर मेरा बालाई कहिल्यै पनि यो सामन्तवादी र हुनेखानेको पर्व हो भन्ने लागेन।

मेरा बालाई म लगायतका बाका सन्तानको ओठको मुस्कान, त्यो उत्साह, त्यो उमङ्ग, त्यो रमाइलो कहिल्यै सामन्तवादी लागेन, जस्तै कठिन अवस्थामा पनि मेरा बाले दशैं आएकोमा खेद मानेर आफ्नो पुर्पुरोमा हात बजार्नुभएन। बाका लागि दशैं आध्यात्मिक या भौतिक हिसाबले भन्दा पनि सन्तानका ओठमा आउने मुस्कानको हिसाबले बढी महत्वपूर्ण थियो।

आफ्नो कठिन परिस्थितिमा समेत बालाई दशैं वर्षैपिच्छे आइरहनुपर्छ भन्ने लाग्यो भने म नाथे कसरी दशैंको विरोधी हुन सकूँला र ?

दशैंको अर्को गजबको पक्ष हो टीका लगाइदिने वेला दिइने आशीर्वाद। दशैंमा आशीर्वाद दिँदा बढी मात्रामा प्रयोग गर्ने गरिएको मन्त्र यति शक्तिशाली छ कि जस्तासुकै लोभका भकारीहरूलाई पनि महादानी बनाइदिन्छ।

आयुः द्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने।
शौर्यं शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे।।

दशैंमा आशीर्वाद दिँदा प्रायः मान्छेले प्रयोग गर्ने उपर्युक्त मन्त्रले यसो भन्छ। (द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु होस्, राजा दशरथको जस्तो सम्पूर्ण किसिमको धन होस्, भगवान् श्रीरामचन्द्रको जस्तो शत्रुच्छेदन गर्न सक्ने पराक्रम होस्, नहुष राजाको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस्, शन्तनुका पुत्र भीष्मको जस्तो तेज होस्, बलरामको जस्तो बल होस्, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यप्रति निष्ठा होस्, विदुरको जस्तो ज्ञान होस्, त्रैलोक्याधिपति नारायणको जस्तो कीर्ति होस्।)

पौराणिक प्रमाणमा भेटिएका अहिलेसम्मकै सबैभन्दा ठूला आध्यात्मिक तथा भौतिक उपलब्धिहरू जो जोले प्राप्त गरेका छन्‚ तिनीहरूकै जस्तो उपलब्धि प्राप्त होस् भनेर यो मन्त्रले आशीर्वाद दिएको छ। धनी, गरिब, धार्मिक, अधार्मिक, सभ्य, असभ्य, उदार, अनुदार, क्रेता, विक्रेता, क्रूर, दयालु, महादानीदेखि महालोभीसम्म साथै उदार हृदय भएका अरूको खुसीमा रमाउने र दुःखमा हात थामिदिनेदेखि कवि शिरोमणिले उल्लेख गरेका म खाऊँ मै लाऊँ सुखसयल वा मोज म गरूँ भन्ने प्रवृत्ति भएकासम्मले दशैंमा टीका लगाइदिँदा प्रायः यो मन्त्र पढेर आशीर्वाद दिन्छन्। आशीर्वाद दिनु पनि एक प्रकारको दान नै हो। अझ यो मन्त्रले दिने आशीर्वाद त दान मात्र होइन‚ महादान नै हो किनभने यो मन्त्रले प्राप्त होऊन् भनेका उपलब्धिहरू साँच्चै नै प्राप्त भए भने त हैट।

त्यसैले दशैंको केवल एउटा आशीर्वाद दिने मन्त्रले नै जिन्दगीभर एउटा फुटेको कौडी समेत दानका रूपमा हातबाट नखसाल्ने कन्जुस कदर्यका पराकाष्ठालाई समेत महादानी बनाइदिन्छ। जुन पर्वको जम्मा एउटा पाटोको केवल एउटा मन्त्रले नै यत्रो भयंकर उपलब्धिको साक्षात्कार गराउँछ भने सोच्नुस् त त्यो समग्र पर्व कति उपलब्धिपूर्ण र महान होला ?

सभ्यता, संस्कृति, परम्परा भनेका मानिसलाई जीवन जिउन सिकाउने गुरु हुन्। नेपालका अधिकांश मानिसका यस्तै गुरुमध्येको एउटा गुरुको नाम हो‚ दशैं। समय, अवस्था र व्यवस्था परिवर्तनसँगै केही कमी कमजोरी, केही प्रश्नहरू र केही जटिलता थपिँदै गए होलान्।

किनभने सागरसम्मको यात्रा गर्न हिमालबाट निस्केको नदी जति ओरालो यात्रामा लाग्छ त्यति नै यात्रा सुरु गर्ने समयको शुद्धतामा ह्रास आउन सक्छ। बाटोमा अनेक कुरा मिसावटको सामना गर्नु पर्नसक्छ, मिसिएका वा थपिएका सबै कुरा राम्रा नहुन सक्छन् तर त्यस नदीमा बगेको जल औचित्यहीन कदापि हुँदैन। त्यस्तै, विभिन्न चुनौती आउने जाने क्रम चले पनि दशैं पर्व पनि नेपाली समुदायमा कहिल्यै पनि कुनै हालतमा पनि औचित्यहीन हुँदैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.